+
+

कांग्रेसले केटाकेटीलाई सडकमा उफार्दैछः केपी ओली

चोलेन्द्रको आदेशले संसदको विशेषाधिकार उलंघन नगरेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते १७:४९

२४ बैशाख, ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका तरुण र विद्यार्थीहरुलाई ‘केटाकेटी’को संज्ञा दिएका छन् । उनले चोलेन्द्र समशेर जबराले गरेको अन्तरिम आदेशबाट संसदको विशेषाधिकार उल्लंघन नभएको दाबी समेत गरे ।

आइतबार ललितपुरमा आयोजित नेकपा एमालेको चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाअभियोग स्थगन गर्ने सर्वोच्चको अन्तरिम आदेश संविधानसम्मत रहेको दाबी गरे । यसले संसदको विशेषाधिकारमा हस्तक्षेप नगरेको उनले बताए ।

ललितपुर महानगर तथा अन्य नगरपालिकाका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमलाई पाटनमा सम्बोधन गर्दै ओलीले महाअभियोग फिर्ता लिनुको विकल्प नरहेको बताए । उनले यसबारे दुई दिनको बीचमा तीनपटक प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

ओलीले महाअभियोगलाई अन्तिम ब्रम्हास्त्रको संज्ञा दिँदै यो गलत ढंगले प्रयोग गर्दा महाभारतमा जस्तै आफ्नै निधारमा टाँसिने बताए । उनले भने- महाभारतमा ब्रम्हास्त्रको गलत समयमा प्रयोग गर्दा त्यो आफ्नै निधारमा टाँसिएको कथा छ, कांग्रेस अहिले महाअभियोगको ब्रम्हास्त्र आफ्नै निधारमा टाँसिएपछि त्यो कलंक मेटाउने केही केटाकेटी सडकमा उफार्दैछ ।’

महाअभियोग प्रस्ताव फिर्ता नभएसम्म तनावको अवस्था कायमै रहने भन्दै ओलीले अन्तरिम आदेश दिने न्यायाधीश चोलेन्द्र शमसेर विरुद्ध समेत कारवाही गर्न सत्तापक्षलाई महान्यायाधिवक्ता र नेपाल बार एशोसियसनका पदाधिकारीले उक्साइरहेको भन्दै चोलेन्द्रको बचाउ गरे ।

ओलीले भने- महान्यायाधिवक्ता अदालतमा सेटिङ मिलाउन नपाएपछि महाअभियोग लगाउन उक्साउँदै हिँड्छन् । बार एशोसियसन मतियार बन्छ । नेताका घर-घरमा गएर न्यायाधीशलाई आतंकित पार्न उक्साइरहेका छन् । यो गम्भीर कुरा हो ।

ओलीले लम्पसारवादीलाई परास्त गर्न काठमाडौं र ललितपुरमा राप्रपासँग चुनावी तालमेल गरिएको बताए ।

एमाले अध्यक्ष केपी ओलीले उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा ललितपुर महानगरको विकास योजनाका बारेमा भन्दा पनि सत्तापक्षको गालीगलौचमै आफूलाई सीमित राखेका थिए ।

कार्यक्रममा एमालेका ललितपुर महानगरका उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले महानगर विकासको आफ्नो एजेण्डा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?