Comments Add Comment

सल्यानको उच्च क्षेत्रमा खानेपानी अभाव


६ चैत, सल्यान । गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ ।

पानीका मुहान सुक्दै जान थालेपछि यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटालगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ ।

प्रत्येक घरबाट पानी लिनका लागि एकजना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै वनगाड कुपिण्डे–१२ चौरकी रेवती वलीले भने, ‘वरपर मुहान छैन दुई घण्टा हिँडेर एकगाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।’

नजिकैको पोखरीमा जमेको पानी शौचालयका लागि प्रयोग गर्ने गरिन्थ्यो तर अहिले पोखरीको पानी सुकेपछि त झन समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ ।

‘बिहानै उठेर पानी लिन जानुपर्छ ५ बजे पानी लिन गएको मानिस ८ बजे फर्किन्छ, पानीकै लागि समय दिन परेकाले छोराछोरीलाई समयमा विद्यालय पठाउन सकिँदैन यसले गर्दा तिनको पढाइसमेत बिग्रेको छ’, स्थानीय चन्द्रबहादुर पुनले पीडा सुनाए ।

‘दिनभरि पानी बोकेको मानिसकै लागि त पुर्याउन सकिँदैन, वस्तुभाउलाई कहाँबाट पुर्याउनु ? यस्तै अभाव भोग्दै जानुपर्ने हो भने वस्तुभाउ पाल्न सकिँदैन’, पुनले भने ।

आकाशेपानी संकलनका लागि ट्यांकी बनाएको भए पनि पानी नपरेपछि प्रयोगविहीन हुन थालेको छ ।

‘उच्च बस्ती भएका कारण पानीका मुहान पनि कम छन्, त्यसमा पनि लामो खडेरीले गर्दा पानीका सबै स्रोत सुकिसकेकाले लिफ्ट प्रणालीको पानी ल्याउनुबाहेक विकल्प नभएकाले यसका लागि प्रयास गरिरहेका छौं,’ वनगाड कुपिण्डे–१२ का वडाध्यक्ष गोविन्द डाँगीले भने ।

खानेपानीको अभावकै कारण धेरै मानिसले बसाइँ सरिसकेको उनको भनाइ थियो ।

कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरको चोत्रेमा पनि खानेपानीको अभाव भएपछि त्यहाँको बस्ती नै काकाकुल बनेको छ । एकगाग्री पानी लिनका लागि तीन घण्टा समय खर्चनु परेपछि सिङ्गो बस्ती नै काकाकुल बनेको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले बताए ।

४७ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको संकटले बस्ती नै सर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment