Comments Add Comment

मेरो प्रतिस्पर्धा कसैसँग छैन, राम्रो काम गरेर चल्छुः प्रियंका(भिडियो)

नेपालमा अहिले कमेडी चलचित्र निर्माण बढेको छ । कमेडी चलचित्रलाई दर्शकले रुचाएका पनि छन् । माघको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गरुण पुराड’मा पनि कमेडी कथालाई प्राथमिकता दिइएको छ । यो चलचित्रको मुख्य भूमिकामा दर्शकले प्रियंका सिंह ठकुरीलाई देख्न सक्नेछन् । चलचित्रको रिलिज मिति नजिकिदै गर्दा उनी प्रचार प्रसारमा पनि लागिरहेकी छिन् ।

प्रियंकासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


प्रियंका आफूलाई सानै उमेरदेखि चलचित्रमा काम गर्ने रुचि भएको बताउँछिन् । उनी भन्छिन्–‘मलाई सानै उमेरदेखि नै चलचित्रमा काम गर्ने इच्छा थियो । चलचित्र हेर्दै गर्दा आफूलाई पनि पर्दामा हेर्न पाए हुन्थ्यो भनेर सोच्थेँ । आज त्यो सपना पूरा हुन लागेकोमा खुशी छु ।’

प्रियंकाले चलचित्रमा काम गर्न पूर्व केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । टिकटकमा उनको भिडियो पनि प्रशस्त भेटिन्छन् । ‘म्युजिक भिडियो र टिकटकमा अभिनय गरे जस्तो सजिलो त चलचित्रमा काम गर्दा नहुने रहेछ’, प्रियंका भन्छिन्–‘म्युजिक भिडियोमा हासेर लुक्स दिए पुग्थ्यो । चलचित्रमा त धेरै मान्छेहरुको अगाडि अभिनय नै गर्दा सजिलो हुदैन ।’

प्रियंकालाई धेरैले चलचित्र खेल्नका लागि सुझाव दिन्थे । परिवारका सदस्यहरु पनि उनलाई चलचित्रको पर्दामा हेर्न चाहन्थे । उनलाई चलचित्रको अफर पनि साथीको दिदीले गरेकी थिइन् । सुरुमा डराएकी उनलाई पछि चलचित्र युनिटले अडिसन लिएर चलचित्रमा लियो । धेरैले उनलाई अभिनय गर्न सक्ने बताएपछि उनमा पनि हिम्मत आएको थियो । उनले चलचित्र ‘गरुण पुराड’को कथा अत्यन्त मन परेकाले काम गरेको बताइन् ।

उनी यो चलचित्रमा एक निडर केटीको भूमिकामा प्रस्तुत छिन् । आफ्नो भूमिकाबारे उनले भनिन् –‘चलचित्रमा म बाठी र निडर केटीको भूमिकामा छु । जो ओप्पो फोनको क्रेजी हुन्छे ।’ चलचित्रमा उनले केटाहरुलाई फसाएर उनीहरुबाट सामान लिने तर त्यसको सट्टामा केही फिर्ता नदिने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रको क्यारेक्टर र आफ्नो वास्तविक जीवनमा केही मेल नखाने प्रियंकाले बताइन् । उनले भनिन्–‘चलचित्रमा जस्तो म वास्तवमा छैन । म वास्तवमा त एकदमै भलाद्मी पाराकी छु ।’

चलचित्र क्षेत्रमा यति धेरै नायिकाहरु हुनुहुन्छ, स्थापित हुन कत्तिको गाह्रो छ ? भन्ने हाम्रो पश्नमा उनले भनिन्–‘राम्रो टिम छानेर राम्रो काम गर्छु । मैले राम्रो गर्न सके भने दर्शकले पक्कै मन पराउनु हुन्छ ।’  उनको नाम सफल नायिका प्रियंका कार्कीसँग मिल्छ । तर, नाम मिल्दैमा आफूलाई यसले केही असर नगर्ने उनले बताइन् । ‘म प्रियंका दिदीको फ्यान नै हुँ । उहाँसँग नाम मिल्दा मलाई केही असर गर्दैन ।’

प्रियंकालाई अन्य चलचित्रबाट अफर आउन सुरु भइसकेको छ । तर उनी पहिलो चलचित्रको प्रतिकृया बुझेर मात्र अन्य चलचित्रमा काम गर्ने सोचमा छिन् । उनी भन्छिन्–‘मलाई चलचित्रबाट अफर आएको छ । तर, पहिलो चलचित्रको प्रतिकृया बुझेर मात्र अन्य चलचित्रमा काम गर्छु ।’ उनले आफूलाई कमेडी चलचित्रमा नै काम गर्न बढी मन लाग्ने सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment