४ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आफ्नै पार्टीले पेश गरेको महाअभियोग प्रस्तावको विपक्षमा माओवादी केन्द्रकै एकजना सांसद उभिएकी छिन् ।
आफूलाई झुक्याएर महाअभियोगमा हस्ताक्षर गराइएको भन्दै माओवादी सांसद रुपा महर्जनले हस्ताक्षर गराउनेलाई नै कारवाहीको मागसमेत गरेकी छिन् ।
महाअभियोगप्रति असहमति जनाउने रुपा समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा आफ्नो समर्थन नरहेको सार्वजनिक घोषणा गरेकी छिन् ।
सांसद महर्जनले लोकमानको पक्षमा आफूलाई उम्याउँदै फेसबुकमा लेखेकी छन्, ‘एउटा प्रयोजनमा गरिएको हस्ताक्षर अन्तै प्रयोग गरी लगाइएको यस्तो महाअभियोगको प्रस्तावमा मेरो असहमति…मेरो हस्ताक्षरको दुरूपयोग…हस्ताक्षर दुरूपयोग गर्नेलाई तत्काल कारवाही होस् मेरो माग…।’
सांसद महर्जनले अहिलेको घटनाक्रमलाई पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणसँग तुलना गरेकी छन् । तत्कालीन सेनापति कुटवाललाई बर्खास्त गर्दा प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।
कटुवाल र कार्कीलाई एउटै टोकरीमा हालेर सांसद महर्जनले फेसबुकमा लेखेकी छन्, ‘कच्चा खेल….कहिले कटवाल कहिले लोकमान ।’
माओवादी सांसद एवम् पूर्वलडाकु कमाण्डर महेन्द्रबहादुर शाही प्रस्ताव र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेको महाअभियोग प्रस्ताव बुधबार संसद सचिवालयमा दर्ता भएको थियो । सो प्रस्तावमा एमाले र माओवादीका १५७ सांसदहरुले हस्ताक्षर गरेका थिए ।
तर, सो हस्ताक्षर दुरुपयोग गरेर अपराध गरेको आरोप माओवादी सांसद महर्जनले लगाएकी छन् । उनले भनेकी छन्, ‘अपराधको पनि हद हुन्छ, आफ्नैबाट घात… ।’
यसबारेमा थप बुझ्न टेलिफोन गर्दा सांसद महर्जनले फोन काटिन् ।