९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ ।
केन्द्रीय समितिमा एक तिहाई महिला पुर्याउन ११ जना मनोनीत गरिएको सूची सहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो । २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जनाले अपुग भएपछि मनोनित गरेको सूची आयोगमा पठाइएको हो ।
महाधिवेशनमा प्रतिस्पर्धा नगरेका ११ जनालाई मनोनीत गरिएको छ । मनोनीत भएकाहरूमा सुजाता कोइराला, इश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन, निपा चोख्याल लगायत छन् । अन्य ५ जनाको नाम भने खुलेको छैन ।
कोइरालालाई विशेष महाधिवेशन पछि पनि मनोनीत केन्द्रीय सदस्य बनाइएको थियो । १५ औं महाधिवेशन नजिक संस्थापनतर्फ लाग्ने नेताहरूमध्ये इश्वरी न्यौपाने पनि थिइन् । सभापतिको आग्रह अनुसार महाधिवेशनमा उम्मेदवारी नदिएको न्यौपानेले त्यसबेला सामाजिक सञ्जालमा लेखेकी थिइन् । विशेष महाधिवेशन पछि चन्दा चौधरी भने संस्थापन पक्षमा लागेकी थिइन् ।
मनोनीत हुने अर्की केन्द्रीय सदस्य लक्ष्मी पाण्डे गाउँपालिका महासंघको केन्द्रीय अध्यक्ष समेत हुन् । उनी नवलपुरस्थित हुप्सेकोट गाउँपालिकाको अध्यक्ष हुन् ।
रौतहटबाट प्रतिनिधि सभामा समाुनपातिक सांसद रहेकी साहजान खातुन केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । विशेष महाधिवेशनको पक्षमा सक्रिय भएर लागेकी कैलालीकी महिला नेतृ निपा चोख्याल केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् ।
केन्द्रीय समिति २९७ जनाको हुने संशोधित विधानको व्यवस्था छ । सभापतिले ६६ जना मनोनीत गर्ने विधानको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4