नायिका रेखा थापा र नायक जीवन लुइटेलले चलचित्र ‘अन्दाज’को चर्चित गीत ‘सिम्पल सिम्पल कान्छीको’मा नृत्य गरे । यो गीत मात्र होइन यसको डान्स स्टेप पनि चर्चित भयो । विशेषगरि बाँसुरीको धुनमा जीवन र रेखाले गरेको डान्स तरिका चर्चित बन्यो । यो गीतलाई कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
यो गीत हिट भएपछि कविराजले यस्तै तरिका निकाले अर्को चलचित्र ‘नोटबुक’मा पनि । यसमा नायिका फेरिइन्, नायक जीवन नै रहें । ‘नोटबुक’को ‘गाला रात्तै’ बोलको गीतमा जीवनले नायिका नीता ढुंगानासँग बाँसुरीको धुनमा गरेको स्टेप ‘सिम्पल सिम्पल कान्छी’मा गरे जस्तै लाग्छ ।
यो स्टेप यती चर्चित बन्यो कि, चैत्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुन’मा पनि समावेश गरिएको छ । ‘धुन’को ‘केही पल’बोलको गीतमा पनि जीवन र नीता यही स्टेप गर्दैछन् । तर, यो गीतका लागि नृत्य निर्देशक फरक छन् ।
प्रदिप श्रेष्ठले नृत्य निर्देशन गरेको यो गीतको विशेषगरि बाँसुरी स्टेप ‘अन्दाज’ र ‘नोटबुक’को जस्तै लाग्छ ।
कुनै पनि गीतमा कोरियोग्राफरले बाँसुरीमा नयाँ स्टेप खोजेको पाइदैन । हातका औंलालाई नै बाँसुरी बनाएर नृत्य निर्देशकहरुले कती दिनसम्म एउटै स्टेपलाई पर्दामा देखाउने हुन्, त्यो हेर्न बाँकी नै छ ।