१६ पुस,त्रिशूली । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ ।
कार्यक्रममा प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार राख्नुभयो । तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए । रु पाँच अर्बको लगानीमा परियोजना तयार हुने बताइएको छ ।
इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए ।
उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो ।
तर उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने भरतकुमार खड्काले दाबी गरे । उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशूली नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4