२ फागुन, पोखरा । मुख्यमन्त्री चयन भएसँग प्रदेश ४ मा मन्त्री बन्न एमाले र माओवादी केन्द्रका सांसदबीच दौडधुप सुरु भएको छ ।
बुधबार मुख्यमन्त्रीको सपथसँगै ३ सदस्यीय मन्त्रिपरिषद पनि गठन गर्ने तयारीमा वाम गठबन्धन थियो ।
तर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको काकीको निधन भएका कारण सपथ ग्रहण शुक्रबारका लागि सरेको छ ।
प्रदेश ४ मा एमाले माओवादीबीच ७० र ३० प्रतिशतको भागबन्डा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित ५ मन्त्रालय एमालेलाई र सभामुखसहित २ मन्त्रालय गरी एमाले माओवादबीच भागबन्डा भएको छ ।
मुख्यमन्त्रीको सपथ सरेसँगै मन्त्रीको टिकट लिन सांसदहरुले यतिबेला कसरत गरिरहेका छन् । एमालेबाट विकास लम्साल, कृष्ण थापा, इन्द्रलाल सापकोटा, राजीव पहारी, लगायत मन्त्रीको टिकट लिने कसरतमा छन् ।
माओवादीले पाउने २ मन्त्रीमा हरिबहादुर चुमान, दीपक कोइराला, रामजी बराल, दीपक चर्तिमगर लगायत दौडधुपमा छन् ।
‘मन्त्रीको विषयमा बिहीबार सम्भवत एउटा टुंगो लाग्न सक्छ,’ सांसद दीपक कोइरालाले भने, ‘केन्द्रीय पार्टीले प्रदेश संसदीय दलबाटै टुंगो लगाउने बताएकाले गृहकार्य भइरहेको छ ।’
काकी आमाको निधन भएपछि काठमाडौं गएका मुख्यमन्त्री पृथ्वीसुब्बाले मन्त्रीका विषयमा पनि पार्टी नेतृत्वसँग छलफल गर्ने एक सांसदले जानकारी दिए ।
प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीका १२ सांसद छन् । कांग्रेसको १५, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जना प्रदेश सभा सदस्य छन् ।