१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा सहभागी अन्य टोलीले नेपाल आएर तयारी थालिसकेका छन् । तर, आयोजक नेपालले भने अहिलेसम्म टोली घोषणा गर्न सकेको छैन ।
प्लेअफ खेल्न युगान्डा र इटालीको टोली नेपाल आइपुगेर तयारीमा जुटिसकेका छन् । नामिबियाको टोली पनि नेपालका लागि प्रस्थान गरिसकेको छ भने जर्सीको टोली चाँडै नेपाल आउने तयारीमा छ ।
तर, नेपाली टोलीको तयारी र खेलाडीको उपलब्धताबारे अझै अन्योल देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार साँझसम्म टोली घोषणा गरेको छैन । राष्ट्रिय टोलीका केही खेलाडी १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यस्त छन् भने केही खेलाडी देशबाहिर छन् ।
कतारमा सम्पन्न राइजिङ स्टार्स एसिया कप खेलेर नेपाल आएपछि कप्तान सन्दीप लामिछाने भने नेपालमै छन् । केही खेलाडी भने देशबाहिर छन् ।
गत बिहीबार भएको राष्ट्रिय टोलीका पूर्वकप्तान रोहित पौडेलको विवाहमा सहभागी हुन थाइल्यान्ड पुगेका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा पनि उतै छन् । विवाहमा सहभागी भएका सोमपाल कामी र इशान पान्डे भने फर्किसकेका छन् ।
खेलाडीभन्दा पनि क्यानले टोली घोषणा नगर्दा र प्रशिक्षण सुरु नगर्दा तयारीको विषयमा प्रश्न उठ्न थालेको छ ।
महत्त्वपूर्ण प्रतियोगिता सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा नेपाली टोलीको घोषणा र खेलाडीको उपलब्धता अहिलेको मुख्य चासोको विषय बनेको छ ।
आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने प्लेअफमा लिग–२ का चार टोलीसँगै आईसीसी च्यालेन्ज लिगबाट आएका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।
च्यालेन्ज लिग ‘ए’ बाट जर्सी र कुवेत तथा ‘बी’ बाट इटाली र युगान्डा प्लेअफमा छनोट भएका छन्। आठ टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन्। सात खेलको समाप्तिपछि अंकतालिकाको शीर्ष चारमा रहने टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले डिसेम्बर ४ मा इटालीको सामना गर्नेछ। नेपालका सबै सात खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
प्रतिक्रिया 4