सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ मा अभिनेता रणवीर सिंहले अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका थिए । २०१८ मा बनेको यस फिल्मको छायांकनका क्रममा रणवीरले २४ पटक वास्तविक झापड खाएका थिए ।
उनका सहकलाकार रजा मुरादले उनलाई ती झापड हानेका थिए । ‘द लल्लनटप’ सँगको कुराकानीमा रजा मुरादले यो खुलासा गरेका हुन् । एउटै दृश्यका लागि २४ पटकसम्म रिटेक गर्नुपरेको थियो । यस क्रममा रणवीरको गाला सुन्निएको थियो । तर उनले यसबारे कुनै आपत्ति जनाएनन् ।
भन्साली बारम्बार भन्थे– अर्को झापड हान्नुस्
रजा मुरादलाई कुराकानीका क्रममा सबै २४ झापड वास्तविक थिए कि थिएनन् भनेर सोधिएको थियो । उनले सबै झापड वास्तविक भएको पुष्टि गरे । रजाका अनुसार सञ्जय लीला भन्सालीलाई झापडको आवाज निकै गुञ्जायमान चाहिएको थियो । तर, उनले खोजेजस्तो आवाज नआएपछि २४ पटकसम्म दृश्य खिच्नुपरेको थियो ।
रजाले भने, ‘सञ्जयले बारम्बार मलाई भन्नुहुन्थ्यो– रजा, हान्नुस्, अर्को एकपटक हान्नुस् ।’ उनका अनुसार अन्ततः रणवीरको गाला सुन्निएको थियो । तर, उनी आफूलाई सम्हाल्दै इच्छाशक्तिको भरमा अभिनय गरिरहेका थिए ।
कसैसँग बोल्दैनथे
रजा मुरादले रणवीर सिंहको अभिनयप्रतिको समर्पण र व्यावसायिकताको पनि प्रशंसा गरेका छन् । उनका अनुसार रणवीर निकै विनम्र छन् र आफ्नो काममा पूर्ण रूपमा केन्द्रित हुन्छन् । रजाले भनेअनुसार छायांकनका क्रममा रणवीर आफ्नो पात्रमा प्रवेश गरेपछि कसैसँग कुरा गर्दैनथे । उनी पिँजडामा थुनिएको सिंहजस्तै यताउता हिँडिरहन्थे ।
दृश्य छायांकन गर्ने समयमा आफ्नो आँखाको तहमा रहेका सबै व्यक्तिलाई रणवीर त्यहाँबाट हटाउँथे । रजा मुरादले उनलाई हिन्दी सिनेमाका उत्कृष्ट र स्वाभाविक अभिनय गर्ने कलाकारमध्ये एक बताएका छन्।
कठिन तयारी
अलाउद्दिन खिलजीको भूमिका निर्वाह गर्न रणवीर सिंहले गरेको कठिन तयारी यसअघि पनि चर्चामा आएको थियो । रणवीर स्वयंले यसअघि एक अन्तर्वार्तामा उक्त क्रूर शासकको चरित्रमा ढल्न आफू २१ दिनसम्म एउटा अपार्टमेन्टमा एक्लै बसेको बताएका थिए ।
त्यस अवधिमा उनले बाहिरी संसारसँगको सम्पर्कबाट टाढा रहेर पात्रको मानसिकता बुझ्ने र त्यसलाई आत्मसात् गर्ने प्रयास गरेका थिए ।
फिल्म १६औँ शताब्दीको कृति आधारित
सन् २०१८ मा प्रदर्शन भएको फिल्म ‘पद्मावत’ १६औँ शताब्दीका कवि मलिक मोहम्मद जायसीको महाकाव्य कविता ‘पद्मावत’ मा आधारित थियो । फिल्ममा रानी पद्मावती, उनका पति महारावल रतन सिंह र रानीप्रति आसक्त सुल्तान अलाउद्दिन खिलजीको कथा प्रस्तुत गरिएको छ ।
फिल्ममा दीपिका पादुकोणले रानी पद्मावती, शाहिद कपूरले महारावल रतन सिंह र रणवीर सिंहले अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका थिए । फिल्मले बक्स अफिसमा पनि राम्रो सफलता हासिल गरेको थियो ।
प्रतिक्रिया 4