चलचित्र विकास बोर्डले विभिन्न विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरेको छ । राष्ट्रपतिको सरकारी निवास शित्तल निवासमा आयोजना गरिएको कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । राष्ट्रपति विद्यादेव भण्डारीले पुरस्कृत चलचित्रकर्मीलाई ट्रफी प्रदान गरिन् ।
चलचित्र विकास बोर्डको बाषिर्कोत्सवको अवसर पारेर बिहिबार बिहान पुरस्कृत चलचित्रकर्मी र चलचित्रको नाम घोषणा गरिएको थियो ।
पुरस्कृत चलचित्रकर्मीहरुमा खगेन्द्र लामिछाने बाहेक सबै राष्ट्रपति कार्यलयमा उपस्थित थिए । चलचित्र लेखनको विधामा उत्कृष्ट पुरस्कार पाएका चलचित्र ‘पशुपति प्रसाद’का लेखक खगेन्द्र लामिछाने भने पुरस्कार वितरण समारोहमा उपस्थित थिएनन् । उनकी श्रीमतिले पुरस्कार ग्रहण गरेकी थिइन् ।
चलचित्रकर्मी बसुन्धरा भुषाललाई नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित ‘दिर्घ साधना सम्मान’बाट सम्मानित गरियो । राष्ट्रपति भण्डारीले सम्मानपत्र सहित भुषाललाई सम्मान गरिन् ।
उत्कृष्ट अभिनेतामा दयाहाङ राईले ‘कबड्डी कबड्डी’बाट पुरस्कार पाएका हुन् । यस्तै, उत्कृष्ट अभिनेत्रीमा नायिका नम्रता श्रेष्ठले ‘क्लासिक’ चलचित्रबाट पुरस्कार प्राप्त गरिन् ।
उत्कृष्ट निर्देशकमा दीपेन्द्र के खनालले चलचित्र ‘पशुपति प्रसाद’बाट पुरस्कार जित्दै गर्दा उत्कृष्ट चलचित्र पनि ‘पशुपति प्रसाद’ नै बन्न सफल भयो ।
उत्कृष्ट सम्पादनमा सुरेन्द्र पौडेलले चलचित्र ‘क्लासिक’बाट पुरस्कार प्राप्त गरे । उत्कृष्ट छायांकनमा चलचित्र ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र संजय लामाले पुरस्कार प्राप्त गरेका थिए । यस्तै, उत्कृष्ट आदिवासी चलचित्रमा ‘इम्पो देउराली’ले पुरस्कार प्राप्त गर्यो । जुरीले उत्कृष्ट नव-निर्देशकमा नायक भूवन केसीलाई चलचित्र ‘ड्रिम्स’बाट पुरस्कार दिने निर्णय गरेका थिए । भूवन अमेरिका रहेकाले उनका पिताले अवार्ड ग्रहण गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले भाषा, कला, संकृति आदिको प्रवर्द्धनका साथै राष्ट्रियतामा पनि योगदान गरेको बताइन् । उनले चलचित्र समाज र राष्ट्रको समष्टिगत प्रतिबिम्ब भएको बताइन् ।
चलचित्रले मौलिक पहिचानलाई आत्मसात गर्न जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राई र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले पुरस्कृत चलचित्रकर्मीलाई वधाई ज्ञापन गरेका थिए ।
चलचित्र विकास बोर्डले हरेक बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गर्दै आएको छ । विगतमा बर्षमा केहि विवादित देखिएको बोर्डको पुरस्कार यो बर्ष भने विवादबाट केहि मुक्त देखिएको छ । अवार्डको जुरीमा रमेश वुढाथोकी, सरिता लामिछाने, सुशिल पौडेल, मोहन निरौला, करुण थापा थिए ।
तस्विरः श्रीधर पाैडेल
प्रतिक्रिया 4