१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्।
शनिबार भएका खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेल्दा नेपाल पुलिसले गण्डकीलाई १–० ले पराजित गर्यो। जितसँगै पुलिसले अन्तिम चारमा स्थान बनाउँदा गण्डकी बाहिरिएको हो।
एपीएफ पनि दुई खेलबाट सेमिफाइनलमा पुगेको छ। समान दुई खेल खेलेको सुदूरपश्चिम भने अंक बाँडेपछि लिग चरणबाटै बाहिरिएको छ।
कर्णाली प्रदेश रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिमले सातौं मिनेटमै श्याम वादीको गोलबाट अग्रता लिएको थियो। तर एपीएफका गणेश पुलामीले १६औं मिनेटमा बराबरी गोल फर्काए। २६औं मिनेटमा अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले पहिलो हाफमै २–१ को अग्रता बनायो।
दोस्रो हाफमा सुदूरपश्चिमले पुनरागमन गर्दै ७२औं मिनेटमा सन्दीप सिंहको गोलबाट खेल बराबरीमा ल्यायो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल २–२ को बराबरीमा सकिएको हो।
अघिल्लो खेलमा मधेस प्रदेशसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पनि जित निकाल्न नसकेपछि प्रतियोगिताबाट बाहिरिएको हो।
शनिबारकै दोस्रो खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्यो। पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको इन्जुरी समयमा ४६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
गण्डकीलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको छ भने लगातार दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन्।
यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतिक्रिया 4