+
+
Shares

भूषण ठाकरे : खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका मजदुरको छोरा बने करोडपति

खल्तीमा २४ रुपैयाँ लिएर मुम्बई पुगेको एउटा युवाको कथा अहिले करोडको जितमा मात्रै सीमित छैन । जीवनभर मजदुरी गरेका आमाबुवालाई विश्राम दिने र आफ्नै भविष्य निर्माण गर्ने उनको सपना पनि यो जितसँगै नयाँ मोडमा पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते ७:२३

११ मंसिर, काठमाडौं । भारत महाराष्ट्रको एउटा सानो गाउँबाट खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषण ठाकरे अहिले करोडपति बनेका छन् ।

मजदुरी गरेर परिवार पाल्ने बुबा, अनेक स्वास्थ्य समस्यासँग जुधिरहेकी आमा र आर्थिक अभावबीच हुर्किएका २८ वर्षीय भूषणले भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड रुपैयाँ जितेका हुन् ।

भूषणका लागि यो जित एउटा टेलिभिजन गेम शोमा हासिल गरेको सफलता मात्रै होइन, वर्षौंदेखि परिवारले भोग्दै आएको आर्थिक कठिनाइ कम गर्ने र आफूले देखेको सपना पूरा गर्ने अवसर पनि हो ।

महाराष्ट्रको जलगाउँ जिल्लास्थित बालवाडी गाउँका भूषणले केबीसीमा सात करोड रुपैयाँको प्रश्नसम्म पुग्ने यात्रा तय गरेका थिए । सात करोड रुपैयाँ जित्ने प्रश्नको उत्तर दिनुभन्दा एक करोड रुपैयाँ लिएर खेलबाट बाहिरिने निर्णय गरेका उनले पछि आफूले अनुमान गरेको उत्तर सही भएको थाहा पाएका थिए । एक करोड लिएर खेलबाट बाहिरिने निर्णयप्रति उनलाई कुनै पछुतो छैन।

‘केबीसीले मलाई एक करोड जित्ने अवसर उपलब्ध गराएको रकम पनि मेरा लागि पर्याप्त छ । त्यसबाट म आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छु,’ भूषणले बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

अभावबीच हुर्किएको परिवार

भूषणको परिवारमा चार सदस्य छन्– बुबा, आमा, उनी स्वयं र भाइ कुलदीप । परिवारको आर्थिक जिम्मेवारी बुबाको काँधमा थियो । भूमिहीन मजदुर परिवारमा जन्मिएका भूषणका बुबाले सानै उमेरदेखि नै काम गर्न थालेका थिए । जीवनभर मजदुरी गरेर उनले परिवारको गुजारा चलाए र छोराहरूको पढाइलाई निरन्तरता दिने प्रयास गरे ।

भूषणले १२ कक्षासम्म गाउँकै सरकारी विद्यालयमा अध्ययन गरे । त्यसपछि जलगाउँस्थित सरकारी संस्थानबाट उच्च शिक्षा हासिल गरे । उनले इतिहास विषयमा स्नातकोत्तर गरेका छन् । अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसँगै भारतीय प्रशासनिक सेवा (यूपीएससी) परीक्षाको तयारी गरिरहेका छन् । यूपीएससी परीक्षा नेपालको लोक सेवा आयोगको परीक्षा जस्तै हो ।

उनकी आमा शिक्षित छैनन् । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी आमाको आठदेखि नौ पटक शल्यक्रिया भइसकेको छ । घरको खर्च, आमाको उपचार र छोराहरूको शिक्षाको जिम्मेवारी बुबाले एक्लै सम्हाल्दै आएका थिए ।

भूषण २०१६–१७ तिर पढाइका लागि घरबाट बाहिरिँदा परिवारको आर्थिक अवस्था कमजोर थियो । पढाइ खर्च जुटाउन परिवारलाई निकै कठिन थियो । त्यस्तो अवस्थामा उनकी आमाले घरखर्चबाट थोरैथोरै रकम बचाएर सुन किन्ने गर्थिन् । कहिले एक ग्राम, कहिले दुई ग्राम त कहिले तीन ग्राम सुन किनेर राख्थिन् ।

तर, छोरालाई पढाइका लागि पैसा आवश्यक पर्दा आमाले त्यही सुन बेचेर खर्च जुटाउने गर्थिन् ।

अब एक करोड रुपैयाँ जितेपछि भूषणको प्राथमिकतामा आमाका लागि सुनका गहना किनिदिने योजना छ ।

‘त्यसको ऋण कतै न कतै मैले फर्काउनुपर्ने समय आएको छ, त्यो पनि ब्याजसहित । त्यसैले निश्चित रूपमा सबैभन्दा पहिले आमाका लागि गहना किनिदिन्छु,’ उनले भनेका छन् ।

मुम्बई पुग्दा खल्तीमा २४ रुपैयाँ

केबीसीको मञ्चसम्म पुग्ने भूषणको यात्रा पनि सहज थिएन । कार्यक्रमको टोलीले उनलाई फोन गरेर छनोट भएको जानकारी दिँदै मुम्बई आउन भनेको बेला उनको खल्तीमा जम्मा २४ रुपैयाँ थियो ।

कार्यक्रम आयोजकले सहभागीको यात्रा र बसाइ खर्च व्यवस्थापन गर्ने भएकाले मुम्बई पुग्न उनलाई आर्थिक चिन्ता भने थिएन ।

‘म मुम्बई जाँदा खल्तीमा २४ रुपैयाँ थियो। मुम्बईबाट फर्किँदा खल्तीमा एक करोड २४ लाख रुपैयाँ थियो,’ भूषणले भनेका छन् ।

उनका लागि यो रकमको अन्तर केवल आर्थिक उपलब्धि होइन, जीवनमा आएको परिवर्तनको प्रतीक हो ।

सानो गाउँमा हुर्किएका र ठूला सहरमा धेरै समय नबिताएका भूषण आफूलाई अन्तर्मुखी स्वभावको व्यक्ति बताउँछन् ।

केबीसीको मञ्चमा अमिताभ बच्चनलाई प्रत्यक्ष भेट्दा उनी निकै डराएका थिए । ‘त्यतिबेला स्वाभाविक रूपमा डर लागेको थियो । मुटुको धड्कन बढेको थियो, खुट्टा अलिअलि काँपिरहेका थिए र पसिना आएको थियो,’ उनले अनुभव सुनाएका छन् ।

उनका अनुसार अमिताभ बच्चनले खेल सुरु हुनुअघि पाँच–छ मिनेट सहभागीहरूसँग कुराकानी गरेर उनीहरूलाई सहज बनाउने प्रयास गर्छन् । त्यसले उनलाई पनि खेलमा ध्यान केन्द्रित गर्न सहयोग गरेको थियो ।

परिवारबाट टाढिएर यूपीएससीको तयारी

भूषण अहिले यूपीएससी परीक्षाको तयारीका लागि परिवारबाट टाढा भुसावलस्थित छात्रावासमा बस्दै आएका छन् । उनले आफूले केही उपलब्धि हासिल नगरेसम्म घर नफर्किने संकल्प गरेका थिए ।

पढाइमा पटकपटक अवरोध आएपछि र परिवारमाथि निर्भर भइरहनुपरेको महसुस भएपछि उनले घरबाट टाढिएर आफ्नै खुट्टामा उभिने निर्णय गरेका हुन् ।

‘जवान छोरा भएर पनि केही गर्न नसकेको जस्तो लाग्थ्यो । पढाइ पनि निरन्तर हुन सकेको थिएन । बीचबीचमा पढाइमा अन्तराल आइरहेको थियो । कतै न कतै म परिवारमाथि बोझ बन्दै गएको महसुस गर्न थालेको थिएँ,’ उनले भनेका छन् ।

परिवारबाट टाढा बसेर पढ्ने क्रममा आमाको स्वास्थ्य बिग्रिएका बेला पनि उपचारमा सहयोग गर्न नसकेको अवस्थाले उनलाई मानसिक रूपमा दबाब दिएको थियो ।

अब एक करोड रुपैयाँ जितेपछि भूषणको चाहना परिवारको जीवनस्तर सुधार्नु हो । ५५ वर्षका बुबालाई अब मजदुरी गर्न नपर्ने अवस्था बनाउने उनको संकल्प छ ।

‘अबदेखि बुबालाई मजदुरी गर्न दिने छैन । बुबा पनि विद्यालय जानुभएको थिएन, आमा पनि पढेलेखेकी हुनुहुन्न । दुवैले निकै सानै उमेरदेखि काम गर्न थाल्नुभएको थियो,’ भूषणले भनेका छन् ।

एक करोड रुपैयाँको जितले परिवारको आर्थिक कठिनाइ कम गर्ने बाटो खोलिदिएको भूषण अब राम्रो सहरमा गएर उत्कृष्ट कोचिङ संस्थानबाट यूपीएससीको तयारी गर्ने योजनामा छन् ।

खल्तीमा २४ रुपैयाँ लिएर मुम्बई पुगेको एउटा युवाको कथा अहिले करोडको जितमा मात्रै सीमित छैन । जीवनभर मजदुरी गरेका आमाबुवालाई विश्राम दिने र आफ्नै भविष्य निर्माण गर्ने उनको सपना पनि यो जितसँगै नयाँ मोडमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?