Comments Add Comment

रामेछापमा मेयर बन्न पूर्वसभासद र पूर्वजिविस सभापतिको दौडधूप

२ नगर र ६ गाउँपालिकामा तीन दलवीच तीब्र प्रतिस्पर्धा

२८ चैत, रामेछाप । स्थानीय तहको नेतृत्व सम्हाल्न पूर्वसांसद र पूर्वजिविस सभापति/उपसभापतिहरु नै तातिएपछि रामेछापमा स्थानीय चुनावको रौनक बढेको छ ।

राजनीतिक पार्टीका कार्यकर्ता पालैपालो गाउँ पस्न थालेका छन् भने आम जनतामा पनि चुनावप्रति चासो बढ्न थालेको छ । जिल्लाका तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रले जनताबीच बाक्लो उपस्थिति जनाउन थालेका छन् ।

यसपटकको स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीचमा तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै दलका नेताहरु टिकट लिने दाउपेचमा लागेका छन् ।

जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामध्ये सबैको आकर्षण भने सदरमुकाम रहेको मन्थली नगरपालिकामै देखिएको छ ।

मन्थलीको मेयरका दर्जनौं आकांक्षी

 

सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा मेयरको दावी गर्नेहरुको संख्या दर्जन नाघेको छ । नेपाली कांग्रेसबाट मात्रै ९ जनाले मेयरमा दाबी गरेका छन् । कांग्रेसका आकांक्षीहरुमा युवराज भट्टराई, विनोद कार्की, ध्रुवप्रसाद सुवेदी, गंगा अधिकारी, कुमार श्रेष्ठ, शंकर अधिकारी, केशव रोका र कुमार श्रेष्ठ दावेदार छन् ।

यीमध्ये युवराज भट्टराई कांग्रेसका पुराना नेता मानिन्छन् । गणेशमान सिंहका अनुयायी मानिने भट्टरार्इ ०५१ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विद्रोही उम्मेदवार समेत बनेका थिए ।

यसैगरी कांग्रेसका अर्का दावेदार विनोद कार्की पार्टीका २ नं क्षेत्रका क्षेत्रीय सभापति हुन् भने, ध्रुव सुवेदी पञ्चायतकालमा समेत मन्थली गाउँ पञ्चायतका प्रधानञ्च भइसकेका व्यक्ति हुन् ।

गंगा अधिकारी नेपाल महिला संघकी अध्यक्ष हुन् भने कुमार श्रेष्ठ कांग्रेसका जिल्ला कोषाध्यक्ष हुन् । यसैगरी शंकर अधिकारी र केशव रोका पनि अनुभवी नेता हुन् । शंकर अधिकारी तत्कालीन कठजोर गाविसका अध्यक्ष भैसकेका छन् भने केशव रोका जिल्ला विकास समितिका सदस्य भै सकेका छन् ।

एमालेबाट चार आकांक्षी

नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको प्रमुखमा आनन्द श्रेष्ठ, रमेश बस्नेत, कृष्णहरि अधिकारी, ध्रुव कार्की लगायतको नाम आएको छ ।

श्रेष्ठ एमाले जिल्ला कमिटि सचिव हुन् भने, बस्नेत पूर्वजिविस उपसभापति र सभापति समेत भैसकेका नेता हुन् । उनी केही समयअघि मात्रै माओवादीबाट एमालेमा फर्किएका हुन् ।

यसैगरी कृष्णहरि अधिकारी गेलु र ध्रुव कार्की मन्थलीको गाविस अध्यक्ष भइसकेका नेता हुन् ।

एमालेमा आकांक्षीहरु धेरै देखिएको भए पनि पार्टी सचिव श्रेष्ठको उम्मेदवारी लगभग निश्चित जस्तै रहेको एमाले स्रोतले जनाएको छ । विद्यार्थी राजनीतिबाट आएका श्रेष्ठ नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्व स्ववियु सभापति हुन् ।

माओवादीबाट पूर्वसभासदको चर्चा

नेकपा माओवादी केन्द्रले पूर्वसभासद तारानारायण श्रेष्ठलाई मन्थलीमा उम्मेदवार बनाउने तयारी गरेको छ । तर, चुनावी नतिजा आफ्नो पक्षमा नआउने अवस्था आएमा श्रेष्ठ पछाडी हट्ने सम्भावना छ ।

त्यो अवस्थामा माओवादी केन्द्रबाट दीपकराज प्रसाईँको नाम पनि चर्चामा आएको छ ।

रामेछापमा कांग्रेसका सभापति र सचिव नै भिड्दै

रामेछाप जिल्लाको पुरानो सरदमुकाम समेत रहेको रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपानेको नाम चर्चामा आएको छ । तर, यस बारेमा न्यौपानेले केही बोलेका छैनन् ।

रामेछाप नगरपालिकामा पार्टी सचिव लेखबहादुर कार्कीले पनि दाबी गरेका छन् । सचिव कार्कीले उम्मेदवारी नछाड्ने अडि्ड लिँदा अप्ठेरो पर्ने देखेर पनि न्यौपाने मौन भएको अड्कल गरिएको छ ।

कार्की तरुण दल र नेविसंघको जिल्ला अध्यक्ष हुँदै पार्टीको क्षेत्रीय अध्यक्ष भइसकेका युवा नेता हुन् । न्यौपाने किसान संघको केन्द्रीय सदस्य हुँदै जिल्ला सभापति भएका हुन् ।

रामेछाप नगरपालिकामा एमालेबाट होतराज ढकाल, युगराज पाखि्रन लगायतको नाम आएको छ । यद्यपि रोशन पाखि्रन उम्मेदवार बन्ने लगभग पक्का भएको एमाले स्रोतले जनाएको छ ।

रामेछाप नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट भने शिशिर खड्गी र रत्न नेवारको नाम मेयरका रुपमा आएको छ । खड्गी विद्यार्थी राजनीतिबाट आएका नेता हुन् भने नेवार सामाजिक क्षेत्रबाट आएका हुन् ।

कुन गाउँ पालिकामा क-कसको चर्चा ?

रामेछापका ६ वटा गाउँपालिका मध्ये उमाकुण्ड गाउँपालिकामा कांग्रेसका पुराना नेता झपडराज भण्डारी र क्षेत्रीय सभापति लिला सुनुवारको चर्चा छ ।

एमालेबाट साबिक कुँभुकास्थली गाविसका पूर्वअध्यक्ष चित्र कार्की र पि्रति गाविसका पूर्वअध्यक्ष शेरबहादुर सुनुवारको नाम आएको छ ।
उमाकुण्डमा सुनुवार समुदायको बाहुल्य रहेकाले शेरबहादुरलाई अघि बढाउने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

माओवादी केन्द्रबाट नाम्गेल शेर्पा, मदन कालिकोटे र रोकट बस्नेतको चर्चा छ । गोकुलगंगा गाउँपालिकामा माओवादी केन्द्रले पार्टी सचिव प्रेमकुमार कार्कीको नाम सार्वजनिक गरी सकेको छ । नेपाली कांग्रेसको तर्फबाट तेजबहादुर कार्की र कल्याण बस्नेतको नाम चर्चामा आएको छ । यसैगरी एमालेबाट खड्ग सुनुवार र बुद्धीबहादुर कार्कीको नाम चर्चामा छ ।

लिखु गाउँपालिकामा भने कांग्रेसबाट कृष्ण महत, निरोज खड्का, केशव महत, केशर पौडेल, सुन्दर खड्का लगायतको नाम प्रमुखको दावेदारका रुप्मा आएको छ । यीमध्ये कृष्ण महत पूर्वगाविस अध्यक्ष हुन् ।

लिखु गाउँपालिकामा एमालेबाट आशबहादुर तामाङ र गोविन्द खड्काको नाम आएको छ । आशबहादुर नादहका पूर्वगाविस अध्यक्ष र हाल एमालेका क्षेत्रीय अध्यक्ष हुन् ।

गोविन्द खड्का राप्रपाबाट एमालेमा प्रवेश गरेका नेता हुन् । उनी गत संविधान सभा निर्वाचनमा राप्रपाको तर्फबाट उम्मेदवार बनेका थिए ।
लिखुमा माओवादी केन्द्रका गोपाल तामाङ, ध्रुव कार्की, रविन्द्र पौडेल लगायतका नाम चर्चामा आएको छ । यी मध्ये पौडेल भूमिगतकालमै लडाकु बनेर जनयुद्धमा लागेका नेता हुन् ।

खाडाँदेवी गाउँपालिकामा कांग्रेसका अर्जुन केसी र ताराराम श्रेष्ठको नाम आएको छ । केसी गएको पार्टी अधिवेशनमा जिल्ला सभापतिमा पराजित नेता हुन् । श्रेष्ठ व्यवसायिक पृष्ठभूमिबाट आएका नेता हुन् ।

खाँडादेवीमा एमालेको तर्फबाट प्रेम तामाङ र होम बुढाथोकीको नाम आएको छ । तामाङ पार्टीका जिल्ला उपाध्यक्ष समेत हुन् । अर्का नेता बुढाथोकी एमालेको केन्द्रीय लेखा आयोगका सदस्य हुन् । त्यस्तै भीरपानी गाविसका पूर्वअध्यक्ष ज्ञानबहादुर श्रेष्ठ पनि प्रमुखका दावेदार हुन् ।

खाँडादेवीमा माओवादी केन्द्रबाट शिवकुमार कार्कीको नाम पक्का जस्तै भएको छ । जिविस सदस्यसमेत भइसकेका कार्की कानुनी पृष्ठभूमिका नेता हुन् । उनी एमालेका दाबेदार होम बुढाथोकीका भिनाजु हुन् ।

जिल्लाको अर्काे दोरम्बा गाउँपालिकामा कांग्रेसका धेरैजानको नाम चर्चामा आएको छ । मानबहादुर तामाङ र दोरम्बाका पूर्वअध्यक्ष शंकर योञ्जन प्रमुख दाबेदार हुन् ।

एमालेबाट कुमार कँडेल, तुलप्रसाद कँडेल, प्रेम लामा, कोमल ढुँगेल लगायतको नाम आएको छ । माओवादी केन्द्रबाट केन्द्रीय सदस्य मैनकुमार मोक्तान र यशु चौलागाईँको नाम आएको छ ।

सुनापति गाउँपालिकामा भरत चौलागाँई र सुरेन्द्र तामाङको नाम कांग्रेसमा चर्चामा छ । यसैगरी एमालेबाट प्रदिप योञ्जन र रामकृष्ण लामाको नाम आएको छ । योञ्जन पूर्वजिविस सदस्य समेत हुन् भने लामा गाविस अध्यक्ष भएका नेता हुन् । योन्जन हालैमात्र माओवादीबाट एमाले प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका धेरै केन्द्रीय नेताहरु समेत भएको सो गाउँपालिकामा माओवादीको तर्फबाट रामकुमार लामा, खड्ग घिसिङ, पेमा लामा लगायतको नाम चर्चामा आएको छ ।

गाउँ र नगरप्रमुखमा महिलाको नाम छैन

वर्तमान संविधानलाई विश्वकै समावेसी र उत्कृष्ट संविधान मध्येको मानिन्छ । नेपालका राजनीतिक दलहरुले सामवेशिताको नारा पनि त्यतिकै लगाएका छन् ।

जनसांख्यिक हिसावले आधाभन्दा बढी जनसंख्या रहेको महिलाको समावेशिता भने यसपटक पनि रामेछापका राजनीतिक दलहरुको नारामा नै सीमित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment