११ मंसिर, काठमाडौं । नेपाल बैंकर्स संघ नेतृत्वमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन् । उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
संघ अध्यक्ष तथा माछापुच्छ्रे बैंक सीईओ समेत रहेका सन्तोष कोइरालाको २ वर्षे कार्यकाल आजदेखि सकिएको छ । कोइरालाको कार्यकाल सकिएपछि संघको शुक्रबारको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी संघ उपाध्यक्षमा कुमारी बैंक सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् । संघको हलको कार्यकारी समितिका सदस्य रहेका खनाल उपाध्यक्षमा पुगेका हुन् ।
संघ कार्यकारी सदस्यमा सिद्धार्थ बैंक सीईओ रामेश्वर बस्याल र सानिमा बैंक सीईओ पवनकुमार आचार्य चयन भएका छन् ।
संघको कार्यकारी समिति निवर्तमान अध्यक्ष सहित १० जनाको छ । समिति सदस्य रहेका लक्ष्मी सनराइज बैंक सीईओ अजयविक्रम शाहले छाडेपछि संघ सदस्य पनि रिक्त थियो ।
त्यसैगरी एभरेस्ट बैंक सीईओ सुदेश खालिङको पनि दुई कार्यकाल पूरा भएको छ । नेपाल बैंक सीईओ तिलकराज पाण्डे भने थप एक कार्यकाल सदस्यमा बस्ने भएका छन् ।
उपाध्यक्षमा स्तरोन्नति भएका खनालको स्थानमा शुक्रबारको साधारणसभाले चयन गरेको नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्ने छ ।
संघको शुक्रबार हुने साधारणसभामा पूर्वबैंकर उपेन्द्र पौडेललाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने कार्यक्रम पनि छ ।
प्रतिक्रिया 4