+
+
Shares

‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल

मोहित मुनाल मोहित मुनाल
२०८३ मंसिर १२ गते ७:२८

म त्यसबेला कति वर्षको थिएँ ? लगभग तीन वर्षको । एकदिन बुबाले मलाई आफूसँगै घरबाहिर लिएर जानुभयो ।

उहाँले कहाँ लानुभएको ? किन ? प्रश्न सोध्ने उमेरको थिइनँ । मेरो बालसुलभ मनले सायद भन्यो, ‘आज तेरो मस्ती हुने भो । बुबाले तँलाई घुमाउन लानुभयो ।’

म मख्ख थिएँ, बुबासँग घरबाहिर निस्कन पाएकोमा ।

मलाई बुबाले सोझै रेडियो नेपाल लैजानुभयो । मलाई रेडियो नेपाल लैजानुभएको भन्ने कुरा चाहिँ मैले पछि मात्र थाहा पाएँ । मैले त्यसबेला थाहा पाएँ, जतिबेला मेरो बुबा रेडियो नेपालका चल्तापुर्जा मान्छे हुनुहुन्छ भन्ने बुझें ।

उहाँ रेडियोका पूर्णकालीन जागिरे । गीत गाउन खप्पिस । तर, गीत गाउनका लागि होइन, रेडियोमा कार्यक्रम चलाउनका लागि उहाँ त्यहाँ पुग्नुहुन्थ्यो । उहाँको कार्यक्रम त्यसबेला निकै चर्चित थियो । कार्यक्रम कति चर्चित थियो भने अहिले त्यसको सिग्नेचर धुन सुन्दा मान्छेहरूले ठ्याक्कै त्यही कार्यक्रम सम्झन्छन् ।

मैले सो धुन आफ्नो मोबाइलको रिङटोनमा राखेको छु । प्रायः मेरो फोन आउँदा त्यही धुन बज्छ । त्यो धुन बज्नु ठूलो कुरा भएन । तर, जब आसपासका मान्छेहरू धुन सुनेर आँखा विस्फारित बनाउन थाल्छन् र आफ्ना बाल्यकालका दिनहरू सम्झँदै सोध्न थाल्छन्, ‘यो धुन त उही फलानो कार्यक्रमको होइन ?’  तब मलाई लाग्छ, यो ठूलो कुरा हो ।

बुबा वासुदेव मुनालसँग छोरो मोहित

ठूलो यस अर्थमा कि मेरो बुबाले त्यो अमिट छाप छाडिदिनुभएको छ, जसले ९० को दशकमा हुर्किएकाहरूलाई नोस्टाल्जिक बनाइदिन्छ । उनीहरूको बाल्यकालमा फर्काइदिन्छ ।

उनीहरू एकदमै रोमाञ्चक भावमा सोध्छन्, ‘यो धुन फलानो कार्यक्रमको होइन ? बासुदेव मुनालको ?’

त्यसपछि उनीहरू मलाई यही प्रश्न यसरी सोध्छन्, ‘अनि यो धुन तिम्रो मोबाइलमा चाहिँ कहाँबाट आयो ?’

मलाई यो प्रश्नको जवाफ दिन निकै मज्जा आउँछ । म गद्गद् हुँदै भन्छु, ‘म बासुदेव मुनालको छोरो हुँ नि त ।’ सुनेर उनीहरू एकछिन छक्क पर्छन् । अनि बाल्यकालमा कसरी रेडियोले आफूहरूलाई सम्मोहित गरेको थियो भनी कथा सुनाउन थाल्छन् । रेडियोमा हरेक साँझ ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो । रेडियो नजिक आओ’ भन्दा एकदमै उत्सुकताले कार्यक्रम सुन्न हतारिएको सम्झना सुनाउन थाल्छन् ।

म त्यही बुबाको छोरो हुँ, जसले मेरो कालखण्डमा हुर्कने हरेक बालबालिकालाई एउटा यादगार पल छाडेर जानुभयो ।

बुबा एकदम रसिक हुनुहुन्थ्यो । गाउनु, बजाउनु, रमाउनु उहाँको जीवनको मुख्य हिस्सा थियो । उहाँ भन्नुहुन्थ्यो, ‘बाँचुञ्जेल निर्धक्क बाँच्नुपर्छ ।’

त्यही कारण त, हरेक सप्ताहन्त हाम्रो घरमा रंगीन जमघट हुन्थ्यो । जमघटमा सूर र संगीत अर्थात् मदिरा र म्युजिकको बेजोड संयोजन हुन्थ्यो । त्यसमा बुबालाई नभई नहुने अर्को चिज थियो, माछा ।

शुक्रबार बुबाले आमालाई भन्नुहुन्थ्यो, ‘आज साँझ दुई, चार बोत्तल बियर ल्याइराख्नु है ।’ यति भनेपछि आमाले बियर मात्र होइन, माछा पनि ल्याउनुपर्थ्यो । चन्द्रगिरीमाथिको डाँडाबाट घामको किरण ओझेल पर्दै जाँदा ज्ञानेश्वरको हाम्रो घरमा भने हारमोनियमको धुन बज्न सुरु भइसकेको हुन्थ्यो । बियरको बिर्को खोल्न सुरु भइसकेको हुन्थ्यो । चुरोटको धुवाँ वायुमण्डलमा मिसिन सुरु भइसकेको हुन्थ्यो । ताजा–ताजा माछा तारेको आवाज आउन सुरु भइसकेको हुन्थ्यो ।

यस्तो सप्तरंगी साँझ हरेक शुक्रबार हुन्थ्यो ।

बुबामा संगीतको मात्र अम्मली थिएन । अरू केही सूर्तिजन्य कुराको पनि थियो । जब म बुबाको संगत र संगीतमा डुब्दै गएँ, मैले उहाँलाई घुस खुवाउन सुरु गरें । घुस अर्थात्, उहाँले मन पराउने सूर्तिजन्य पदार्थ ।

त्यसबेला बुबालाई सोझै दिन त नसकिने । थाहा नपाए जसरी उहाँले भेट्ने ठाउँमा लगेर राखिदिन्थें । किन यसो गर्थें भन्दा मलाई रेडियो नेपालमा नाटक खेल्न मौका चाहिन्थ्यो । यसरी नाटक खेल्नका लागि त्यहाँ थुप्रै बालबालिका प्रतिस्पर्धामा हुन्थे ।

उनीहरूलाई उछिनेर म आफ्नो स्थान सुरक्षित गर्न चाहन्थें । किनभने नाटक खेलेबापत सुरुमा चकलेट पाइन्थ्यो, पछि कापी, कलम पाइन्थ्यो र त्यसपछि पैसा नै पाइन्थ्यो । त्यही द्रव्य मोहले गर्दा मलाई बुबाको नजिक पुर्‍याएको थियो ।

तर, बुबा मेरो घुसले पग्लिने मान्छे भए पो ?

उहाँ रसिक भए पनि बेग्लै किसिमको कडा हुनुहुन्थ्यो । घर होस् वा रेडियो नेपाल, उहाँको इशारा नै काफी हुन्थ्यो ।

यद्यपि, छोरो हुनुको नाताले मलाई उहाँले सानैमा रेडियो नेपालको सेरोफेरो देखाउनुभयो । म हुर्कँदै गएपछि नाटकमा खेल्ने मौका दिनुभयो ।

मैले दर्जनौँ दर्जन बाल नाटक खेलें । एकपटक नाटक लेखेर बुबालाई देखाएँ पनि । उहाँले मेरो नाटकको खेस्रा हेरेर भन्नुभयो, ‘यतिको ठीकै लेख्ने भइछस् ।’

त्यसबेला मलाई रेडियो नेपालले नजानिँदो ढंगले मोहित नै बनाउन थालेको थियो । जबकि, रेडियो नेपालसँग मेरो सम्बन्ध सौहार्दबाट होइन, त्रासदीबाट सुरु भएको थियो ।

म तीन वर्षको हुँदा मलाई बुबाले रेडियो नेपाल पुर्‍याउनुभयो । म खेल्न र घुम्न पाउने लोभमा मख्ख परेर त्यहाँ पुगें । मलाई उहाँले खेलाउन वा खुवाउन होइन, एउटा कोठामा लगेर राख्नुभयो ।

कोठा साँघुरो थियो । त्यसै पनि उकुसमुकुस हुने जस्तो । त्यसमाथि अचानक त्यहाँको सबै बत्ती झ्यापझुप बन्द भयो । सर्वत्र अन्धकार छायो । मैले नजिक वा टाढाको केही पनि देखिनँ । मैले त मेरो बाबा पनि देखिनँ । मलाई पनि देखिनँ ।

मलाई अत्यन्तै डर लाग्यो । आत्तिएँ र बेस्सरी चिच्याएर रोएँ । निकैबेर रोइरहें । म रोइरहँदा पनि मेरो बुबा मलाई सम्हाल्न त्यहाँ आउनुभएन ।

उहाँ त मलाई सम्हाल्न होइन, मैले रोएको आवाज रेकर्ड गराउन व्यस्त हुनुहुँदो रहेछ ।

खासमा मलाई त्यहाँ लैजानुको एउटै कारण रहेछ, बच्चा रोएको आवाज रेकर्ड गराउन । उहाँलाई नाटकका लागि यो आवाज चाहिएको रहेछ । अरूको बच्चा लगेर रुवाउने कुरा भएन । त्यसपछि फेला परेछु, म ।

मैले रोएको उक्त आवाज धेरै पछिसम्म विभिन्न नाटकमा प्रयोग भइरह्यो ।

(वासुदेव मुनालका छोरा मोहित मुनालसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित । बासुदेव मुनालको पुस्तक ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ’ भोलि आइतबार विमोचन हुँदैछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?