कता फर्कला अब
पृथ्वीको इन्डेक्स औंला ?
समय त निकै कोल्टो फर्किसकेको छ !
समय त
माथिको तल झरिसकेको छ
उताको यता सरिसकेको छ
अनगिन्ती भूकम्प अङ्कित भइसकेका छन्
पृथ्वीको पुरानो खप्परमा !
चन्द्रागिरिबाट बिझेको पृथ्वीको पहिलो नजर
चस्किलो कहानी भइसक्यो कीर्तिपुरलाई
नेपाल खाल्डो अतिक्रमणसँगै
गोर्खाबाट भित्रिएको शाही राजमुकुट
०६२/६३ को भुइँचालोले
नारायणहिटी म्युजियमको सौन्दर्य बनाइसक्यो ।
गोर्खाले ७.८ रेक्टरको विष ओकलेकै दिन
वसन्तपुर पूरै नौ तला थर्थराएर
सख्त भाँच्चिसकेको छ पृथ्वीको ढाड,
भग्नावशेषमा पुरिइसके राष्ट्रनिर्माता करङहरू
सातै तला नुवाकोटहरूले
इतिहासको अभच्छे बान्ता गरिसके ।
बडा दुःखले आर्ज्याको मुलुक
बडो अभिशाप साबित भयो,
पिइए कैयौं वीर छातीका राता कुवाहरू
लट्ठिए शासक
र, दिव्योपदेशभन्दा बडा भइगए
सौदा भयो देशको, देशभित्र र देशबाहिर
कैयौं देशहरू कमारा बनाइए
कैयौं बेचिए, निर्यात भइगए… !
पृथ्वी,
जसको जन्मसँग इतिहासको अवसान हुन्छ
जसको अवसानसँग इतिहासको जन्म हुन्छ
सत्य जति झुट, झुट जति सत्य
खै, जे पनि त भइदिने इतिहासको चक्कासँगै
बदला लिन तम्तयार भइसके अरे
काटिएका सात धार्नी नाक-कानहरू
गर्जिसके सीमान्त रैतीका जिजीविषाहरू
समयले
अर्को युद्ध नै लडिसक्यो पृथ्वीको इन्डेक्स औंलाविरुद्ध,
र, बिसे नगर्चीहरू हिरो भइसके !
पृथ्वीको इन्डेक्स औंला,
कि काटिएर सात/आठ टुक्रामा
केटाकेटीले जम्मा पार्देलान् टुँडिखेलमा
र, खेल्लान् सेभेन स्टोनजस्तो कवाज ?
पृथ्वीको इन्डेक्स औंला,
कि फरक्क फर्केर सोझिएला
सिंहदरबारको मक्किएको छातीतिर
या, लाजले/पराजयले झुक्ला आफैंमुन्तिर ?
कता फर्कला अब
सिंहदरबारअघि उभिएको
त्रासद समयको बुख्याँचाजस्तो
पृथ्वीको इन्डेक्स औंला ?