
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन धकेलिए पनि साझा एजेण्डामा सोमबार साँझसम्म सहमति जुट्न सकेको छैन।
- मंसिरभित्र नियमित महाधिवेशन गर्ने विषयमा महामन्त्री गगन थापा र संस्थापनइतर पक्षबीच मतभेद छ।
- विशेष महाधिवेशन बोलाउने हस्ताक्षर अभियान जारी छ र मंगलबार ५१ प्रतिशत प्रतिनिधिको हस्ताक्षर पेश गरिने तयारी छ।
२७ असोज,काठमाडौैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन धकेलिए पनि छलफलका लागि प्रस्तुत गरिने साझा एजेण्डामा सोमबार साँझसम्म सहमति जुट्न सकेको छैन ।
आइतबारदेखि बोलाइएको केन्द्रीय समितिको बैठक मंगलबारका लागि सारिएको छ । केन्द्रीय समिति बैठकबाट सर्वसम्मत् पारित गर्ने गरी एजेण्डाहरू पहिल्याउन बैठकको समय सारिएको थियो ।
केन्द्रीय समितिबाट पारित हुने गरी शीर्ष तहमा सहमति खोजेर मात्रै एजेण्डा प्रस्तुत गर्ने प्रचलन कांग्रेसमा छ ।
पार्टीमा रहेको यही प्रचलन अनुसार वर्तमान र पूर्व पदाधिकारीको बैठक बुधबार र बिहीबारका लागि आह्वान गरिएको थियो । सभापति शेरबहादुर देउवा अनुपस्थित बैठकलाई शुक्रबारदेखि विस्तार गर्दै कार्यसम्पादनमा रुपान्तरण गरिएको थियो ।
शुक्रबारदेखि जारी कार्यसम्पादन समितिको बैठकमा समेत साझा एजेण्डा तय हुन सकेन । कार्यसम्पादनका सदस्यहरू सबै बोल्ने क्रम सकिएपनि निरन्तर राखिएको छ । आइतबारबाट कार्य सम्पादन समितिका सबै सदस्यले आफ्ना दृष्टिकोण राखिसकेका छन् ।
यद्यपि, बैठकको समयावधि लम्ब्याइएको छ । आज ११ बजेदेखि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित गरिएको छ । मंगलबार केन्द्रीय समिति बैठक बस्नु अघि कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।
केन्द्रीय समितिमा पेश गरिने एजेण्डाहरूमा सहमति जुटाउन आजको कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
मुख्य सचिव पौडेलले अनलाइनखबरसँग भने, ‘कांग्रेसको परम्परा केन्द्रीय समितिमा पेश गर्ने एजेण्डाहरूसर्वसहमतिमा बनाउने प्रचलन छ । त्यसको तयारीका लागि कार्यसम्पादन समितिको बैठक भोलिका लागि सारिएको हो ।’
मंगलबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको केन्द्रीय समितिमा पेश एजेण्डा हालसम्म तय हुन सकेको छैन । पार्टीभित्र दुई कित्तामा देखिएका नेताहरू आ–आफ्नो अडानमा यथावत् रहँदा साझा एजेण्डा तय हुन नसकेको जानकारी गराइएको छ ।
सोमबार दिनभर देउवा पक्षका नेताहरूको छुट्टै, महामन्त्री पक्षहरूको बेग्लै र सामूहिक संवाद भएपनि सहमति जुट्न नसकेको जानकारी गराइएको छ ।
संस्थापनइतरका एक शीर्ष तहका नेताले भने, ‘सभापतिको प्रस्ताव के हो ? अहिलेसम्म सुन्न पाएका छैनौं । विभिन्न समूह, उपसमूह, आफ्नो-आफ्नो बीचमा कुराकानीहरू भइरहेको छ । निष्कर्ष केही आएको छैन ।’
नेताहरूका अनुसार आज भोलि बिहान साझा एजेण्डा तय हुन नसके केन्द्रीय समितिको बैठक जारी रहेकै बेला त्यही बीचमा सहमति खोजिने छ ।
नियमित महाधिवेशन मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने दुई थरी विचारका कारणले सहमति जुट्न सकेको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षधर मंसिरभित्र नियमित महाधिवेशन गर्न जोड गरिरहेका छन् ।
महामन्त्री थापाले अनलाइनखबरसँग भने,‘मंसिरमा महाधिवेशन गर्न मज्जाले सकिन्छ । अरू दलले सक्ने कांग्रेसले नसक्ने भन्ने हुँदैन । कुन तरिकाहरू छिटो गर्न सकिन्छ भन्ने विधिमा भने छलफल गर्न सकिन्छ ।’
संस्थापन पक्षका नेताहरूले बैठकमा चुनावी तयारीले गर्दा मंसिरभित्र गर्न नसकिने विचार राखेका छन् । नियमित महाधिवशेन गर्न सकिने/नसकिने सन्दर्भमा भने स्वयं देउवाको भनाइ भने बाहिर आएको छैन । केन्द्रीय सदस्य नैनसिंह महर पार्टीभित्रको एकता कायम गरी चुनाव अघि नियमित महाधिवेशन गनुपर्ने धारणा राख्छन् ।
‘हामीले एकातिर नियमित महाधिवेशन गर्नुपर्नेछ । अर्कोतर्फ, चुनावी वातावरण पनि मिलाउनु पर्नेछ,’ महर भन्छन्, ‘चुनावमा कांग्रेस आफ्नो इज्जत प्रतिष्ठा सहित जानुपर्ने भएको हुँदा हाम्रा बीचको एकता नै जरुरी छ ।’
सभापति देउवा नेतृत्वको चारवर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । विधानले दिएको सुविधा अनुसार थप एक वर्ष थप्न नहुने अडानमा महामन्त्री थापा छन् । वर्तमान समितिको अवधि थप्ने अधिकार केन्द्रीय समितिलाई छ ।
महामन्त्री थापाले एक वर्षे अवधि थप्ने गरी पार्टी बैठकमा एजेण्डा प्रस्तुत नगर्ने बताइसकेका छन् । महामन्त्री थापाले शीर्ष र कार्यसम्पादन समितिको बैठकमा मंसिर मसान्तभित्र नियमित महाधिवशेन गर्ने गरी कार्यतालिका प्रस्तुत गर्ने जानकारी गराइसकेका छन् ।
महामन्त्री निकट एक नेताले सुनाए, ‘गगनजीले केन्द्रीय समितिमा राखेको एजेण्डालाई कि पारित गर्नुपर्यो । कि, फेल गर्नु पर्यो । महामन्त्रीको प्रस्ताव पारित हुन सकेन भने त्यसपछि के त ? भन्नुपर्यो नि ।’
नियमित महाधिवशेनबाट सबै संरचनामा नयाँ नेतृत्व आउने र पार्टी चलायमान हुने हुँदा त्यही बाटो अबलम्बन गर्नुपर्ने नेता कार्यकर्ताको जोड छ ।
महाधिवेशनमा नयाँ प्रतिनिधि चुनिने अवस्था हुँदा जेनजीले उठाएका मुद्धा समेत सम्बोधन हुने तर्क नेताहरूले गरेका छन् ।
नियमित महाधिवशेन हुन नदिने ‘प्रपञ्च’ गरिए अन्तिम विकल्प विशेष महाधिवेशन गर्नुपर्ने एक पक्षका नेताहरूको जोड छ ।
विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियानका अगुवा मध्येका एक गुरुराज घिमिरेले नियमित महाधिवशेनको सुनिश्चितता खोजेको बताए । ‘नियमित महाधिवशेन गर्नुभएन भने स्वतः विशेष महाधिवेशन त्यो बोलाउन परिहाल्यो । तर, उहाँहरू (संस्थापन) ले कुनै बेला पनि षड्यन्त्र गर्न सक्नुहुन्छ ।’
नियमित महाधिवेशन नभए तत्कालै विशेष महाधिवशेन बोलाउनुपर्ने माग राख्न पनि प्रतिनिधिको हस्ताक्षर संकलन जारी राखिएको छ ।
मंगलबार बस्ने केन्द्रीय समितिको बैठक अघि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर उपसभापति पूर्णबहादुर खड्कालाई पेश गर्ने तयारी गरिएको छ ।
केन्द्रीय सदस्य मधु आचार्यले बहुमत प्रतिनिधिहरूको हस्ताक्षर जुटिसकेको दाबी गर्दै मंगलबार पेश गर्ने जानकारी गराए । आचार्यले अनलाइनखबरसँग भने,‘यो समितिको चार वर्षे कार्यकालबाट एकदिन पनि थप्न हुँदैन । यही अवधि भित्रमा नियमित होस् वा विशेष महाधिवेशन हुनुपर्दछ ।’
विशेष महाधिवेशनले पार्टीभित्र विभाजन ल्याउने टिप्पणी समेत नेताहरूले गर्न थालेका छन् । नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवशेनले फुट ल्याउन भन्दै हस्ताक्षर अभियानको विरोध गरेका छन् ।
सभापति शेरबहादुर देउवाले एक समय विशेष महाधिवेशन बोलाएर पार्टी विभाजित गरेको दाबी गरे । उक्त बोलीको प्रतिवाद गर्दै केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘विधानमा भएको व्यवस्था अबलम्बन गर्दा कसरी पार्टी विभाजित हुन्छ ? लोकतन्त्रवादी पार्टीमा बहुमतको विचार स्वीकार्य हुन्छ । बहुमत रहेको शक्तिले पार्टी विभाजन गर्दैन ।’
दुबै पक्षका नेताहरु आ-आफ्नो अडानमा कायम रहनुको भित्री अन्तर्य चुनावमा टिकट बाँड्ने अभिप्रायले काम गरेको बुझाई समेत पार्टीभित्र छ ।
दुवै पक्षमा चुनावमा टिकट कसले बाँड्ने भन्ने भित्रि चाहनाले काम गरेको छ । कार्यसम्पादन समितिका एक सदस्य भन्छन्,‘त्यसैको द्वन्द्व हो । यो द्वन्द्व सजिलै समाधान होला जस्तो मलाई लाग्दैन ।’
प्रतिक्रिया 4