१७ माघ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको शनिबारबाट सुरु हुने भनिएको केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
केन्द्रीय समितिको बैठकमा भाग लिन भन्दै केन्द्रीय सदस्यहरु विहान ११ बजे नै ललितपुरको कुपण्डोलस्थित पार्टीको नेवाः राज्य कार्यालय पुगेका थिए ।
तर, दिनभर पदाधिकारी तथा पोलिटब्युरो सदस्यहरु छुट्टाछुट्टै छलफलमा जुटेका थिए । पदाधिकारी र पोलिटब्युरोको बसाईपछि बैठक सुरु हुने भनिए पनि केन्द्रीय सदस्यहरु दिनभर घाम तापेर फर्किएका छन् ।
बैठकका लागि विहानै आएको भएको भए पनि नेताहरुले गृहकार्य पूरा नभएको भन्दै आइतबार मात्रै वैठक बस्ने जानकारी दिइएको केन्द्रीय सदस्य कुमार शाहले बताए । बैठक आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ ।
केन्द्रीय समितिको बैठक स्थगित गरेर नेताहरु दिनभर पोलिटब्युरो सदस्यहरु छलफलमा जुटे ।
पहिलो राष्ट्रिय भेलापछि हुन लागेको केन्द्रीय समितिको बैठकले पार्टीको नयाँ योजना तय गर्नुका साथै केन्द्रीय सदस्यहरु थप गर्ने बताइएको छ । केन्द्रीय समितिको बैठकले नेताहरुको कार्य क्षेत्र हेरफेर तथा कार्य विभाजनसमेत गर्ने भएकाले बैठक केही दिन लम्बिने नेताहरुले बताएका छन् ।
बानेश्वर भेलाले गरेको निर्णय अनुसार १५१ केन्द्रीय समितिमा रिक्त रहेको ६४ जना केन्द्रीय सदस्य पनि केन्द्रीय समितिको वैठकबाट तय गर्ने भनिएको छ ।