६ असार, काठमाडौं । स्वतन्त्र वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले नेपाल कम्युनिस्ट पार्टीको एकताबाट सबैभन्दा खुसी हुनेमा आफू परेको बताएका छन् ।
उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पूरा गरिदिएको भन्दै नेकपाका नेताहरुप्रति खुसी व्यक्त गरेका छन् ।
७८ वर्षीय बयोबृद्ध अभियन्ता तुलाधरलाई भेट्न उनकै निवास लैनचौर पुगेका नेकपाका महासचिव विष्णु पौडेलसहितका नेताहरुसँग कुरा गर्दै तुलाधरले अरु साना कम्युनिस्ट समूहलाई पनि एकतामा समेट्न आग्रह गरे ।
तुलाधरले नेपाल कम्युनिस्ट पार्टीको एकता आफ्नो जीवनकालमै देख्न पाएको भन्दै अब जनताको पक्षमा काम गर्न सुझाव दिएको भेटमा सहभागी नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए ।
तुलाधरले तत्कालिन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले पहल गर्दाको क्षणदेखि नेकपा एकीकरणको आफ्नो प्रयास समेत स्मरण गराएका थिए । उनले आफूलाई सम्झेर भेट्न आएकोमा नेकपाका महासचिव पौडेललाई धन्यवाद दिएको श्रेष्ठले बताए ।
तुलाधरले भने, ‘जनयुद्धको समयमा माओवादीलाई वार्तामा ल्याउन माओवादीसँग वार्ता गर्न जाँदा यहि हो प्रचण्ड भनेर मलाई थुने । तर आज मेरो प्रयास सार्थक भएको छ । नेकपाले अब देशमा समृद्धिको नेतृत्व गर्नुपर्छ ।’
तुलाधरले आफू तीनपटक तत्कालिन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव जितेको र स्वतन्त्र वामपन्थीकै हैसियतमा २०५२ सालमा स्वास्थ्यमन्त्री बन्दाको क्षण पनि स्मरण गरे ।
महासचिव पौडेलले नेपाल कम्युनिस्ट पार्टी एकतामा तुलाधरको योगदान स्मरणीय रहेको बताए । उनले तत्कालिन नेकपा एमालेलाई काठमाडौं उपत्यकामा स्थापित गर्न तुलाधरको निणर्ायक भूमिका रहेको बताए । उनलाई भेट्न पौडेल, श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई गएका थिए ।