८ मंसिर, काठमाडौं । भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।
भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले उल्लेख गरेको छ ।
मंगन भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने जिल्ला हो । यो नेपालको ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक पर्दछ ।
टिस्टा नदी आसपास अवस्थित यो शहर सिक्किमको राजधानी गान्तोकसँग सडकमार्गबाट जोडिएको छ । क्षेत्रफलका हिसाबले मंगन सिक्किमको सबैभन्दा ठूलो जिल्ला पनि हो ।
मंगनबाट उत्तरी सिक्किमका लाचुङ, चुङथाङ र लाचेनजस्ता पर्यटकीय क्षेत्र पुग्न सकिन्छ । हिमाली भूभागमा अवस्थित मंगन तिब्बती पठारतर्फको प्रवेश क्षेत्रका रूपमा पनि परिचित छ ।
प्रतिक्रिया 4