+
+
Shares

हजार जनासँग यौन कुराकानी, युवती बनेर कसरी ठगे एक युवकले ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १७:२८

सामाजिक सञ्जालमा युवतीको तस्वीर राखिएका खाताबाट सुरुमा फ्रेन्ड रिक्वेस्ट आउँथ्यो । त्यसपछि कुराकानी सुरु हुन्थ्यो र बिस्तारै यौन कुराकानीसम्म पुग्थ्यो।

प्रहरीका अनुसार कुराकानी गर्ने व्यक्तिहरूसँग उनीहरूका नग्न तस्वीर र भिडियो मागिन्थ्यो । तर, त्यसपछि घटनामा नयाँ पात्रको प्रवेश हुन्थ्यो । युवती बनेर कुराकानी गरिरहेको व्यक्ति आफूलाई त्यही युवतीको दाइ बताउँदै पैसा माग्न थाल्थ्यो ।

हैदराबाद प्रहरीको दाबीअनुसार युवती र उनको दाइ बनेर मानिसहरूसँग कुरा गर्ने व्यक्ति एउटै थिए– २३ वर्षीय पवन कुमार ।

कति जनासँग मागे नग्न तस्वीर ?

प्रहरीका अनुसार पवनले डाक्टर, प्रहरी कर्मचारी, व्यवसायी, सरकारी अधिकारी, सफ्टवेयर इन्जिनियर र प्राध्यापकसहित विभिन्न पेसामा आबद्ध करिब एक हजार जनालाई हनी ट्र्यापमा पारेका थिए।

चारमिनारका डीसीपी किरण खरेले भने, ‘उनी चार वर्षदेखि कोलकाताकी एक मोडलसहित विभिन्न युवतीका तस्वीर प्रयोग गरेर मानिसहरूलाई हनी ट्र्यापमा पार्दै पैसा असुलिरहेका थिए ।’

उनका अनुसार पवनबाट ठगिनेमा भारतका विभिन्न राज्यका साथै विदेशमा बस्ने मानिसहरू पनि छन् । प्रहरीले पवनको साथबाट तीनवटा मोबाइल फोन, एउटा ल्यापटप र १६ जीबीको पेनड्राइभ बरामद गरेको छ ।

फसाउने तरिका

प्रहरीका अनुसार कोंडाबत्तुला पवन कुमार तेलंगानाको भद्राद्री कोठागुडेम जिल्लास्थित टेकुलपल्ली मण्डलका बासिन्दा हुन् । प्रहरी अनुसन्धानका क्रममा पवनले हैदराबादको बालानगरस्थित सेन्ट्रल इन्स्टिच्युट अफ टुल डिजाइन (सीआईटीडी) मा डिप्लोमा पढ्दै गर्दा दोस्रो वर्षमै पढाइ छाडेको खुलेको छ।

डीसीपीका अनुसार त्यसपछि उनले परिवारलाई आफू मल्ला रेड्डी कलेजमा बीटेक पढिरहेको बताएका थिए । उनी हैदराबादमा बसेर सानातिना काम गर्दै आएका थिए । हाल भने उनी बेरोजगार थिए ।

प्रहरीका अनुसार पवनले युवतीका तस्वीर प्रयोग गरेर इन्स्टाग्राम र फेसबुकमा नक्कली खाता बनाउँथे । ती खाताबाट मानिसहरूलाई साथी बन्न वा फलो गर्न अनुरोध पठाउँथे । अनुरोध स्वीकार भएपछि उनी युवती बनेर कुराकानी सुरु गर्थे ।

डीसीपी किरण खरेले भने, ‘उनी बिस्तारै कुराकानीलाई यौन कुराकानीतर्फ लैजान्थे । त्यसपछि प्रयोगकर्ताहरूबाट नग्न तस्वीर र भिडियो मागेर सुरक्षित राख्थे ।’

आफूमाथि शंका नहोस् भनेर पवनले केही मोडलका अर्धनग्न तस्वीरसमेत पठाउने गरेको प्रहरीको भनाइ छ ।

युवतीपछि देखापर्थे उनका ‘दाइ’

नग्न तस्वीर र भिडियो प्राप्त गरेपछि पवनले मानिसहरूसँग पैसा असुल्न सुरु गर्थे । जुन युवती बनेर उनी अहिलेसम्म कुराकानी गरिरहेका हुन्थे, पछि आफूलाई त्यही युवतीको दाइ बताउँदै अगाडि आउँथे ।

त्यसपछि नग्न तस्वीर र भिडियो पठाएका व्यक्तिहरूलाई फोन, ह्वाट्सएप र सामाजिक सञ्जालका माध्यमबाट सम्पर्क गर्थे । डीसीपीका अनुसार पवनले उनीहरूलाई युवतीले आत्महत्या गरेको वा प्रहरीमा उजुरी गरिदिने भन्दै धम्क्याउँथे । यसरी उनीहरूबाट पैसा असुल्थे।

किरण खरेका अनुसार पवनले यो कामका लागि सबैभन्दा बढी कोलकाताकी एक मोडलका तस्वीर प्रयोग गरेका थिए । प्रहरीले ती मोडलसँग पनि सम्पर्क गरेर यसबारे जानकारी दिएको छ ।

२२ देखि ७० वर्षसम्मका मानिस शिकार

प्रहरीका अनुसार पवनले प्रहरी कर्मचारी, प्राध्यापक, सरकारी कर्मचारी, अधिकारी, सफ्टवेयर इन्जिनियर र डाक्टरसहित विभिन्न पेसाका करिब एक हजार जनासँग यौन कुराकानी गरेर उनीहरूलाई आफ्नो जालमा पारेका थिए ।

किरण खरेले भने, ‘यी व्यक्तिहरूको उमेर २२ देखि ७० वर्षसम्म छ । हामीले ८२ जनाका नग्न तस्वीर र भिडियो फेला पारेका छौँ ।’

प्रहरीका अनुसार पीडितहरूमा तेलंगाना, आन्ध्र प्रदेश, केरला, तमिलनाडु र पञ्जाबका मानिसहरू छन् । यसका साथै साउदी अरब, टर्की, पाकिस्तान र क्यानडाका नागरिकसमेत ठगीमा परेका छन् ।

प्रहरीको दाबीअनुसार पवनले अहिलेसम्म यी व्यक्तिहरूबाट २५ लाख १६ हजार भारतीय रुपैयाँ ठगी गरेका छन् ।

इन्स्टाग्राम र फेसबुकमा २७ नक्कली खाता

प्रहरी अनुसन्धानमा पवनले इन्स्टाग्राममा १३ वटा नक्कली आईडी र फेसबुकमा १४ वटा नक्कली पेज बनाएको खुलेको छ । किरण खरेले यी खाताबाट कसैलाई सन्देश आएको भए सावधान रहन र प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन्।

साथीलाई आएको फ्रेन्ड रिक्वेस्टबाट खुल्यो रहस्य

प्रहरीका अनुसार पवन कुमारले आफ्नै एक साथीलाई समेत ठगी गरेर चार लाख भारतीय रुपैयाँ असुलेका थिए । त्यसपछि मात्रै यो घटना बाहिर आएको थियो।

ठगीमा परेका उनका साथी रमेश (नाम परिवर्तन) ले प्रहरीमा उजुरी दिएका थिए । रमेशका अनुसार सेन्ट्रल इन्स्टिच्युट अफ टुल डिजाइनमा डिप्लोमा पढ्ने क्रममा उनको पवन कुमारसँग चिनजान भएको थियो।

सेप्टेम्बर २०२१ मा रमेशलाई इन्स्टाग्राममा ‘मुन बेबी ५९७३’ नामको आईडीबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो ।

रमेशले प्रहरीलाई दिएको उजुरीमा भनेका छन्, ‘मलाई उक्त खातामाथि शंका लाग्यो । हेर्दा त्यो पवन कुमारले नै बनाएको जस्तो लाग्यो । मैले तुरुन्तै उसलाई यसबारे सोधेँ । उसले नक्कली खाता आफूले नै बनाएको स्वीकार गर्‍यो । त्यसपछि मैले ऊसँगको मित्रता अन्त्य गर्ने निर्णय गरेँ ।’

रमेशका अनुसार पछि उनी अर्को होस्टेलमा बस्न थाले । तर, पवन त्यहाँ पनि पुगे र आफूसँगै बस्ने इच्छा व्यक्त गरे । उजुरीअनुसार यही क्रममा उनीहरूबीच शारीरिक सम्बन्ध स्थापित भयो । रमेशले पवनले आफूलाई शारीरिक सम्बन्ध राख्न निकै दबाब दिएको र ब्ल्याकमेलसमेत गरेको आरोप लगाएका छन्।

रमेशले आफ्नो उजुरीमा पवनले उनीहरूको शारीरिक सम्बन्धको भिडियो बनाएको दाबी गर्दै धम्क्याएको उल्लेख गरेका छन् । शारीरिक सम्बन्धका लागि दबाब दिनुका साथै उनले रमेशबाट अनलाइनमार्फत डेढ लाख र प्रत्यक्ष रूपमा साढे दुई लाख भारतीय रुपैयाँ लिएको आरोप छ ।

सैदाबाद प्रहरीले अक्टोबर १७ मा यस घटनाबारे मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । यही अनुसन्धानका क्रममा ठूलो संख्यामा मानिस हनी ट्र्यापमा परेको घटना बाहिर आएको हो।

बीबीसीले यस घटनाबारे पवन कुमारसँग कुरा गर्ने प्रयास गरेको थियो । तर, उनलाई न्यायिक हिरासतमा पठाइसकिएकाले सम्पर्क हुन सकेन ।

प्रहरीले उनलाई सञ्चारमाध्यमसामु प्रस्तुत गर्दा पनि उनले बोल्न अस्वीकार गरेका थिए ।

बीबीसीले पवनका परिवारका सदस्यहरूसँग पनि सम्पर्क गर्ने प्रयास गरेको थियो । तर, उनीहरूले समेत यसबारे कुरा गर्न अस्वीकार गरे ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?