+
+
Shares

उद्योग र निर्यातकर्तालाई ८० लाखसम्म प्रोत्साहन

कार्यविधि अनुसार निश्चित २२ प्रकारका वस्तु उत्पादन र तेस्रो मुलुकमा निर्यात गर्ने उद्योग वा निर्यातकर्ताले अधिकतम १० प्रतिशत वा ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १५:०७

११ मंसिर, काठमाडौं । उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ जारी गरी लागु गरेको छ ।

कार्यविधि अनुसार निश्चित २२ प्रकारका वस्तु उत्पादन र तेस्रो मुलुकमा निर्यात गर्ने उद्योग वा निर्यातकर्ताले अधिकतम १० प्रतिशत वा ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन् ।

कार्यविधिले स्वदेशी वा आयातित कच्चापदार्थबाट कृषिजन्य, वनजन्य, औद्योगिक वा घरेलु तथा हस्तकलाका वस्तु उत्पादन गर्ने दर्तावाल उद्योग, एक्जिम कोड लिई निर्यात गर्ने उद्योग र उत्पादकसँग वस्तु खरिद गरी निर्यात गर्ने निर्यात प्रवर्द्धन गृहलाई समेटेको छ ।

तर, भारत बाहेक तेस्रो मुलुकमा नेपाल राष्ट्र बैंकले तोकेको परिवर्त्य विदेशी मुद्रामा हुने निर्यातलाई मात्र मान्यता दिइएको छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा १७ (१) को खण्ड (ग), (घ) र (ङ) बमोजिम उद्योग वर्गीकरणका आधारमा कुल बजेटको क्रमश: ३०, ३५ र ३५ प्रतिशत रकम बाँडफाँट गरी बढीमा क्रमश: ३० लाख, ५० लाख र ८० लाख रुपैयाँसम्म प्रोत्साहन दिइने छ ।

एक आर्थिक वर्षमा एकभन्दा बढी वस्तुमा प्रोत्साहन नपाइने र मूल्यांकनमा कम्तीमा ५० प्रतिशत अंक अनिवार्य गरिएको छ ।

अनुसूची–१ अनुसार प्रशोधित चिया, कफी, अलैँची, अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडर लगायत), बेसार र मसला, प्रशोधित मह, दूध तथा दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, च्याउ र तिनका प्रशोधित सामग्री तथा टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्ने एग्रो फरेस्ट उद्योग कार्यक्रममा समेटिएका छन् ।

त्यस्तै चाउचाउ, बिस्कुट, पास्ता र चिजबल जस्ता खाद्य प्रशोधनजन्य उत्पादन, स्प्रिङ वाटर, वाइन साइडर, पुष्प र तिनका प्रशोधित सामग्री, कपास खेती तथा बिउ उत्पादन र प्रशोधन, प्राङ्गारिक मल, बेत, बाँस तथा अल्लो लगायत प्राकृतिक रेशाजन्य उत्पादन र गैरकाष्ठजन्य वन पैदावारमा आधारित उत्पादन पनि सूचीमा छन् ।

यसैगरी फर्निचर, पार्केटिङ, सिजनिङ, प्लाइउड र कम्पोजिट बोर्ड लगायत काठका सामग्री, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, कागज, लोक्ताको हाते कागज र त्यसबाट उत्पादित सामान, हस्तकला र काष्ठकला, ऊनी गलैँचा, पश्मिना, यार्न, टेक्सटायल तथा फेल्टसहित ऊनीका सामान, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादन, जुत्ताचप्पल, तयारी पोसाक, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना र आयुर्वेदिक औषधिले प्रोत्साहन पाउनेछन् ।

प्रोत्साहनका लागि कानुन बमोजिम दर्ता र नवीकरण, प्यान वा भ्याट दर्ता, आधार र पछिल्लो वर्षको लेखा परीक्षण, कर चुक्ता प्रमाणपत्र तथा आधार वर्षको तुलनामा कम्तीमा १० प्रतिशत उत्पादन अभिवृद्धि अनिवार्य छ ।

उद्योग विभागले न्यूनतम २१ दिनको म्याद दिई सूचना निकालेपछि योग्य आवेदकले अनुसूची–२ को ढाँचामा भौतिक वा विद्युतीय माध्यमबाट आवेदन दिनुपर्ने छ ।

आवेदन साथ दर्ता, प्यान/भ्याट, लेखा परीक्षण, कर चुक्ता, उत्पादन वृद्धि पुष्टि हुने बिलबिजक र प्रज्ञापनपत्र, बैंकिङ प्रमाण तथा सरकारी बक्यौता र कालोसूचीमा नपरेको (अनुसूची–३) र दोहोरो प्रोत्साहन नलिएको (अनुसूची–४) स्वघोषणा संलग्न गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उत्पादन अभिवृद्धि गणना गर्दा आधार र पछिल्लो वर्षको अन्तर निकालिने छ, जसमा परिमाणको ४० र बिक्री मूल्यको ६० प्रतिशत भार मानिने छ ।

एक्स–फ्याक्ट्री मूल्यबाट विदेशी मूलको सामग्रीको मूल्य घटाइ एक्स–फ्याक्ट्री मूल्यले भाग गरेर निकालिने मूल्य अभिवृद्धि लेखा परीक्षकबाट प्रमाणित हुनुपर्ने छ ।

अनुसूची–५ बमोजिम १०० पूर्णांकको मूल्यांकनमा उत्पादन अभिवृद्धि ५० (बिक्री मूल्य ३० र परिमाण २०), निर्यातमा योगदान २०, मूल्य अभिवृद्धि १०, आयकर योगदान १०, सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्धता (रोजगारी) ५ र उद्योगको भौगोलिक अवस्थितिलाई ५ अंकभार तोकिएको छ ।

विभागको साना तथा मझौला उद्योग प्रवर्द्धन शाखा निर्देशकको संयोजकत्वमा गठित पाँच सदस्यीय मूल्यांकन समितिले ५० प्रतिशत वा बढी अंक ल्याउनेमध्येबाट योग्यताक्रम सिफारिस गर्ने छ ।

स्वीकृत रकम ईएफटी प्रणाली मार्फत बैंक खातामा जम्मा गरिने छ । पछिल्लो र आधार वर्षको बिक्री मूल्यअन्तरलाई प्रोत्साहन दरले गुणन गर्दा आउने रकम वा वर्गीकरण सीमामध्ये कम रकम भुक्तानी हुनेछ ।

मूल्यांकनमा ९१–१०० अंक ल्याउनेले १०, ८१–९० ले ८, ७१–८० ले ६, ६१–७० ले ४ र ५०–६० ले २ प्रतिशत प्रोत्साहन दर पाउनेछन् ।

अनुगमन तथा सहजीकरणका लागि महानिर्देशकको संयोजकत्वमा सात सदस्यीय समन्वय समिति रहने छ । बजेटको बढीमा ३ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न सकिने कार्यविधिमा झुटा विवरण पेस गरी रकम लिएको पाइए प्रचलित कानुन बमोजिम असुल उपर गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?