११ मंसिर, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिकासँग असन्तुष्टि व्यक्त गर्दै ब्यालिस्टिक मिसाइलको आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहनुपरेको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्।
कीएभस्थित आफ्नो केन्द्रीय कार्यालयमा बीबीसीसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग अंकमाल गरिरहेको तस्बिर सार्वजनिक गर्दै उनलाई ‘मेरो साथी’ भन्नु अनौठो भएको टिप्पणी गरे।
‘निश्चय नै, यो अमेरिकी राष्ट्रपतिको कुरा हो, तर यो अनौठो छ,’ जेलेन्स्कीले भने।
पुटिनलाई मित्र मान्न नसकिने स्पष्ट पार्दै जेलेन्स्कीले भने, ‘उनी आक्रमणकारी र हत्यारा हुनुहुन्छ । उनी साथी हुन सक्दैनन्। पटक्कै सक्दैनन्।’ उनले यो अवस्थालाई दोस्रो विश्वयुद्धका क्रममा एडोल्फ हिटलरलाई साथी भनिएजस्तै अवस्थासँग तुलना गरे ।
अमेरिकी प्राथमिकताप्रति दुःख व्यक्त गर्दै जेलेन्स्कीले भने, ‘यो दुःखद कुरा हो कि उहाँहरूले आफ्नो ध्यान मध्यपूर्वमा केन्द्रित गरेका छन् र त्यहाँका मानिसहरूलाई बढी मद्दत गरिरहेका छन्। यो पीडादायी छ। यस विषयमा हाम्रा थुप्रै ठूला प्रश्नहरू छन्।’
सन् २०२५ मा ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पसँग चर्काचर्की परेयता जेलेन्स्की अमेरिकासँगको सम्बन्धमा निकै सतर्क रहँदै आएका छन्।
रुस र युक्रेनबीचको युद्ध अन्त्य गरी ठुलो जनधनको क्षति रोक्न ट्रम्पका दुई विशेष दूतहरूले शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। तर कतिपय सन्दर्भमा ती दूतहरू युक्रेनको तुलनामा रुसको अडानप्रति बढी सकारात्मक देखिने गरेको आभास हुने गरेको छ।
यसैबीच, डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत गत साता चीनमा पुटिनसँग भएको भेटका क्रममा सम्पूर्ण युरोपेली भूभागमा सबै किसिमका सैन्य आक्रामकता रोक्न आग्रह गरेको जानकारी दिए।
ट्रम्पले युक्रेनसँग शान्ति सम्झौता हुने पर्याप्त सम्भावना देखेको बताए पनि रुसका सार्वजनिक अभिव्यक्तिहरूले भने रुस वार्तामा आफ्नो सुरुवाती कडा अडानमै फर्किएको र प्रायः सबै विषयमा पुराना मागहरूमा अडिग रहेको संकेत दिएका छन्।
प्रतिक्रिया 4