तपाईंको गाउँको रोज्जा ठाउँ कुन होला ? त्यहाँको विशेषता के होला ? तपाईंको गाउँमा यस्तो रैथाने संस्कार होला, जो अन्यत्र छैन ?
हो त, हामी आफ्नै ठाउँको कतिपय सौन्दर्य र भूगोलबारे बेखबर छौ । हामीले आफ्नै ठाउँमा के कस्ता अनुपम ठाउँ होलान् ? के-कस्ता अनौठो संस्कृति होलान् ? के-कस्ता रैथाने रीतिथिती होलान् ? यसबारे खासै चियोचासो गरेनौ । त्यही कारण हामीलाई मकैको विवाहबारे थाहै भएन, हिमालपारीको थकाली जनजीवनबारे थाहै भएन ।
सानो भूगोलभित्र हिमाल, पहाड र तराई समेटिएको नेपालमा यस्ता थुप्रै गन्तव्य छन्, जसले तपाईंलाई रोमाञ्चक बनाउँछ । कतै रहरलाग्दो जलकुण्ड छ, कतै अत्यासलाग्दो झरना छ । कतै मोहक पाखापखेरु छ, कतै अनौठो बस्ती छ । प्राकृतिक छटाहरुले हिमाल, पहाड, तराईलाई सिंगारेको छ । त्यसो त यो कला, संस्कृतिको पनि खुला संग्राहलय हो । यहाँ जातजाति, भूगोल, समूदाय अनुसार अनौठा, रोचक र मौलिक कला-संस्कृति छन् ।
यस्तै विविधता र सौन्दर्यलाई लक्षित गरेर वि विल राइज फाउन्डेसनले देशभरमै आह्वान गर्यो, ‘तपाईंहरुको गाउँ-ठाउँको पर्यटकिय गन्तव्य, धार्मिक स्थललगायत कला-संस्कृति, रीतिथितीबारे भिडियो बनाएर पठाउनुहोस् ।’
नभन्दै पूर्व ताप्लेजुङदेखि पश्चिम डडेल्धुरासम्मका तन्नेरीहरुले भिडियो बनाएर पठाए । करिब दुई सय भिडियो प्राप्त भयो । पाँच मिनेटभन्दा कम अवधीको ति भिडियोहरुले स्थानिय पर्यटन, कला, संस्कृतिलाई उजागर गरेको थियो । तिनै भिडियोमध्येबाट विभिन्न क्याटगोरीमा उत्कृष्ट छनौट गरी पुरस्कृत गरिने फाउन्डेसनका अध्यक्ष निर्मल श्रेष्ठले बताए ।
‘हाम्रो गाउँगाउँ कति लोभलाग्दो रहेछ, कति अनौठो संस्कृति रहेछ भनेर त्यो भिडियो हेरेपछि थाहा भयो’ श्रेष्ठ भन्छन्, ‘यसले स्थानिय पर्यटनमा एक किसिमको जागरण ल्याउँछ भन्ने हाम्रो अपेक्षा हो ।’
‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ शीर्षकमा गरिएको यो प्रतियोगिताले मूलत पर्यटन प्रवर्द्धनमै टेवा पुर्याउने आयोजकको विश्वास छ । त्यससँगै युवाहरुमा आफ्नो गाउँ-ठाउँप्रतिको चासो, मोह जगाउने काम पनि गर्नेछ ।
अभिनेत्री करिष्मा मानन्धर, निर्देशक सम्झना रौनियर लगायतको निर्णयक मण्डलले ति भिडियोहरु सिनेम्याटिक र मेकिङका हिसाबले पनि राम्रो रहेको प्रतिक्रिया दिएका छन् । निर्मल श्रेष्ठ भन्छन्, ‘यसले परोक्ष रुपमा चाहि गाउँठाउँबाट फिल्ममेकर जन्माउने उत्प्रेरणा पनि दिन्छ ।’
प्राप्त भिडियोमध्ये उत्कृष्ट भिडियोलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजनकको भनाई छ । यस अन्र्तगत पब्लिक च्वाइस अवार्ड, बेस्ट स्त्रिmप्ट राइटर, वुमन भिडियो मेकर अफ द इयर, बेस्ट भिडियो अफ द इयर, बेस्ट टेक्निकल/सिनेम्याटोग्राफर, मोस्ट पोटेन्सियल डेस्टिनेशन, अ फिचर स्टार, मोस्ट इनरजेटिक भिडियो मेकर जस्ता विधामा पुरस्कृत गरिने बताइएको छ ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर तय गरिएको यस प्रतियोगितालाई आगमी दिनमा निरन्तरता दिने आयोजकको भनाई छ । गएको जनवरीदेखि मे ३१ सम्म चलेको यस अभियानलाई ‘मेरो गाउँ, मेरो ठाउँ’ नारा दिइएको थियो ।
सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष
मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरणको सन्देश फैलाउनु पर्ने उद्देश्य बोकेर किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराएका थिए । १३ औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाम गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत रेकर्ड छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौं) ले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगीले देशैभरीका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने कुनैपनि गाउँठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका कुनै एक विषयवस्तुमा केन्दि्रत रही अधिकतम पाँच मिनेटसम्म्को भिडियो बनाउन बनाउन भनिएको थियो । कुनै व्यक्ति समूह वा संस्थाले फरक फरक विषयवस्तुमा केन्दि्रत रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान राखिएको थियो । गत जानवरी १ सुरु प्रतियोगिता ३१ मे २०१९ सम्म चलेको थियो ।
देशैभरिबाट भिडियो सङ्कलनार्थ यस फाउण्डेशनले सातै प्रदेशका १६ ठाउँ काठमाडौं, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, विरगञ्ज, जनकपुर, इटहरी, विर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी पत्रकार सम्मेलन एवं अन्तरक्रियाको आयोजना गरेको थियो ।