+
+
Shares

कांग्रेस बैठकमा उठ्यो देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई कारबाहीको माग

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले वैधानिक महाधिवेशनको विरुद्धमा लाग्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्नुपर्ने विचार राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १४:०३

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्ने महाधिवेशनमा सक्रिय भएका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्नुपर्ने विषय उठेको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले वैधानिक महाधिवेशनको विरुद्धमा लाग्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्नुपर्ने विचार राखेका छन् ।

‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि, प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्,’ तिमिल्सिनाले बैठकमा भने, ‘पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधान बमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु ।’

देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई हटाउने संकेत हिजोको बैठकमा सभापति गगन थापाले गरेका थिए ।

‘हामी तयार छौँ अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना र कार्यविभाजनसहित पार्टीपंक्ति पूर्ण रूपले परिचालन गर्नुपर्ने विचार तिमिल्सिनाले राखे ।

तिमिल्सिनाले नेविसंघ , तरुण दल , महिला संघ , किसान महासंघ , ट्रेड युनियन,दलित संघ, लोकतान्त्रिक खेलकुद संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाले ३ देखि ६ महिनाभित्र अनिवार्य अधिवेशन गर्ने कार्यतालिका तय गर्नुपर्ने बताए ।

बाढी प्रभावित परिवारलाई तत्काल उचित राहत, सुरक्षित आवास सहित पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारमाथि पार्टीले ठोस दबाब सिर्जना गर्नुपर्ने उनले बताए ।

लोकतन्त्रका आधारभूत स्तम्भ, मूल्य, मान्यताको संरक्षण र सबलीकरणको निम्ति संसद् र सडकबाट सरकारलाई सशक्त खबरदारी गर्नुपर्ने उनले बताए ।

तिमिल्सिनाले भने, ‘सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार तथा राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीतका कमजोरीहरूमाथि स्पष्ट दृष्टिकोण राखेर प्रतिरोध गर्न ढिला गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?