Comments Add Comment

संविधान संशोधनको प्रक्रिया थाल्न सरकारलाई संघीय गठवन्धनको दबाव

स्थानीय तह पुनर्संरचनाको काम रोक्न माग

Madhesi-morcha

२६ साउन, काठमाडौं । संघीय गठवन्धनले संविधान संशोधनका लागि प्रक्रिया सुरु गर्न सरकारलाई दबाव दिने भएको छ ।

संघीय समाजवादी फोरमको कार्यालय तिनकुनेमा बुधबार बसेको गठवन्धनको बैठकले सहिद घोषणासहितका मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु दुई दिनभित्र सक्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘यो काम सात दिनभित्र गर्ने भनिएको थियो । आज छैटौं दिन हो,’ रामसपाका महामन्त्री केशव झाले भने, ‘अब दुई दिनभित्र सक्न सरकारलाई भनेका छौं ।’

मृतकका नामहरु गृह मन्त्रालयले आफ्नो च्यानलबाट संकलन गरिरहेको छ भने मधेसी मोर्चाले पनि आफ्नो स्तरमा संकलन गरेको जनाएको छ । अब यो सरकारलाई बुझाउने र मन्त्रिपरिषदबाट छिट्टै निर्णय गर्न आग्रह गर्ने सहमति भएको झाले बताएका छन् ।

मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु गरेपछि संविधान संशोधनका लागि प्रक्रिया थाल्नुपर्ने गठवन्धनको जोड छ । ‘एक साताभित्र मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु गरेर अर्को साताबाट संविधान संशोधनबारे छलफल गर्ने भन्ने थियो,’ मोर्चाका नेता झाले भने, ‘यसका लागि सरकारलाई दबावमुलक रुपमा ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

स्थानीय तह पुनर्संरचनाको काम रोक्न माग

संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ ।

आयोगको काम पूर्वाग्रही रहेको भन्दै गठवन्धनले यसअघि नै काम रोक्न माग गरेको थियो । तर, अहिलेसम्म काम जारी राखेको भन्दै बुधबारको बैठकले सरकारलाई नै आग्रह गरेको छ ।

राजेन्द्र महतो र अनिल झा अनुपस्थित

गठवन्धनको बैठकमा सदभावना पार्टी र नेपाल सदभावना पार्टीका नेताहरु भने अनुपस्थित रहेका छन् । सदभावनाका अध्यक्ष राजेन्द्र महतो हुन् । संघीय गठवन्धनले खुलामञ्चमा गरेको रिले अनसनमा पनि उनी सहभागी थिएनन् ।

बुधबारको बैठकमा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीका नेताहरु पनि अनुपस्थित रहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment