१० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।
बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गरेकी हुन् । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उनले बताइन् ।
उनले ग्यास वितरणका लागि सिलिण्डर र पाइपलाइन दुवै विकल्पबारे नीतिगत स्पष्टता गर्नुपर्नेमा जोड दिइन् । प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट पुन: सञ्चालनमा ल्याएकोले यसको दिगोपनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाइ छ ।
‘जुन पोलिसी कन्स्ट्रेन्ट छ, त्यो पोलिसी कन्स्ट्रेन्टलाई फुकाइदिनुपर्यो । अब ग्यास आउँछ, ग्यास आइसकेपछि डिस्ट्रिब्युसनको कुरा आउँछ । डिस्ट्रिब्युसनको कुरा आइसकेपछि सिलिण्डरमा घरघर पुर्याउने एउटा पाटो छ र अर्को पाइपलाइन बनाउने पाटो छ,’ उनले भनिन्, ‘पाइपलाइनको कुरा गर्ने हो भने आजसम्म पाइपलाइन डिस्ट्रिब्युसनको पोलिसी बनेको छैन,’ उनले भनिन्, ‘त्यसैले माननीय मन्त्रीज्युलाई यो अनुरोध गर्न चाहन्छु, दिस इज भेरी अर्जेन्ट । नीतिले नै स्पष्टता नदिएसम्म यो बायोग्यास प्लान्ट सुचारु गरिसकेपछि हाम्रो उद्देश्य अझै पुरा हुन सक्दैन ।’
प्लान्ट सञ्चालनको दिगोपन सुनिश्चित गर्न महानगरपालिकाले निजी क्षेत्र तथा प्राविधिक समूहसँग छलफल गरी सम्भावित चुनौतीको विश्लेषण गरिरहेको पनि उनले जानकारी दिइन् । उनले बायोग्यास प्लान्ट निर्माण र उद्घाटनमा मात्र सिमित नभई नियमित सञ्चालन तथा उत्पादित ग्यासको प्रभावकारी वितरण सुनिश्चित गर्न महानगरले विशेष ध्यान दिएको बताइन् ।
‘पाइपलाइन डिस्ट्रिब्युसनका पक्षहरूलाई पनि जति सक्दो छिटो नीति यहाँहरूले बनाइदिनुभयो भने हामीले बायोग्यास प्लान्टको रिजल्ट देखिने गरी काम गर्नसक्छौं,’ उनले भनिन् ।
यसैगरी उनले टेकुमा निर्माण भइरहेको फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन् । केही उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले ढिलाइ हुन सक्ने उनको भनाइ छ ।
केन्द्र निर्माण सम्पन्न भएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुन:प्रयोगयोग्य फोहोरको व्यवस्थापनलाई व्यवस्थित बनाउने उनको भनाइ छ ।
सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रशोधित फोहोर प्रयोग गर्ने व्यवस्था अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4