+
+
Shares

काठमाडौंमै फोन लाग्दैन, गुणस्तरीय सेवा दिएरमात्र नाफा कमाउनुस् : सञ्चारमन्त्री

सञ्चारमन्त्री तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षा अनुसार सुधार हुन नसकेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १६:४७

१० मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएका छन् ।

उनले सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तर्क्रियामा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तर सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताए ।

सञ्चारमन्त्री तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षा अनुसार सुधार हुन नसकेको उल्लेख गरे ।

राजधानी काठमाडौंमै फोन सम्पर्क स्थापित गर्न कठिन हुने र उपभोक्ताले तोकिए अनुसार इन्टरनेट गति प्राप्त गर्न नसक्ने अवस्था रहनु गम्भीर विषय भएको उनको भनाइ थियो ।

सरकारले डिजिटल रूपान्तरण प्राथमिकतामा राखेर नागरिकलाई डिजिटल प्रविधिसँग जोड्ने अभियान अघि बढाइरहेको उल्लेख गर्दै उनले त्यसका लागि भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा अनिवार्य रहेको बताए ।

‘जब इन्टरनेट सेवा राम्रो हुँदैन, नागरिक फोन र इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित हुन्छन्, त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन, गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,’ उनले भने ।

सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयमात्र केन्द्रमा राख्न नहुने बताउँदै उनले अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र सम्झौता अनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

गुणस्तरीय सेवा प्रदान गरेरमात्र व्यवसायबाट नाफा आर्जन गर्ने व्यावसायिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ । सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति स्थापित हुनुपर्ने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले गल्ती गर्नेले त्यसको जिम्मेवारी र परिणाम बेहोर्नुपर्ने व्यवस्था प्रभावकारी हुनुपर्ने बताए ।

‘जबसम्म जवाफदेही नहुँदा त्यसको मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुँदैन, तबसम्म वास्तविक जवाफदेहिता स्थापित हुँदैन,’ उनले भने, ‘अनुरोधले मात्र काम गर्दैन, केही पत्राचार र निर्देशनले पनि पुग्दैन ।’

नियामक निकायलाई आफ्नो कानुनी अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्दै उनले कानुन उल्लंघन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नुपर्ने बताए ।

नियामक निकायले कारबाही गर्ने अधिकार मात्र नभई कानुन कार्यान्वयन गराउने दायित्व समेत वहन गर्नुपर्ने उनको भनाइ थियो ।

दूरसञ्चार क्षेत्रमा वर्षौंदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौैं रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्र अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

‘वर्षौैंदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौैं रुपैयाँ किन बुझाइएन ? समस्या थिए भने समयमै किन सम्बोधन गरिएन ? समाधानका उपाय किन खोजिएनन् ? अनुमतिपत्र अवधि समाप्त हुने, ग्राहक थपिँदै जाने, आम्दानी भइरहने तर राज्यलाई तिर्नुपर्ने दायित्व पूरा नगर्ने अवस्था कसरी स्वीकार्य हुन सक्छ ?,’ उनका प्रश्न छन् ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नु सेवा प्रदायक, नियामक निकाय र सरकारको साझा जिम्मेवारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?