Comments Add Comment

अर्घाखाँचीकी कल्पना : मधेसी दलकी पहाडे सांसद

पहाडकी चेलीलाई मधेसवादी दलमा मौका !

१ फागुन, बुटवल । राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई मधेस केन्द्रीत वा मधेसवादी दल भनिन्छ । वास्तविकता पनि करिब त्यस्तै छ । प्रदेश ५ का १२ जिल्लामध्ये पहाडका ६ जिल्लामा राजपाको संगठन देखिने गरी कतै छैन भन्दा हुन्छ । तराईका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा भने उसको पकड राम्रै मानिन्छ ।

मधेसवादी दलकै पहिचान बनाएको राजपाले प्रदेश सभामा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । ८७ मध्ये ३५ सिट समानुपातिक रहेकामा यो पार्टीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच दलमध्ये चौथोको रुपमा एक सिट पायो । त्यही एक सिटमा सांसद बन्ने मौका पाइन् समानुपातिकको बन्द सूचीको दोस्रो नम्बरमा रहेकी अर्घाखाँचीकी कल्पना पाण्डे लम्साल ।

सांसद बन्नुअघि राजनीति नगरेकी कल्पना राजपाकी सामान्य सदस्य मात्र थिइन् । पार्टीले समानुपातिकको एक नम्बरमा राखेर बिना पन्तले प्रदेशसभा गठन भएको ६ महिनासम्म सपथ नलिई राजीनामा दिइन् । त्यसपछि ३३ वर्षीया कल्पना पाण्डेले खस-आर्यको कोटाबाट मधेसी दलको सांसद बन्ने मौका पाइन् ।

प्रदेश सभा गठन भएको ६ महिनापछि सपथ लिनुअघिसम्म कल्पना विद्यालय शिक्षिका थिइन् । उनले १० वर्षसम्म शिक्षण पेशाको अनुभव लिएकी छिन् ।

अर्घाखाँचीको साविक केरुङा गाविस- १ की उनी अहिले छत्रदेव गाउँपालिका ३ की बासिन्दा हुन् । पछिल्लो ३ वर्षयता उनको बसोबास भैरहवामा छ ।

‘सांसद भइसकेपछि बल्ल राजनीति सिक्न थालेकी छु’ उनी भन्छिन्, ‘सांसदले ऐन, कानुन धेरै जान्नुपर्दो रहेछ, नपढी बोल्न पनि नजानिँदो रहेछ ।’

प्रदेश सभामा विशेष समय लिएर वा संसदीय समितिमा पार्टीको तर्फबाट बोल्दाबोल्दै बानी परेको अनुभव उनले सुनाइन् ।

शिक्षा शास्त्रमा स्नातक कल्पना पाण्डेले पार्टीको एक्ली सांसद भएकाले पनि संसद, समितिको वैठक र मिडियामा पनि बोेलिरहनुपर्छ ।

प्रदेश सभा र प्रदेश सरकारका विभिन्न मन्त्रालयका लागि गाडी खरिदमा अनियमितता भएको प्रश्न उठेपछि लेखा समितिद्वारा गठित उपसमितिको सदस्य भएर छानविन गर्दा राजनीति र भ्रष्टाचार कसरी जोडिने रहेछ भन्ने थाहा पाएको उनले सुनाइन् ।

‘सबैले सहजै बुझ्ने गरी एउटा गाडीमा ३/४ लाख रुपैयाँ बढी खर्च गरे पनि दलका नेताहरुको प्रभावले कसैलाई दोषी नदेखाई प्रतिवेदन बनाइयो’, सांसद पाण्डेले भनिन्, ‘हाम्रा नेता र ऐन कानुनहरु कसरी जालझेल गरेर ठग्न सकिन्छ भन्ने खालका मात्रै रहेछन् ।’

धादिङका नवराज लम्सालसँग मागी विवाह गरेकी उनलाई सांसद बन्ने बाटो उनकै श्रीमानले खनिदिएका रहेछन् । जनता दलका नेता रहेका श्रीमानले मधेसवादी दलहरुको एकीकरणका बेला राम्रो भूमिका खेलेका र राजपा प्रवेश पनि गरेकाले आफू सांसद बन्न पाएको कल्पनाले खुलाइन् ।

लम्साल भने ०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

प्रदेश सभामा ७ महिना बिताएकी कल्पना पाण्डेसँग साना दलले उठाएको मुद्दालाई मुख्यमन्त्री र मन्त्रीहरुले बेवास्ता गर्ने गरेको तीतो अनुभव छ । उनको भनाइमा प्रदेश ५ को सरकारले जनताको अपेक्षा अनुसार काम गर्न, प्रदेश राजधानी तोक्न र नामाकरण गर्न सकेको छैन । ११६ वटा कानुन बनाउनुपर्नेमा एक वर्षमा १६ वटा मात्र बनाएको भन्दै उनले प्रदेश सभाप्रति पनि असन्तुष्टि पोखिन् ।

‘मुख्यमन्त्री र मन्त्रीहरु कार्यक्रम उद्घाटन र भाषणबाजीमा समय बिताइरहनुभएको छ’, सांसद कल्पना पाण्डे भन्छिन्, ‘कर्मचारी अभाव बहनाबाजी बनेको छ ।’

उनी आफ्ना दल राजपाको लाइनअनुसार शिघ्र संविधान संशोधन चाहन्छिन् । महिला, मधेसी, मुस्लिम, दलित, थारु लगायत पछाडि परेका वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्वका लागि संविधान संशोधन अत्यावश्यक भएको उनको धारणा छ ।

राजपा मधेसको मात्र दल नभएको पुष्टि प्रदेश सभामा आफ्नो प्रतिनिधित्वले नै गरिसकेको उनले बताइन् । ‘आगामी पार्टी महाधिवेशनमा म पनि रुपन्देहीको मर्चवार क्षेत्रबाट प्रतिनिधित्व गर्ने सोचमा छु’ राजपाले अब ७७ वटै जिल्लामा संगठन विस्तार गर्नेछ’ उनले भनिन्, ‘अबको चुनावमा पार्टीको अवस्था धेरै माथि जाने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment