१३ मंसिर, काठमाडौं । एक समय इंग्लिस फुटबलमा उपाधिको निर्विकल्प दाबेदार मानिने म्यान्चेस्टर युनाइटेड अहिले प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत छ। युरोपेली फुटबलमा एकछत्र राज गरेको र विश्वभर करोडौं समर्थक कमाएको यो क्लब पछिल्लो एक दशकभन्दा बढी समयदेखि आफ्नै गौरवशाली इतिहासको छायामा हराइरहेको छ।
शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार बेहोरेपछि युनाइटेड लिग तालिकाको १९औं स्थानमा थन्किएको छ। १२ खेलबाट जम्मा आठ अंक जोडेको टोलीले जारी सिजनमा मात्र एक जित निकाल्न सकेको छ।
लगातार दुई लिग खेलमा चार गोलको अन्तरले पराजित भएको युनाइटेडले सन् १९६३ यता ६३ वर्षमा पहिलो पटक यस्तो खराब नतिजा बेहोरेको हो।
ओल्ड ट्राफोर्डको यो दुर्दशा कुनै एक खेल वा एक प्रशिक्षकको असफलताको परिणाम मात्र होइन। सन् २०१३ मा सर एलेक्स फर्गुसनले प्रशिक्षणबाट बिदा लिएयता युनाइटेडले निरन्तरता, दीर्घकालीन योजना र स्थिरताको बाटो समात्न सकेको छैन।
पछिल्लो १३ वर्षमा प्रशिक्षक फेरिए, महँगा खेलाडी भित्रिए र बाहिरिए, अनि व्यवस्थापनको संरचनामा पनि पटक पटक हेरफेर भयो। तर, नतिजा शून्यप्रायः रह्यो । क्लबले न आफ्नो पुरानो आक्रामक परिचय फर्काउन सक्यो, न त सफलताको लय नै।

फर्गुसनको बहिर्गमनपछि बदलिएको युग
फर्गुसनको नेतृत्वमा युनाइटेडले १३ पटक प्रिमियर लिग जित्यो। सन् १९९९ र २००८ मा च्याम्पियन्स लिग उपाधि जित्दै युरोपेली फुटबलमा पनि आफ्नो प्रभाव स्थापित गर्यो। सन् २०१२–१३ को सिजनमा २०औं लिग उपाधि जितेपछि फर्गुसनले प्रशिक्षकबाट अवकाश लिएका थिए।
उनको बहिर्गमनसँगै क्लबको सफलतामा महत्वपूर्ण भूमिका खेलेका कार्यकारी प्रमुख डेभिड गिलले पनि जिम्मेवारी छाडे। त्यसपछि क्लबको फुटबल सञ्चालन र खेलाडी छनोटमा नेतृत्वको भूमिकाबारे प्रश्न उठ्न थाले।
फर्गुसनको स्थानमा आएका डेभिड मोयेसले पहिलो सिजन पूरा गर्न सकेनन्। त्यसपछि लुइस भान गाल, जोसे मोउरिन्हो, ओले गनर सोल्सायर, एरिक टेन हाग र रुबेन एमोरिमजस्ता प्रशिक्षक आए। तर कसैले पनि लामो समयसम्म क्लबलाई स्थिर दिशामा अघि बढाउन सकेनन्।
फर्गुसनकै प्रशिक्षणमा सन् २०१३ मा उपाधि जितेपछि युनाइटेडले प्रिमियर लिग उपाधि जित्न सकेको छैन। यस अवधिमा एफए कप, युरोपा लिग र लिग कपजस्ता उपाधि जिते पनि लिगमा उपाधि दौडमा नियमित प्रतिस्पर्धा गर्ने टोली बन्न सकेको छैन।
प्रशिक्षक फेरिए, शैली फेरिए तर नतिजा उही
युनाइटेडको ओरालो यात्राको एउटा प्रमुख कारण प्रशिक्षक परिवर्तनसँगै क्लबको खेल योजनामा देखिएको अस्थिरता हो। मोयेसले फर्गुसनको शैलीलाई निरन्तरता दिन सकेनन्।
भान गालले बल नियन्त्रणमा आधारित खेलमा जोड दिए भने मोरिन्होले रक्षात्मक अनुशासन र नतिजालाई प्राथमिकता दिए। सोल्सायरले आक्रमणमा तीव्रता र काउन्टर अट्याकमा जोड दिए। टेन हाग र एमोरिमले पनि आफ्नै खेल दर्शनअनुसार टोली बनाउन खोजे।

तर प्रशिक्षकको योजना र क्लबको दीर्घकालीन खेलाडी छनोटबीच तालमेल देखिएन। एक प्रशिक्षकले ल्याएका वा रोजेका खेलाडी अर्को प्रशिक्षकको योजनामा फिट नहुने अवस्था दोहोरियो। प्रशिक्षक परिवर्तन हुँदा टोली पुनर्निर्माणको प्रक्रिया पनि फेरि सुरु हुने गरेको छ।
राल्फ राङनिकले अन्तरिम प्रशिक्षकका रूपमा काम गर्दा पनि क्लबको समस्या प्रशिक्षकमा मात्रै सीमित नरहेको बताएका थिए। उनले क्लबमा महत्वपूर्ण निर्णय कसले र कुन आधारमा गरिरहेको छ भन्ने विषयमै स्पष्टता नरहेको टिप्पणी गरेका थिए। यसले युनाइटेडको समस्या मैदानभित्रको प्रदर्शनभन्दा गहिरो रहेको बहसलाई बल दिएको थियो।
खेलाडीमा ठूलो खर्च, अपेक्षित प्रतिफल आएन
युनाइटेडले फर्गुसनको बहिर्गमनपछि खेलाडी अनुबन्धमा ठूलो रकम खर्च गरेको छ। सन् २०१३ यता नयाँ खेलाडीका लागि क्लबले डेढ अर्ब पाउन्डभन्दा बढी खर्च गरेको विभिन्न विश्लेषणमा उल्लेख छ। तर महँगा खेलाडी अनुबन्ध गर्दैमा बलियो टोली निर्माण हुन सकेन।
पाउल पोग्बा, एन्जेल डि मारिया, एलेक्सिस सान्चेज, ह्यारी मग्वायर, जाडोन सान्चो र एन्टोनीजस्ता खेलाडीमा ठूलो रकम खर्च गरियो। उनीहरूबाट अपेक्षा गरिएअनुसारको प्रदर्शन आउन सकेन। केही खेलाडीले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरे पनि समग्र टोलीले निरन्तरता कायम गर्न सकेन।

समस्या खेलाडी अनुबन्धमा पैसा खर्च नगर्नु मात्रै थिएन। क्लबको आवश्यकताअनुसार खेलाडी छनोट गर्ने, दीर्घकालीन योजना बनाउने र प्रशिक्षकको रणनीतिसँग मिल्ने टोली तयार गर्ने प्रक्रियामा कमजोरी देखियो।
प्रशिक्षकको माग र व्यवस्थापनको निर्णयबीच तालमेल नहुँदा खेलाडी अनुबन्धमा खर्च भएको ठूलो रकमले पनि मैदानमा अपेक्षित परिणाम दिन सकेन।
व्यवस्थापन र स्वामित्वमाथि प्रश्न
ग्लेजर परिवारको स्वामित्वमा रहेको युनाइटेडले व्यावसायिक रूपमा आफ्नो आम्दानी र क्लबको मूल्य बढाउन सफल भए पनि मैदानको प्रदर्शनमा त्यसको प्रभाव देखिन सकेन। समर्थकहरूले लामो समयदेखि क्लबको स्वामित्व र सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
सन् २०२४ मा जिम र्याट्क्लिफ र उनको कम्पनी इनियोस क्लबको फुटबल सञ्चालनमा सहभागी भएपछि व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको थियो। क्लबको संरचना, खेलाडी छनोट र फुटबल सञ्चालनलाई व्यवस्थित बनाउने प्रतिबद्धता पनि आएको थियो। तर त्यसपछि पनि प्रशिक्षक परिवर्तन र नतिजाको अस्थिरता रोकिएन।
क्लबको व्यवस्थापन संरचना, निर्णय प्रक्रियाको स्पष्टता, खेलाडी छनोट र दीर्घकालीन योजनाबीच तालमेल मिलाउन नसक्नु युनाइटेडको समस्याको एउटा महत्वपूर्ण पाटो बनेको छ। क्लबले मैदानबाहिरको व्यावसायिक सफलता र मैदानभित्रको प्रतिस्पर्धात्मक सफलतालाई एउटै दिशामा अघि बढाउन सकेको छैन।

अहिले संकटको गहिराइ कति ?
गत सिजन अन्तरिम प्रशिक्षकको रूपमा आएका माइकल क्यारिकले पनि यस सिजनको खराब सुरुवातपछि पद गुमाए। गत सिजन उनको नेतृत्वमा टोलीले १६ खेलमध्ये ११ जित्दै लिगमा तेस्रो स्थान हासिल गरेको थियो र च्याम्पियन्स लिगमा स्थान बनाएको थियो। तर नयाँ सिजनमा नतिजा खस्किएपछि आठ खेलको जितविहीन लिग यात्रापछि उनलाई बर्खास्त गरियो।
क्यारिकपछि जिम्मेवारी सम्हालेका माउरिसियो पोचेटिनोले पनि सुरुवाती दुई लिग खेलमा राहत दिन सकेका छैनन्। उनको पहिलो खेलमा लिभरपुलसँग ४–० ले पराजित भएको युनाइटेडले घरेलु मैदानमा ब्रेन्टफोर्डसँग पनि त्यही अन्तरको हार बेहोरेको छ।
१२ खेलमा आठ अंकसहित रेलिगेसन क्षेत्रमा रहेको युनाइटेडका लागि तत्कालको चुनौती लिगमा सुरक्षित स्थानमा फर्किनु हो। तर अहिलेको खराब नतिजाबाट बाहिर निस्कनु मात्रै पर्याप्त हुने छैन।
क्लबले प्रशिक्षक नियुक्ति, खेलाडी छनोट, व्यवस्थापन संरचना र दीर्घकालीन खेल योजनामा एकरूपता ल्याउनुपर्ने देखिन्छ।
फर्गुसनपछि १३ वर्ष बितिसक्दा पनि युनाइटेडले प्रिमियर लिग उपाधि जित्न सकेको छैन। एक समय युरोपेली फुटबलमा आफ्नो नाम र प्रभाव स्थापित गरेको क्लब अहिले रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ।
प्रशिक्षक परिवर्तनले मात्र समाधान नदिएको अवस्थामा युनाइटेडको पुनरागमनका लागि क्लबको समग्र संरचना र सञ्चालन शैलीमै सुधार आवश्यक देखिन्छ।
प्रतिक्रिया 4