+
+
Shares

धनकुटामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते ९:०१

१२ मंसिर, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका वडा नं. २ कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए ।

शुक्रबार बेलुका स्थानीय ट्रान्सफर्मरमा समस्या आएपछि राई विद्युत् मर्मतका लागि पोलमा चढेका थिए । मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनी पोलबाट खसेर गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर पोलबाट खसेका राईको नाकबाट रगत बगिरहेको र बोल्नसमेत नसक्ने अवस्था रहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घाइते राईलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उपचारकै क्रममा चिकित्सकले उनलाई शुक्रबार राति मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?