‘ड्रागन फ्रुट के हो भन्ने कसैलाई थाहा थिएन,’ सुर्खेतका एक प्रारम्भिक किसान सम्झन्छन्, ‘हामीले के रोपेका हौँ भनेर सोध्न मानिसहरू खेतमै आउँथे।’
आज कर्णालीमा ड्रागन फ्रुट खेती सामान्य बन्दै गएको छ। तर चार वर्षअघिसम्म यो फल कर्णालीका अधिकांश मानिसका लागि नयाँ थियो। थोरैले मात्र देखेका थिए र यहाँ यसको व्यावसायिक खेती हुन सक्छ भन्नेमा विश्वास गर्नेहरू झन् कम थिए। त्यसैबीच, सन् २०२२ मा एउटा परिवारले ड्रागन फ्रुट खेती सुरु गर्यो।
सुरुआत भने सहज थिएन। ड्रागन फ्रुटका बिरुवाका लागि कङ्क्रिटको पोल आवश्यक थियो। पुराना टायरको व्यवस्था गर्नुपर्थ्यो। गुणस्तरीय बिरुवा प्रदेशबाहिरबाट ल्याउनुपर्ने भएकाले लागत पनि बढी थियो। यसै त नयाँ फल, त्यसमाथि स्थानीय बजारको अभाव र खेतीसम्बन्धी प्राविधिक ज्ञानको कमी भएकाले धेरैका लागि यो जोखिमपूर्ण थियो।
तर एउटा परिवारले त्यो जोखिम लिन सकिने अवसरका रूपमा हेर्यो। आज त्यही निर्णयले कर्णालीमा नयाँ फल भित्रिनुसँगै किसान परिवारका लागि आम्दानी, उद्यम, पर्यटन र नयाँ सम्भावनाका ढोका पनि खोलेको छ।
अब एकछिन यसको व्यावसायिक हिसाब खोतलौँ है त !
नयाँ कृषि व्यवसाय सुरु गर्दा किसानले सबैभन्दा पहिले हेर्ने कुरा लगानी हो। ड्रागन फ्रुट खेतीमा पहिलो चरणमै कङ्क्रिटका पोल, सिँचाइ, बिरुवा र जमिन तयारीमा ठूलो खर्च हुन्छ। परम्परागत बालीको तुलनामा सुरुआती लगानी महँगो देखिन्छ।
उद्यमीहरूले राखेका अभिलेखअनुसार करिब चार कट्ठा अर्थात् ०.१३५ हेक्टर जमिनमा २०० वटा कङ्क्रिटका पोलसहित ड्रागन फ्रुटको बगैँचा स्थापना गर्न करिब ४ लाख ९४ हजार रुपैयाँ प्रारम्भिक लगानी आवश्यक पर्छ। यही रकमले धेरै किसानलाई सुरुमै पछि हटाउँछ।
तर ड्रागन फ्रुट वार्षिक बाली होइन। एकपटक बगैँचा स्थापना भएपछि वार्षिक खर्च उल्लेख्य रूपमा घट्छ। मुख्यतः खर्च मल, सिँचाइ, काँटछाँट र नियमित व्यवस्थापनमा हुन्छ, तर बिरुवाको उत्पादन क्षमता वर्षैपिच्छे बढ्दै जान्छ।
रोपेको करिब १८ महिनापछि पहिलो उत्पादन भित्र्याउन सकिन्छ। पहिलो फल्ने वर्षमा एउटा पोलबाट करिब पाँच किलो फल उत्पादन हुने गरेको छ। चौथो वर्षसम्म आइपुग्दा यही उत्पादन करिब १५ किलोसम्म पुग्छ। उचित व्यवस्थापन गर्न सके एउटै बोटले करिब २५ वर्षसम्म उत्पादन दिन सक्छ।
यसले ड्रागन फ्रुट खेतीको अर्थशास्त्र नै बदलिदिन्छ। स्थापना वर्षमा किसानलाई घाटा हुन सक्ने भए तापनि दोस्रो वर्षदेखि आम्दानी सुरु हुन्छ। किसानका अभिलेखअनुसार चार वर्षमा करिब चार कट्ठा क्षेत्रफलको यस्तो बगैँचाबाट करिब १४ लाख ९० हजार रुपैयाँ खुद नाफा भएको छ।
प्रारम्भिक तथा अन्य लगानी गरी करिब ९ लाख ८८ हजार रुपैयाँ खर्च भएको अवस्थामा यो उल्लेख्य प्रतिफल हो। अझ, प्रारम्भिक लगानी उठिसकेपछि पनि बगैँचाले वर्षौँसम्म उत्पादन दिइरहन्छ।
ड्रागन फ्रुटसँगै किसानले अन्य बाली पनि लगाउन सक्छन्। बोटले पूर्ण आकार लिनुअघि आलु, गोलभेँडा, मसुरोलगायतका बाली लगाएर अतिरिक्त आम्दानी लिन सकिन्छ। नौ कट्ठामा ड्रागन फ्रुट खेती गरिरहेका एक किसानले एउटै बगैँचाबाट एक वर्षमा दुई क्विन्टल अर्थात् २०० किलो मसुरो उत्पादन गरेको बताएका छन्।
यसरी ड्रागन फ्रुटले अन्य बालीलाई विस्थापित गर्नेभन्दा पनि उत्पादन र आम्दानी विविधीकरण गर्ने अवसर दिएको छ।
ड्रागन फ्रुटको अर्को विशेषता यसको प्रतिकूल अवस्था सहन सक्ने क्षमता हो। धेरै रोग, कीरा तथा प्रतिकूल मौसमको सामना गर्न सक्ने भएकाले अन्य बालीका लागि कम उत्पादनशील जमिनमा समेत यसको खेती गर्न सकिन्छ।

सानो र टुक्रा जमिन भएका किसानका लागि यो महत्त्वपूर्ण अवसर हो। घरायसी खाद्यान्न उत्पादनलाई विस्थापित नगरी कम उपयोग भएको जमिनबाट व्यावसायिक आम्दानी लिन सकिन्छ।
त्यसैले यस्ता विभिन्न कारणले यो कर्णालीका लागि अझ महत्त्वपूर्ण छ, जहाँ साना जमिनधनी, श्रम अभाव र कम कृषि उत्पादकत्वका कारण परम्परागत खेतीबाट पर्याप्त आम्दानी लिन कठिन छ। किसानका अनुभवले तीन–चार कट्ठा जमिनबाट समेत व्यावसायिक ड्रागन फ्रुट खेती सम्भव रहेको देखाएका छन्।
ड्रागन फ्रुटमा अर्को स्थानीय समस्या समाधान गर्ने सम्भावना पनि देखिएको छ- बाँदरबाट हुने बाली क्षति। बाँदरले हरेक वर्ष किसानको ठूलो रकम बराबरको बाली नष्ट गर्ने गरेका छन्। काँडायुक्त र ठाडो संरचनामा बढ्ने ड्रागन फ्रुटमा बाँदरलाई क्षति पुर्याउन तुलनात्मक रूपमा कठिन हुन्छ।
सन् २०२२ मा एउटा परिवारबाट सुरु भएको ड्रागन फ्रुट खेती सन् २०२६ सम्म आइपुग्दा कर्णालीका विभिन्न क्षेत्रमा करिब ८५ घरधुरीसम्म पुगेको छ। तीमध्ये २४ घरधुरीले ड्रागन फ्रुटलाई मुख्य आम्दानीको स्रोत बनाइसकेका छन्।
यसको उल्लेखनीय उदाहरण सुर्खेतको गुर्भाकोट नगरपालिका हो। एउटा गाउँका २२ घरधुरीमध्ये १८ घरधुरी ड्रागन फ्रुट खेतीमा संलग्न छन्।
कृषिबाट सुरु भएको यो परिवर्तन बिस्तारै गाउँको अर्को व्यवसायमा पनि फैलिएको छ। ड्रागन फ्रुटका बगैँचा हेर्न आउने मानिसको सङ्ख्या बढेपछि केही परिवारले होमस्टे सञ्चालन गर्न थालेका छन्। अहिले गाउँमा एउटा सानो हलसहित पाँचवटा होमस्टे सञ्चालनमा छन्।
यसले एउटा सफल उद्यमले एउटै प्रकारको अवसर मात्र सिर्जना गर्दैन भन्ने देखाउँछ। एउटा कृषि व्यवसायले पर्यटन, स्थानीय सेवा र अन्य साना व्यवसायका लागि समेत नयाँ बजार सिर्जना गर्न सक्छ।
ड्रागन फ्रुट खेतीको सम्भावना विस्तार हुँदै गएपछि उत्पादन प्रविधि र लागत घटाउने उपाय खोज्ने प्रयास पनि सुरु भएको छ।
ड्रागन फ्रुटको माग अहिले विशेषगरी सुर्खेतमा बढिरहेको छ। उपभोक्ताले फल चिन्न थालेका छन् र बजारमा यसको माग पनि बढ्दै गएको छ।
तर उत्पादन बढ्दै जाँदा नयाँ चुनौती पनि देखिन थालेको छ। अधिकांश बगैँचामा एउटै समयमा फल पाक्ने र उचित भण्डारणको व्यवस्था नहुँदा बजारमा एकैपटक ठूलो परिमाणमा फल आउने गरेको छ। समयमै बिक्री हुन नसके फल कुहिने अवस्था आउँछ, जसले बजारलाई अस्थिर बनाएको छ।
त्यसैले उत्पादन बढाउने मात्र नभई सुर्खेतबाहिरका बजारसँग जोड्ने, सङ्कलन प्रणाली विकास गर्ने, ब्रान्डिङ तथा प्रशोधन गर्ने र ढुवानी सहज बनाउने काम पनि उत्तिकै आवश्यक छ। यसले किसानलाई अन्य जिल्ला तथा प्रदेशका बजारसम्म पुग्न मद्दत गर्नुका साथै उत्पादन बढी हुने समयमा हुने सम्भावित नोक्सानी घटाउन सक्छ।
त्यसैगरी, ड्रागन फ्रुट कर्णालीका लागि अझै नयाँ बाली भएकाले स्थानीय कृषि प्राविधिकको क्षमता विकास, गुणस्तरीय बिरुवामा पहुँच र किसानको आफ्नै प्रयोग तथा सिकाइलाई निरन्तरता दिनु पनि आवश्यक छ।
तर यी चुनौतीहरू आफैँमा एउटा उदाउँदो बजारका सङ्केत पनि हुन्।
कर्णालीमा ड्रागन फ्रुटको यात्राले सानो तथा कम उत्पादनशील जमिनबाट समेत व्यावसायिक कृषि सम्भव छ भन्ने देखाएको छ। एउटा उद्यमले नर्सरीदेखि होमस्टेसम्म नयाँ व्यवसाय सिर्जना गर्न सक्छ र युवालाई कृषि क्षेत्र बाध्यताको अन्तिम विकल्प होइन, व्यवसायका रूपमा हेर्न प्रेरित गर्न सक्छ।
पहिले कम उपयोग भएको जमिन उत्पादनमा आएको छ। दीर्घकालीन बगैँचाले प्रारम्भिक लगानीपछि तुलनात्मक रूपमा कम वार्षिक खर्चमा उत्पादन दिइरहेको छ। किसानबाट किसानमा ज्ञान फैलिएको छ र स्थानीय अर्थतन्त्रभित्रै नयाँ व्यवसाय र आम्दानीका अवसर सिर्जना भइरहेका छन्।
यसरी कुनै समय मानिसहरूलाई कौतूहलमा पार्ने फल अहिले कर्णालीमा व्यवसायको आधार बन्दै छ।
प्रतिक्रिया 4