१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य निमा गिरीले राजनीतिमा गलत भाष्य स्थापित गर्ने प्रयत्न भइरहेको हुँदा त्यसलाई पार्टीले चिनुपर्ने बताएकी छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य गिरीले माओको भनाइ उद्धृत गर्दै ‘जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ’ जस्तै नेपालको राजनीतिक अवस्थाको विश्लेषण गरिन् ।
अहिले राजनीतिक रुपमा शोक धुन बजेपनि जनताले यही नै नाच्ने धुनको रूपमा बुझेको गिरीले बताइन् । कांग्रेसको सामु राजनीतिक धुनको वास्तविक अर्थ बुझाउनुपर्ने दायित्व रहेको उनले बताइन् ।
कांग्रेसले जनतासँग भेटघाट र संवाद गर्न छोड्न नहुने उनको धारणा थियो । कांग्रेस आफुलाई राजमार्गमा कुदाएको ट्रयाक्टर जस्तो भएको बताउँदै गिरीले तिव्र गतिमा कुद्ने गाडीका रुपमा पार्टीलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई जोडेर गिरीले हिंसालाई महिला वा पुरुषसँग जोडेर मात्रै हेर्न नहुने बताइन् । ‘हिंसाको लिङ्ग हुँदैन, हिंसा महिला वा पुरुषले गर्ने होइन, हिंस्रक व्यक्तिले गर्छ,’ गिरीले भनिन् ।
‘नेपालमा सातवटा संविधान बनेका र ठूला राजनीतिक आन्दोलन भए तिनले साना साना मुद्दाको सुनुवाइ हुनु पर्ने थियो तर नागरिकलाई हामीले सामान्य सार्वजनिक सेवाका लागि लाइनमा बस्नुपर्ने संस्कार सिकाउन सकेनौं,’ उनको भनाइ छ ।
हाल देशमा विद्यालय र न्यायालय लयमा चल्न नसकेको गिरीले टिप्पणी गरिन् । उनका अनुसार, देश सहि तरिकाले चल्नलाई दुईवटा कुरा लयमा चल्नुपर्छ । एउटा विद्यालय र अर्को न्यायालय । तर दुवै लयमा नचलेको टिप्पणी उनको थियो ।
प्रतिक्रिया 4