२० फागुन, काठमाडौं । कृषि, जलविद्युत र पर्यटनका क्षेत्रमा भियतनाम सरकारसँग सहकार्य गर्न प्रधानमन्त्री प्रचण्डले इच्छा व्यक्त गरेका छन् ।
शुक्रबार भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक समृद्धिमा भियतनामबाट शिक्षा लिएको बताए ।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको पनि बताए । भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको जानकारी गराएका थिए ।
भेटमा सहायक विदेशमन्त्री चाउले नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको भन्दै जलविद्युतको क्षेत्रमा नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको बताए । ‘त्यसका लागि सहकार्य जारी राख्ने भियतनामका सहायक विदेशमन्त्रीले बताउनुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
सहायक विदेशमन्त्री चाउले प्रधानमन्त्री प्रचण्डलाई भियतनाम भ्रमणको निम्तो समेत दिएका थिए । प्रचण्डले पनि उपयुक्त समय मिलाएर भियतनाम भ्रमण गर्ने आश्वासन दिए ।
प्रतिक्रिया 4