News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई, टेरिया मगर र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'मितज्यू' को ट्रेलर सार्वजनिक भएको छ।
- फिल्मले ग्रामीण भेगमा जिप चालकको कथा भन्छ र दुई पुरुष पात्रबीचको प्रतिस्पर्धा र सम्बन्धको उतारचढाव देखाउँछ।
- फिल्म नेपालमा ८ जेठदेखि प्रदर्शनमा आउनेछ र हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा पनि प्रदर्शन तय छ।
काठमाडौं । दयाहाङ राई, टेरिया मगर, सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मबारे जानकारी दिए ।
जीएम मूभिज प्रडक्सनको ब्यानरमा बनेको फिल्मले ग्रामीण भेगमा यातायातको रुपमा प्रयोग हुने जिपका चालकको कथा भन्छ । मुख्य दुई पुरुष पात्रले एकापसमा मितेरी साइनो लगाएका छन् ।
उनीहरु गाउँमा बनेको नयाँ बाटोमा गुड्ने गाडीका चालक हुन् । कसले चाँडो गन्तव्यमा गाडी पुर्याउने भन्ने प्रतिस्पर्धा उनीहरूबीच हुन्छ । त्यसबीच उनीहरूको सम्बन्धमा धेरै खाले उतारचढाव पनि आउँछ ।
एकजना पात्र अर्को मितको घरमा जाँदा कुखुराको भाले बोकेर लिएर गएका हुन्छन् । त्यही क्रममा महिला पात्र (टेरिया)ले भाले मात्रै किन पोथी पनि ल्याउनुपथ्र्यो नि भनेर गाउँले शैलीमा बोल्छिन् ।
यता उनीहरुले मित लगाएको कुरालाई हात हेर्ने ज्योतिषीले हल्का रुपमा नलिन आग्रह गर्छन् । फिल्ममा पात्रहरूबीचको लडाइ र मितको नाममा लगाइने कलंकको कथासम्म प्रस्तुत गरिएको छ ।
कुनै समय नेपालमा मितेरी साइनो लगाउने चलन थियो । सोही चलनलाई समेत फिल्ममा समावेश गरिएको छ । ट्रेलरमा पनि यो कुरा समावेश गरिएको छ ।
फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । ग्रामीण परिवेशमा खिचिएको फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई तथा खड्गबहादुर पुनमगरको अभिनय छ ।
यो फिल्मबाट टेरियाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका हुन् । यो फिल्म नेपालमा ८ जेठदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
यसबाहेक हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा पनि प्रदर्शन तय छ ।

प्रतिक्रिया 4