हलिउडकी चर्चित मोडल केन्डल जेनर आफ्नो फेसन शैली र व्यक्तिगत जीवनका कारण प्रायः चर्चामा आइरहन्छिन् । सामाजिक सञ्जालमा उनका तस्वीरले पनि उत्तिकै चर्चा पाउँछन् । तर, यसपटक उनको फेसन शैली भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई मन परेको छैन ।
केन्डल हालै आफ्नी बहिनी काइली जेनरसँग बिदा मनाउन गएकी थिइन् । त्यसक्रममा उनीहरूका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भए । तस्वीरमा केन्डलको पहिरनले धेरैको ध्यान खिच्यो । त्यसपछि यस विषयलाई लिएर सामाजिक सञ्जालमा विवाद सुरु भएको छ ।
ॐ र त्रिशूल अंकित कपडा लगाएर विवादमा
काइली जेनरले नोभेम्बर २४ मा आफ्नो इन्स्टाग्राम अकाउन्टमा दिदी केन्डलसँगका केही तस्वीर सार्वजनिक गरेकी थिइन् । ती तस्वीर बहामासमा गरिएको उनीहरूको याट ट्रिपका क्रममा खिचिएका बताइएको छ । उनीहरू हेली बिबरको ३०औँ जन्मदिन मनाउन त्यहाँ पुगेका थिए ।
तस्वीरमा केन्डल कालो बिकिनीमा देखिएकी छिन् । त्यसको माथि उनले पहेँलो र रातो रङको कपडा बेरेकी छिन् । उक्त कपडामा ॐ र त्रिशूलका आकृति छापिएका छन् ।
तस्वीर सार्वजनिक हुनासाथ भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान उक्त कपडामा पुग्यो । त्यसपछि धार्मिक प्रतीकलाई बीचवेयरसँग यसरी प्रयोग गर्नु कति उचित हो भन्दै प्रश्न उठ्न थाले।
‘हाम्रो धर्म तपाईंको फेसन ट्रेन्ड होइन’
केन्डलका तस्वीरमा प्रतिक्रिया जनाउँदै धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले ॐ कुनै सामान्य डिजाइन वा फेसनको हिस्सा नभई करोडौँ मानिसको आस्थासँग जोडिएको पवित्र प्रतीक भएको बताएका छन् ।
एक प्रयोगकर्ताले ॐ करोडौँ आस्था, भक्ति र सनातन संस्कृतिको प्रतीक भएको भन्दै यसलाई सामान्य फेसन स्टेटमेन्टका रूपमा प्रयोग गर्न नहुने टिप्पणी गरेका छन् ।
काइली जेनरको पहिरनलाई लिएर पनि सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
प्रतिक्रिया 4