१३ असोज, काठमाडौं । भौगोलिक बनावट र सडकको दुरावास्थाका कारण दिनानुदिन सडक दुर्घटना भारी मात्रामा बढ्दै गइरहेको छ । पछिल्ला दुई-तीनको सडक दुर्घटनामा मात्रै ३ दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
सडकमा पर्याप्त गाडी नगुड्नु, र गुडे पनि सीट क्षमताभन्दा दोब्बर, तेब्बर यात्रु बोक्नु दुर्घटनाको मुख्य कारणहरु हुन् । अझ एउटै ड्राईभरले ३६ घण्टाभन्दा बढी एक्लैले गाडी हाँक्नु दुर्घटना निम्त्याउनु होईन र ?
यस्तो घडीमा पनि देशका आन्तरिक वायुसेवाहरुले आफ्नो सेवालाई सहज बनाई नेपाल र नेपालीलाई जोड्ने कार्य गरिरहेका छन् । मुग्लिन नारायणगढ सडकखण्ड बिगि्रएर यात्रुलाई सास्ती भएपछि वायु सेवा कम्पनी बुध्द एयरले भरतपुर र सिमराजस्ता गन्तव्यमा आधा दर्जनभन्दा बढी उडानहरु थपेको छ ।
सडकबाट यात्रा गर्दा सडकको दुरावस्थाका कारण लामो समय लाग्ने गरेको र जोखिम पनि उत्तिकै बढी भएकाले आफुहरुले यात्रुलाई सहज होस भनेर उडान थप गरेको बुध्द एयरका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेत बताउँछन् ।
नेपालको हवाई भाडादर प्रणाली संसारमै उत्कृष्ट छ । कारण यदि तपाई काठमाडौंबाट दिल्लीको हवाई टिकट लिनुभयो भने तीस/चालिस हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने हुन्छ । यसमा कसैको नियन्त्र छैन । एयरलाइन्सहरुले बजारको माग र यात्रुको चाप अनुसार आफैले भाडादर निर्धारण गर्दछ । जबकि नेपालमा यसको निर्धारण नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दछ ।
प्राधिकरणले अधिक्तम भाडादर तोकिदिएको हुन्छ । त्यसैअनुसार विमान सेवा प्रदायकहरुले हवाई टिकट जारी गर्छ । अझ कतिपय विमान कम्पनीहरुले अधिक्तम मूल्यको आधाउधीमा टिकटहरु बिक्री गरिरहेका छन् । उदाहरणको लागि धनगढीको अधिक्तम भाडादर १०४१० रहेको छ । तर बुध्द एयरले ४७०० मा बिक्री गरिरहेको छ ।
आन्तरिक हवाई भाडामा तीन थरिको मूल्य समावेश गरिएको हुन्छ । एउटा भाडा, अर्को इन्धन शुल्क र यात्रु सेवा शुल्क । यसमध्ये ४० प्रतिशत रकम इन्धनकै लागि लिइएको हुन्छ ।
इन्धन शुल्कको निर्धारण गन्तव्य अनुसार तोकिएको हुन्छ । बस्नेतका अनुसार ‘यात्रुहरुले प्लेन टिकट काट्दा जति रकम तिरिरहेका हुन्छन्, त्यसको करिब ४० प्रतिशत त इन्धनकै मूल्य हुन्छ । जहाज कम्पनीहरुले प्रतिसिट इन्धनको लागत निकालेर त्यसमा भाडा जोडेर टिकटको दर राख्ने गरेको उनको भनाई छ ।
पछिल्ला केही वर्षमा घट्दो इन्धन मूल्यले गर्दा हवाइ कम्पनीहरु व्यापक नाफामा गएका छन् । अझ अरब देशबाट सञ्चालन हुने हवाई कम्पनीहरु तेब्बर, चौब्बर नाफा गरेका विभिन्न प्रतिवेदनले देखाउँछ । त्यति बढी नाफा हुनुको कारण हो, हवाई इन्धन उनीहरुकै देशमा उत्पादन हुनु ।
नेपाल आयल निगमले ग्याँस सिलिण्डरपछि धेरै नाफा लिई बेच्नेमा हवाई इन्धन नै हो । अझ यसको मूल्य अझ घटाइदिने हो भने धेरैजसो नेपाली तथा स्वदेशी/विदेशी पर्यटकका लागि सहज हुने थियो । यसको क्षतिपूर्ति पर्यटन उद्योगबाट राजस्वकारुपमा लिन सक्थ्यो ।
बुध्द एयरको हवाई भाडादर
गन्तव्य | अधिकतम भाडा (रुपैयाँमा) | न्यूनतम (रुपैयाँमा) |
---|---|---|
माउन्टेन फ्लाइट | ८,८२५ | – |
पोखरा | ४,१४५ | ३,२०० |
विराटनगर | ५,९४० | ४,०५० |
भैरहवा | ५,१९५ | ३,७०० |
नेपालगञ्ज | ७,८१० | ४,६०० |
भद्रपुर | ७,२५० | ४,६०० |
जनकपुर | ३,५२० | २,८०० |
सिमरा | २,५९५ | – |
भरतपुर | ३,०२५ | २,५०० |
धनगढी | १०,४१० | ४,७०० |
तुम्लिङटार | ४,८८० | – |