Comments Add Comment

रानीपोखरीमा सानो पोखरी ! बढ्यो पानी जम्ने आश

भक्तपुर र साँखुको कालोमाटो यसरी राखिँदैछ

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

८ असार, काठमाडौं । भूकम्पले क्षति पुर्‍याएको रानीपोखरी यतिबेला ‘पोखरी’का स्वरुपमा छैन । पुनर्निर्माणको बहानामा सुकाइएको पोखरी सुख्खा चौर जस्तै छ ।

तर काठमाडौं महानगरपालिकाले जिम्मा लिएर अस्तव्यस्त बनाएको रानीपोखरीमा अहिले भने पुनर्निर्माणले गति लिएको छ । पुनर्निर्माण प्राधिकरणले आफैंले जिम्मा लियो र स्थानीय उपभोक्ता समिति बनाएर काम थालिएको छ ।

अहिले भक्तपुरका कालीगढ र कामदार पोखरीलाई पुरानै स्वरुपमा फर्काउन मेहनत गरिरहेका छन् । विहान १० बजेबाट सुरु हुने काम बेलकी ६ बजेसम्म चल्छ । आगामी तिहारसम्म पोखरीमा पानी भर्ने योजनासहित काम भइरहेको बताउँछन् रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधर ।

तर, रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा बनाउने भनिएपनि पुनर्निर्माणको लागि ठेकेदार छनोट हुन नै बाँकी छ ।

पानी अड्याउनु चुनौतिपूर्ण

स्थानीयको भनाइ मान्ने हो भने मन्दिरभन्दा पोखरी पुनर्निर्माण जटिल पनि छ । किनभने विगतमा सुकाउन नपर्ने पोखरी सुख्खा बनाए वरपर क्रंक्रिट ढलान हालिएको थियो । त्यही कारण रानीपोखरीमा पानी अड्याउन चुनौतिपूर्ण छ ।

पहिले रानीपोखरीको आफ्नै जलाधार थियो, तर अव्यवस्थित शहरीकारणले त्यसलाई खल्बल्यायो । पुननिर्माणका क्रममा गरिएको भौगर्भिक अध्ययनले पत्ता लगाएको छ कि अब रानीपोखरीको आफ्नै जलाधार (पानीको मूल) छैन ।

त्यसैले अन्यत्रबाटै पनी ल्याएर भर्नुको विकल्प छैन । यसरी ल्याइएको पानी चुहिएर नजाओस् भन्ने उद्देश्यका साथ विभिन्न प्रयोग भइरहेको सचिव तुलाधर बताउँछन् ।

पोखरीभित्रै जैविक परीक्षण

अहिले रानीपोखरीभित्र इँटा लगाएर एउटा सानो कृत्रिम पोखरी बनाइएको छ । त्यसको वरपर चारैतर्फ कालोमाटो राखिएको छ । कालोमाटो राखेर यसमा पानी भरिएको छ ।

रानीपोखरीमा देखिएको यो दृश्य धेरैलाई अनौठो लाग्छ । उपभोक्ता समितिका सचिव तुलाधर भन्छन्, ‘यो पानी अड्याउन कालोमाटोमार्फत गरिएको जैविक प्रयोग हो ।’

रानीपोखरीमा कसरी पानी अड्याउन सकिन्छ भन्नेबारे विज्ञले दिएको सुझावका आधारमा परीक्षण गरिएको हो । पानी हालेपछि चुहिएर नजाओस् भन्ने हेतुले रानीपोखरीको माथिल्लो सतह र भित्तामा कालोमाटो राख्ने योजना छ ।

रानीपोखरीको पहिलो सांस्कृतिक सतहलाई डेढ मिटर गहिर्‍याएर कालोमाटो बिछ्याउने तयारी छ । तर, कालोमाटोले काम गर्ने/नगर्नेबारे प्राधिकरणका इन्जिनियरहरु विश्वस्त थिएनन् । ठूलो लगानी गरेर बनाइने पोखरीमा पानी जमेन भने प्रश्न उठ्ने भएकाले इन्जिनियरहरुलेपहिल्यै परीक्षण गरेका हुन् ।

यो परीक्षणले रानीपोखरीमा कालोमाटो राखेर गर्न लागिएको काम सफल हुने देखाएको छ । किनकी यो नमूना पोखरीबाट पानी चुहिएको छैन । यसले कालोमाटो राखेर रानीपोखरीमा पानी अड्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

भक्तपुर र साँखुबाट कालोमाटो

रानीपोखरीका लागि भक्तपुर र काठमाडौंको साँखुको फाँटहरुबाट कालोमाटो ल्याइँदैछ । यसलाई सोही क्षेत्रमा मेसिनमार्फत मुछेर ल्याउने प्रवन्ध गरिएको छ ।

यो माटो वैज्ञानिक रुपमा परीक्षण गरेर उपयुक्त हुने प्रमाणित गरेपछि मात्रै ल्याउने गरिएको छ ।

हाल भित्ताका इँटे पर्खाल पुनर्निर्माणको काम हुँदैछ । जीर्ण भएको क्षेत्रको इँटा निकालेर भित्तामा कालोमाटो राखी फेरि इँटाको सुख्खा पर्खाल लगाउने काम भइरहेको छ । परम्परागत शैलीलाई कायम राख्न पर्खालको जगमा चुना सुर्की लगाएर ईंटा जोडिँदैछ ।

पोखरीको पिँधमा क्रसरहरुमा धोएकोभन्दा पनि उच्च गुणस्तरको बालुवा भेटिएको छ । यही बालुवाको तहमाथि कालोमाटो राखिनेछ । ‘यो ऐतिहासिक पोखरीको पुनर्निर्माणमा संलग्न हुन पाउनु हाम्रो अहोभाग्य हो,’ शिवनारायण मचामसी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment