+
+
Shares

विधि मिच्ने सरकारविरुद्ध कांग्रेसले निरन्तर खबरदारी गर्छ : प्रदीप पौडेल

सरकारले विधि मिचेर अघि बढ्ने प्रवृत्ति देखाएको भन्दै महामन्त्री पौडेलले त्यसविरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्ने बताए । यस्तो प्रवृत्ति निरन्तर रहे कांग्रेस जस्तोसुकै बलिदान गर्न पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १५:०३

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्ने बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ क्षेत्र नं. २ द्वारा बिहीबार धादिङबेसीमा आयोजित कार्यक्रममा उनले कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले सरकारका गलत कामविरुद्ध आवाज उठाउन पछि नहट्ने बताए ।

‘नेपाली कांग्रेस पार्टी प्रश्न गर्न जन्मिएको पार्टी हो । जेका लागि जन्मिएको हो, त्यो काम नगर भनेर कसैले भन्छ भने हामी त्यो गर्न सक्दैनौं,’ पौडेलले भने, ‘तिमीले प्रश्न नगर, जसले जे गरे पनि हेरेर बस, विधि उल्लंघन भयो भने पनि प्रश्न नगर भनेर कसैले भन्छ भने कांग्रेस उपस्थित भएको समाजमा त्यो सम्भव छैन ।’

सरकारले विधि मिचेर अघि बढ्ने प्रवृत्ति देखाएको भन्दै महामन्त्री पौडेलले त्यसविरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्ने बताए । यस्तो प्रवृत्ति निरन्तर रहे कांग्रेस जस्तोसुकै बलिदान गर्न पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।

‘त्यसको लागि हामीले नेपाली कांग्रेसलाई संगठित गर्न जरुरी छ, बलियो बनाउन जरुरी छ, सशक्त बनाउन जरुरी छ,’ पौडेलले भने, ‘हामी त्यो अभियानमा अगाडि बढौं ।’
महामन्त्री पौडेलले सरकारले संसद्लाई उपेक्षा गरेको, नागरिकलाई अपमान गरेको र संसदीय व्यवस्थामाथि प्रहार गरेको आरोपसमेत लगाए । यी विषयलाई कांग्रेसले निरन्तर उठाउने र त्यस्ता गतिविधिको निरन्तरता रोक्न खबरदारी गर्ने उनले बताए ।

महामन्त्री पौडेलले सरकारसँग जोडिएका विभिन्न भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्नेमा जोड दिए । पासपोर्ट काण्ड, सुनकोशी–मरिण डाइभर्सनलगायतका विषयमा भ्रष्टाचार देखिएको दाबी गर्दै उनले अन्य घटनाहरू पनि बाहिर ल्याउन कांग्रेसले पहल गर्ने बताए ।

‘भ्रष्टाचार विभिन्न घटनाहरूमा देखिएको छ । पासपोर्ट काण्डमा देखिएको छ । सुनकोशी मरिण डाइभर्सनमा देखिएको छ । अरु त्यस्ता थुप्रै कुराहरू बाहिर आउनबाट रोकिएको छ,’ उनले भने, ‘ती कुराहरूलाई सुक्ष्म ढंगबाट हेरेर हामीले बाहिर ल्याउने छौं । र, भ्रष्टाचारविरुद्धको अभियानमा नेपाली कांग्रेस सशक्त ढंगबाट लाग्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?