+
+

लण्डनमा नेपथ्यको तेश्रो प्रस्तुति, मन्त्रमूग्ध भए दर्शक

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १५:५१

लण्डन/ यहाँस्थित ओ टु ब्रिक्सटनमा शनिबार बेलुकी भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न नेपथ्य सफल भएको छ । मुलुककै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण मञ्चमा प्रस्तुत गरेको हो ।

ब्याण्ड पहिलो पटक पाँच वर्षअघि विम्बले एरेनामा प्रस्तुत भएको थियो जुन नेपाली संगीतकै इतिहासमा एउटा कोशेढुँगा बन्न सफल भयो । त्यसपछि दोश्रो र तेश्रोपटक ओ टु ब्रिक्सटनमा कन्सर्ट आयोजना भएको हो ।

कार्यक्रममा जसै नेपथ्य गाउन सुरुभएको थियो, उसैगरी हलभरिका दर्शकले पनि गाएरै साथ दिएका थिए । कार्यक्रमको सुरुअात नै नेपथ्यको सार्वजनिक हुनै लागेको दसौं अल्बमबाट भएको थियो –

कुरुप अनुहार हो,

यहाँ कोहि साथी छैन

सरुभक्तले लेखेको र विक्रम गुरुङको संगीतले सजिएको यो गीतलाई नेपथ्यले अलिक बेग्लै सुनिने गरि एकोहोरोपनामा ढालेको छ ।

एकपछि अर्को प्रभावकारी गीतहरुको सूची सहित उपस्थित भएको नेपथ्यले कन्सर्टमा केहि नयाँ र केहि सर्वकालीक हिट यस्ता गीतहरु पनि प्रस्तुत गरेको थियो जुन बेलायतका श्रोताले यसअघि सुन्न पाएका थिएनन् । चाहे त्यो नेपथ्यको भर्खरै तयार भएको ‘शिरफूल शिरैमा’ होस् , केही समय अगाडिको गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आगनै भरि’, दर्शकले नेपथ्यको साथमा साथ मिलाएर गाएका थिए ।

बेलायती गोर्खा भर्तीमा रहेका सैनिक तथा उनीहरुको परिवारका निम्ति बसोबासको बन्दोबस्त गरेपछि यस मुलुकमा पछिल्लो समय नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यसैगरी शैक्षिक अवसरदेखि लिएर विभिन्न व्यावसायका हिसाबले बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बढ्दो छ ।

यसरी विदेशिनेहरुले आफूसँगै आफ्नो भाषा, भेष र पहिचान बोकेर आउने गरेका छन् । यस्तोमा नेपाली लोकलयमा आधारित लोकप्रिय रक गीत बोकेर आउने नेपथ्यले परदेशमा आफ्नोपनको आत्मीयता बाँड्दै आएको छ ।

यतिबेलै ८० हजारभन्दा बढी नेपालीको बेलायतमा बसोबास रहेको बताइन्छ ।

 ‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरुबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ,’ मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘यस्तो मायाले संगीतको यात्रामा लागेर हामीले बिताएको २५ वर्ष सार्थक भएछ भन्ने लाग्नेगरेको छ ।’

दुईघन्टा लामो प्रस्तुतीका बखत अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरुको उल्लेख गरे । उनले आफूले देखेको नेपालका बारे अर्थ्याउँदै बारंबार नेपाली–नेपाली बीच एकताको आवश्यकता पनि औँल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खाँचो पर्ने बताए ।

नेपथ्यले यतिबेला मनाउदै आएको स्थापनाको रजत जयन्तीकै सिलसिलामा बेलायतको यो प्रस्तुती पनि जोडिएको हो ।

बेलायतको यो प्रस्तुतीसँगै ब्याण्ड अब नेपालमै आयोजना हुन लागेको कन्सर्टका निम्ति घर फर्किँदै छ । टोली यसै महिना स्वयम्भूमा प्रस्तुत हुँदैछ ।

‘स्वयम्भू हाम्रो ड्रमसेटवादक ध्रुवको गृहमैदान हो,’ अमृत भन्छन्, ‘यो कन्सर्ट उनैका निम्ति हो ।’

स्वयम्भूको कन्सर्ट सेप्टेम्बर २९ तारिख (असोज १३ गते, शनिबार) आयोजना हुँदैछ ।

‘ब्याण्डले स्वयम्भूमा आफूलाई उभ्याउन तयार भएकोमा म असाध्यै खुशी छु,’ नेपथ्यका ड्रमसेट वादक ध्रुव लामा भन्छन्, ‘स्वयम्भू क्लबले आयोजनाको जिम्मा लिएको यो कन्सर्ट, त्यस क्षेत्रको सम्पदा संरक्षण सहयोगार्थ गरिने भएको छ ।’

बेलायतमा सम्पन्न कन्सर्टमा पनि अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?