Comments Add Comment

‘भातको बास्ना थाहा थिएन, सामन्तसँग लड्दा राप्रपा बनेँ’

सांसद् राजेन्द्र लिङदेन भन्छन्– कसलाई राजा बनाउने, सहमतिमा बनाऔँ

८ असार, काठमाडौं । झापामा दुईपटक कांग्रेसका हस्ती कृष्णप्रसाद सिटौलासित चुनाव हारेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पछिल्लोपटक उनै सिटौलालाई हराएर प्रतिनिधिसभाको सांसद बने । संसदीय चुनावमा राप्रपाले लज्जास्पद हार व्यहोर्दा उनी संसदभित्र आफ्नो पार्टीका एक्ला प्रतिनिधि बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाको निगुरो, च्याउ र पानी खाएर हुर्केका सांसद लिङदेन सुकम्बासी वर्गबाट यो ठाउँसम्म आइपुगेका संघर्षशील नेता हुन् । सुकुम्बासी र गरीबहरु प्रायः कम्युनिष्ट बन्ने गरेको झापा जिल्लामा लिङदेन चाहिँ कसरी कम्युनिष्ट बन्न छुटे ? रोचक त के छ भने सामन्तहरुसँगै संघर्ष गर्ने क्रममा आफू गैरकम्युनिष्ट राजनीतिमा लागेको लिङदेनको प्रतिक्रिया छ ।

आर्थिकरुपमा अत्यन्तै कमजोर पारिवारिक पृष्ठभूमिबाट उठेका नेता ‘सर्वहारा’ लिङ्देनलाई बहुदल कालमा ‘ज्यान मुद्दा’ लाग्यो । जनयुद्धकालमा माओवादीले घरमा आगो लगाइदिए । गणतन्त्र आएपछि सात दलका कार्यकर्ताले कुटपिट गरे । आफूले पाएको यी भुक्तमानहरु अनलाइनखबरसँग सेयर गर्दा लिङदेन भक्कानिए ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खुलेर विरोध गरे, जसलाई हामीले यस अन्तरवार्तामा जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । जनजाति नेता भएर पनि उनले जातीय आरक्षणको विरोध गरे । धर्म निरपेक्षताको विरोध गर्दै हिन्दु राष्ट्रको वकालत गरे ।

रुखको ठुटामा च्याउ टिपेपछि फेरि कहिले पलाउँछ, निगुरोको मुन्टो चुँडेपछि फेरि कहिले अर्को उम्रिन्छ र अर्कोले टिपेर नलगोस् भन्दै रुँगेर छाक टारेर आएको हुँ

 नेपालमा राजसंस्था चाहिन्छ भन्ने लिङदेनलाई हामीले ज्ञानेन्द्रलाई नै राजा बनाउने कि नयाँ शिराबाट सोच्ने भनेर सोध्दा उनको जवाफ छ– ‘उहाँ (ज्ञानेन्द्र) नै हुने वा उहाँको परिवारभित्रबाट अरु कसैलाई बनाउने भन्नेमा राजनीतिक सहमति गर्न सकिन्छ ।’

प्रस्तुत छ, फरक धारका राजनीतिक नेता एवं राप्रपाका एक्ला सांसद लिङ्देनसँग गरिएको अन्तरंग संवाद:

पहिलोपटक चुनाव जितेर गणतान्त्रिक संसदमा छिर्नुभयो । सोचेभन्दा के फरक पाउनुभयो ?

म यसअघि दर्शकका रुपमा पनि संसदभित्र छिरेको थिइनँ । त्यसैले एकप्रकारको कौतुहल त थियो नै । तर, मैले अहिलेसम्मको अनुभवका आधारमा भन्नुपर्दा जे अपेक्षा गरेको थिएँ, त्यस्तो पाइनँ ।

के अपेक्षा गर्नुभएको थियो ?

संसद भनेको एउटा गरिमापूर्ण र देशको सर्वोच्च संस्था हो । यसले देशलाई नै दिशानिर्देश गर्छ । तर, यहाँभित्र संसदहरु पार्टीको नीति बन्धकजस्तो हुँदा रहेछन् । मनमा एउटा कुरा भए पनि मुखले पार्टी लाइनमा बोल्नुपर्ने वाध्यता धेरैजसोमा पाएँ । धेरै सांसदहरुले अनिच्छापूर्वक नै कतिपय कुराहरु पास गर्न टेबुल ठोक्दा रहेछन् । यस हिसाबले संसद सार्वभौम हुन्छ भन्ने सिद्धान्त व्यवहारमा देखिनँ । अनि कतिपय सांसदहरुमा अध्ययनको कमी हो वा तयारीको कमी हो, बोल्दा पनि खासै महत्वको चिज नआउने ।

पार्टी नीतिविपरीत त तपाईंले पनि बोल्न मिल्दैन होला नि ?

म पार्टीको नेतृत्व तहमा नै भएकाले नीति तय गर्नमा मेरो पनि भूमिका हुन्छ । त्यसैले पार्टी लाइन र मेरो व्यक्तिगत दृष्टिकोणमा खासै फरकपना आउँदैन ।

पार्टीको एक्लो संसद हुँदा आफ्नो आवाज दबिएको वा बेवास्ता गरिएको महसुस भएको छ कि छैन ?

कतिपय सन्दर्भमा एक्लो हुनुपर्दाका असुविधाहरु छन् । तर, मैले आफूलाई साह्रै कमजोरचाहिँ महसुस गरेको छैन । बरु मेरो आवाज सांसदभित्र प्रखर सुनिन्छ, किनकि मेरो विचार अरुको भन्दा फरक हुन्छ । वास्तवमा भन्नुपर्दा म त वैचारिक हिसाबले संसदभित्रको एक्लो प्रतिपक्षी हुँ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता कथित परिवर्तनका एजेन्डाहरुमा खुलेर विमति राख्ने ममात्रै हुँ । त्यसैले मैले बोल्दा धेरैको ध्यानाकृष्ट हुन्छ ।

ध्यानाकृष्ट मात्रै हुन्छ कि बोलेको कुराले केही असर पनि गर्छ ?

राष्ट्रिय राजनीतिका कुराहरुमा मैले बोल्दा त्यसले एक प्रकारको तरंग पनि ल्याएको छ । त्यसवाहेक आफ्नो क्षेत्रविशेषका कुराहरुमा आवाज उठाउँदा सम्वोधन पनि भएकै छ । अर्को कुरा, म बोल्नकै लागि बोल्दिनँ । बोलेका कुराहरुले संसदको समय मात्रै बर्बाद गर्नुहुँदैन भन्नेमा सचेत छु । त्यसैले मैले बोलेका कुरा कम खेर गएका छन् ।

संसदमा जाँदा पहिरनमा चाहिँ कत्तिको ध्यान दिनुहुन्छ ?

देशको गरिमामय सभामा औपचारिक पोशाक तय हुनुपर्छ भन्ने मेरो मान्यता छ । म सधैँ नेपाली राष्ट्रिय पोशाक (दौरा सुरुवाल कोट टोपी) लगाएरै संसदमा जान्छु । कहिलेकाहीँ जिल्लाबाट काठमाडौं आउँदा प्लेन डिले भएर ढिला हुन्छ । त्यतिबेला कोठामा गएर लुगा चेन्ज गर्न नभ्याउने स्थिति भयो भने बरु म संसद नै जान्न । तर, अनौपचारिक पोशाक लगाएर भित्र पस्दिनँ ।
भनेपछि संसदभित्र पोशाकको स्वच्छन्दता तपाईंलाई मन परेको छैन ?

पटक्कै छैन । संसदभित्र जाँदा सिनेमा हेर्न गएको पाराले त आउनु त शोभनीय हुँदैन नि । दौरासुरुवाल नै नलगाए आफ्नो जातिको सांस्कृतिक पहिरन लगाउँदा हुन्छ । एकदमै रफ पाराले आउँदा संसदकै गरिमामा असर गर्छ ।

पोशाकको मात्रै नभएर भाषाको पनि एकरुपता हुनुपर्छ भन्ने मान्यता राख्छु म । सबैले राष्ट्रिय भाषा नेपाली नै बोल्दा राम्रो हो नि । किनकि त्यो सबै जनताले बुझ्छन् । तर, भाषामा मनपरी छ । मधेसका सांसदहरुले हिन्दी भाषा बोल्नुहुन्छ, जुन नेपालको कुनै पनि समुदायको मातृभाषा होइन । यस्ता कुराहरुले चित्त दुख्छ ।

तपाईंले केपी ओलीको कृपामा चुनाव जित्नुभएको भन्छन् । के त्यतिबेला नेकपासित गठवन्धन नगरेको भए जित्ने आशा राख्न सक्नुहुन्थ्यो ?

हामीले जित्ने नै उद्देश्य राखेका थियौं । ०७० सालको चुनावमा पनि म निकटतम प्रतिद्वन्द्वी थिएँ । नयाँ संविधान जारी भएपछिको स्थानीय चुनावमा मेरो निर्वाचन क्षेत्रको चारमध्ये दुईवटा स्थानीय तहमा राप्रपा एक्लैले जितेको हो । त्यसैले गठवन्धन नहुँदा पनि जित्नेमा हामी आशावादी थियौं । तर, गठवन्धन भएपछि जित सुनिश्चित बन्यो ।

यदि केपी ओलीले मलाई जिताएको मान्ने हो भने उहाँलाई पनि हामीले जिताएको मान्नुपर्‍यो । राप्रपाले उहाँलाई समर्थन गरेको थियो । उहाँको क्षेत्रको सबैभन्दा ठूलो दमक नगरपालिमामा राप्रपाको साढे ८ हजार भोट थियो ।

त्यसैले यसरी लिनुभन्दा पनि नेकपाको समर्थनले झापा १ मा मलाई सजिलो भयो र अन्य क्षेत्रमा राप्रपाको समर्थनले नेकपालाई सजिलो भयो भनेर सोच्दा यथार्थपरक हुन्छ ।

तपाईं सिद्धान्तमा निकै दृढ देखिनुहुन्छ । तर, चुनावमा राप्रपाजस्तो राजतन्त्रवादी पार्टीले नेकपाजस्तो कम्युनिष्ट पार्टीसित गठवन्धन गर्नु असैद्धान्तिक थिएन ?

त्यो गठवन्धन दीर्घकालिन होइन । हामीले त्यसलाई सैद्धान्तिक आवरण पनि दिएनौं । त्यो केवल चुनावमा जित सुनिश्चित गर्न गरिएको रणनीतिक साझेदारी थियो ।

त्यसोभए त्यसलाई अवसरवादी गठवन्धन भन्दा हुन्छ ?

त्यसो होइन । आवश्यकताका आधारमा गरिएको सहकार्य भनौं न ।

देशभर कांग्रेस र राप्रपाबीच गठवन्धन हँुदा झापामा चाहिँ नेकपाले तपार्इंलाई गुन लगाउनुमा केपी ओलीको तपाईंप्रति व्यक्तिगत सदासयताले काम गरेको हो ?

अहँ । विगतमा उहाँसित मेरो कुनै विशेष सम्वन्ध थिएन । गठवन्धन हुनुभन्दा अगाडि उहाँसित एकचोटि भेटेको हो, त्यो पनि सामुहिक रुपमा । त्यतिबेला उहाँले मलाई नोटिस पनि गर्नुभयो कि गर्नुभएन । त्यसपछि एकैचोटि चुनावी सभामा भेट भएको हो । उहाँले मेरो क्षेत्रमा आएर भाषण गर्नुभयो, मैले उहाँको क्षेत्रमा भाषण गरेँ । यस क्रममा केही अन्तरंग कुराकानी भए । त्यत्ति हो ।

लगातार दुईपटक कांग्रेसका कृष्ण सिटौलासँग हार्नुभयो । यसपालि उहाँलाई नै जितेर सांसद बन्दाको आत्मसन्तुष्टिलाई शब्दमा कसरी वर्णन गर्नुहुन्छ ?

उहाँप्रति मेरो कुनै व्यक्तिगत दुश्मनी होइन । तर, वैचारिकरुपमा हामी विपरीत धारमा थियौं । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको प्रस्ताव नै उहाँले सांसद नै नहुँदा पनि संसदभित्र गएर राख्नुभएको हो । म यी तीनै चिजको विरोधी । त्यसैले यो व्यक्तिगत मात्र नभएर एजेन्डाहरुको पनि लडाईं थियो ।

मेरो जितले गतिलै सन्देश गयो भन्ने ठानेको छु । ०५६ साल र ०७० सालको चुनावमा उहाँले मलाई हराउनुभएको थियो । त्यसैले उहाँलाई नै जितेर संसद बन्ने धोको त थियो नै । चुनावमा जब सिटौलाजी मेरोविरुद्ध उठ्ने हुनुभयो, त्यतिबेला पत्रकारहरुले मसित प्रतिक्रिया मागेका थिए । त्यतिबेला हाम्रो कांग्रेससित गठवन्धन तोडिएको र नेकपासित नजोडिएको अवस्था थियो । तैपनि मैले मिडियालाई आत्मविश्वासपूर्वक भनेको थिएँ, ‘सिटौलासित लडेर जित्ने मेरो इच्छा यसपालि पूरा हुनेभयो । नभन्दै सफल पनि भएँ ।’

सिटौला र तपाईंको सम्वन्ध कति पुरानो हो ?

हामी एउटै जिल्लावासी भएको नाताले सम्वन्ध त हुने नै भयो । सानैदेखिको चिनजान हो । हाम्रो घर त्यस्तै ८/१० किलोमिटरको दुरीमा होला । तर, राजनीतिक आस्था फरक भएकाले होला, हामीबीच घनिष्ठता चाहिँ कहिल्यै भएन । उहाँ प्रायः काठमाडौं बस्नुभयो, मैले झापामै बसेर राजनीति गरेँ । त्यसैले पनि निकटता भएन ।

विगतमा तपाईंलाई मुद्दा लाग्दा उहाँले बहस गरेर सफाइ पाउनुभएको कुरा कति साँचो हो ?

त्यो साँचो हो । उहाँ पहिले वकालत गर्नुहुन्थ्यो । म स्कुल पढ्दै गर्दा एउटा झूठा मुद्दामा मलाई जेल हालिएको थियो । त्यसमा उहाँले मेरोतर्फबाट बहस गर्नुभएको हो । र, अदालतले मलाई सफाई दिएको थियो ।

तर, दुःखको कुरा अस्ति चुनावमा उहाँले यसैलाई एजेन्डा बनाउन खोज्नुभयो । मलाई ज्यानमारा भनेर प्रचार गर्नुभयो । जबकि उहाँले नै बहस गरेर म निर्दोष सावित भएको थिएँ ।

चुनाव जितेपछि उहाँले तपाईंलाई भेटेर वा कुनै माध्यमबाट बधाई दिनुभयो ?

अहँ । त्यो सौभाग्य मलाई प्राप्त भएन । चुनावपछि एकैचोटि करिब दुई महिना अगाडि भेट भयो । एक घन्टाजति गफ भयो । तर, हामीबीच चुनावको कुरा भएन ।

तपाईंको राजनीतिक जीवन कसरी सुरु भएको हो ?

पहिले मेरो पृष्ठभूमि बताउँछु ।

मेरो पुख्र्यौली घर पाँचथरको अमरपुर हो । म जन्मेको चाहिँ ताप्लेजुङको ढुंगेसाँघुमा, ०२२ सालमा । बुवा पहिले पुलिसमा हुनुहुन्थ्यो रे । बुवाको जागिरको सिलसिलामा ताप्लेजुङ बस्दा म जन्मेको । तर, मैले सम्झिने उमेरमा बुवाले जागिर छोडिसक्नुभएको थियो ।

परिवारको जग्गा–जमिन थिएन । जागिर छाडेपछि बुवालाई परिवार पाल्न धौधौ भयो । पहाडमा कोदो पनि खान नपुग्ने भएपछि ०३० सालमा हामी मधेस झर्‍यौं ।

झापाको अहिलेको शिवसतासीको गैंडे भन्ने ठाउँमा बस्यौं । त्यहाँ वन फँडानी गरेर बुवाले सानो छाप्रो हाल्नुभयो । तर, सरकारले हामीलाई वन अतिक्रमणकारी भनेर त्यहाँबाट धपायो । पछि सुकुम्बासीका रुपमा गोलधापमा सरकारले नै जग्गा दियो र त्यहीँ बुवाले घर बनाउनुभयो । म त्यही घरमा हुर्किएँ । त्यहीँबाट मेरो औपचारिक शिक्षा र राजनीतिक जीवन प्रारम्भ भयो ।

झापा आएपछि चाहिँ पहाडको भन्दा सहज भयो ?

म निकै दुःखमा हुर्केको हुँ । एकदमै निम्नवर्गीय मानिसले भोग्ने सबै पीडा भोगेको छु । आमा सानैमा बित्नुभयो । बुवाले कान्छीआमा ल्याउनुभयो । बिहान खाए बेलुका के खाने भन्नेखालकै अवस्था थियो । सरकारले दिएको जग्गामा थोरै खेतिपाती गर्नुभएको थियो बुवाले । त्यसले खान नपुग्ने ।

रुखको ठुटामा च्याउ टिपेपछि फेरि कहिल्यै पलाउँछ, निगुरोको मुन्टो चुँडेपछि फेरि कहिले अर्को उम्रिन्छ र अर्कोले टिपेर नलगोस् भन्दै रुँगेर छाक टारेर आएको हुँ । सानोमा मसिना चामलको भात खान पाइएन । बुवाले सानो झोलामा बगडा चामल ल्याउनुहुन्थ्यो, केजीमा पनि होइन, पाउमा । त्यही उमालेर छाक टारिन्थ्यो ।

अनि राजनीतिमा किन र कसरी लाग्नुभयो ?

मेरा बुवामा पनि अलिअलि नेतृत्वको गुण थियो । सुकुम्वासी बस्तिमा गइसकेपछि त्यहाँ के देखियो भने मुठ्ठीभरका केही सामन्तहरुले सिंगो गाउँको आम्दानी खाएर बसेका रहेछन् । बुवाहरुले त्यसको विरोधमा अगुवाई गर्न थाल्नुभयो । म अलिअलि बुझ्ने भइसकेको थिएँ । मेरो कलिलो मस्तिष्कमा के छाप पर्‍यो भने हामी भनेका शोषित हौं र उनीहरु भनेका शोषक हुन् ।

जब ०३६ सालमा जनमतसंग्रहको घोषणा भयो, शोषकहरु सबै बहुदलको पक्षमा उभिए । प्रचारमै हिँडे । त्यसैले बहुदल भनेको शोषक र सामन्तीलाई चाहिएको व्यवस्था रहेछ भन्ने मेरो बुझाइ हुन गयो ।

सामन्तीहरुले मेरा बुवालाई अनेक बाहानामा मुद्दा लगाएर दुःख दिन्थे । म अलि ठूलो भएपछि मलाई पनि मुछ्न थाले । एसएलसी दिनुअगाडि नै मलाई एउटा कुटपिटको घटनामा जबरजस्ती मुछेर दुई महिना जेल हालियो । यसले गर्दा मेरो मनमा उनीहरुप्रति विद्रोहको भाव बढ्दै गयो । यही भावनाले मलाई राजनीतिमा धकेल्यो ।

प्रायः शोषक–सामन्ती पुरानो व्यवस्थाको पक्षधर हुने र गरिब निमुखाहरु कम्युनिष्ट पाटीृमा लाग्ने र परिवर्तनको पक्षमा उभिने गरेको पाइन्छ । तपाईंको हकमा उल्टो कसरी भयो ?

हो, त्यस्तै भयो । त्यतिबेला म कांग्रेस र कम्युनिष्ट भनेको त्यति सुन्दिनथेँ । बहुदल र निर्दल नै सुनिन्थ्यो । हामीसहित गाउँका धेरै मानिसहरु निर्दलको पक्षमा उभियौं । मैले त भोट दिन पाउने थिइनँ । तर, पनि त्यही जनमतसंग्रहले मभित्र राजनीतिक जागरण पैदा गर्‍यो ।

अनि, राजनीतिक जीवन कसरी अगाडि बढ्यो ?

एसएलसी पास भएपछि मेची क्याम्पसमा पढ्न थालेँ । त्यहाँ राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भएँ । त्यस क्याम्पसमा अखिल र नेविसंघको पकड बलियो थियो । हामीलाई मण्डले भन्थे । तर, हामीले निकै मिहिनेत गरेर क्याम्पसभित्र हाम्रो संगठन निर्माण गर्‍यौं । स्ववियु चुनावमा म सभापतिमा लडेँ । ३६ सय विद्यार्थी मतदाता भएको क्याम्पसमा मैले १३/१४ भोटले हारेँ ।

विद्यार्थीकालमै प्रधानपञ्चको चुनाव पनि लड्नुभएको होइन ?

हो । केवल २० वर्षको थिएँ । कानुनअनुसार २१ वर्ष हुनुपथ्र्यो प्रधानपञ्च लड्न । त्यतिबेला उमेर सच्याउन अलि सजिलो थियो । त्यसैले एक बर्ष उमेर बढाएर लडेको हुँ । प्रतिस्पर्धामा आफ्नै स्कुलका हेडमास्टर हुनुहुन्थ्यो । उहाँले १४ भोटले जित्नुभयो । अहिले उहाँको नजिकका व्यक्तिहरुले त्यतिबेला तँलाई गन्तीमा हराइदिएका हौं भन्छन् । खोई पत्याउने कि नपत्याउने ?

०४६ सालको काण्ड चैं के हो ? हत्या प्रकरणमा मुछिएर तपाईं जेल पनि बस्नुभयो क्यारे ?

त्यसमा पनि मलाई फसाइएको थियो, जसमा मैले पछि सफाई पाएँ ।

भयो के भने देशभर जनआन्दोलन सुरु भएपछि सारा क्याम्पसहरु बन्द भए । तर, मेची क्याम्पसमा चाहिँ त्यसको असर परेन । पढाई सुचारु नै भयो । त्यसैले आन्दोलनकारीका लागि यो प्रतिष्ठाको विषय बनेको थियो ।

त्यही क्रममा चैत १४ मा उनीहरुले दंगा मच्चाए, जहाँ राम थापा भन्ने व्यक्तिको मृत्यु भयो । ऊ कुनै संगठनको व्यक्ति होइन । हुलमुलमा कसैले छुरी हानेछ । म घटनास्थलमा नै थिइनँ ।

तर, जब २६ चैतमा प्रजातन्त्र आयो, यो घटनालाई आन्दोलनकारी शक्तिले राजनीतिक प्रतिशोध साँध्न प्रयोग गरे । मुद्दाको स्वरुप उल्टाएर जबरजस्ती मलाई मुछियो ।

अर्को रोचक कुरा, जिल्ला बार संगठनले यो मुद्दामा मेरो पक्षबाट बहस नगर्ने निर्णय गर्‍यो । यो निर्णय गराउनमा कृष्ण सिटौलाकै हात थियो । उहाँ त्यतिबेला कानून व्यवसायीका रुपमा बारमा हुनुहुन्थ्यो । यसरी मलाई मुद्दा लड्न वकिल राख्ने सुविधाबाट पनि वञ्चित गरियो ।

अनि कसरी जित्नुभयो त मुद्दा ?

म आफैंले अदालतमा उपस्थित भएर सफाइ दिएँ । मुलुकी ऐनको १७ (३) अनुसार सजायँको मागदावी गरिएको थियो । त्यो भनेको हत्याको आरोप नभएर हत्यामा अप्रत्यक्ष सघाएको भन्ने आरोप हो । यदि आरोप प्रमाणित भए पनि ६ महिना जेल बस्नुपर्ने हुन्थ्यो । मैले सफाइ पाएँ, तर मुद्दाका क्रममा ५ महिना जेल बसिसकेपछि । यस्तोमा क्षतिपूर्ति पाउने नेपालको कानूनमा थिएन ।

जेलबाट निस्केपछि राजनीति छोडौंजस्तो लागेन ?

पटक्कै लागेन । राजनीतिमै आफूलाई होम्ने प्रण गरिसकेको थिएँ । जेलबाट छुटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएँ । जिल्ला कार्यसमिति सचिवको जिम्मेवारी पाएँ । बहुदलकालमा दुईपटक स्थानीय चुनावमा निर्वाचित वडाध्यक्ष भएँ । आफ्नो जिम्मेवारीमा सधंै खरो उत्रिएँ । गाउँवासीको मन जितेर काम गरेँ ।

अनि आर्थिक अवस्था कहिलेबाट सप्रियो ?

पछिसम्मै दुःख थियो । एउटा घटना सुनाउँछु ।

म काम विशेषले काठमाडौं आएको थिएँ । सुरेन्द्र रञ्जितकार भन्ने साथीको डेरामा बस्थँे । मलाई एकाएक खोकी लाग्न थाल्यो र मुखबाट रगत आउन थाल्यो । साथीले भन्यो ‘टीभी हुन सक्छ, अस्पताल जाउँ ।’

उसले मलाई टिचिङ अस्पताल लग्यो । एकजना भर्खरका डाक्टरले जाँचे । सामान्य चेकजाँच गरेको भरमा उनले मलाई टीबी नै लागेको ठहर्‍याए र औषधि लेखिदिए ।

त्यतिबेला टीबीलाई डरलाग्दो रोग मानिन्थ्यो । त्यसैले मेरो मन आत्तियो । डाक्टरले ठीक समयमा औषधि खानुपर्ने र फलफूल प्रशस्त खानुपर्ने भनेका थिए । तर, मेरो दुईछाक खानाकै ग्यारेन्टी नभएका बेला फलफूल कसरी खानु ? म एकदम निराश भएँ । बाँच्दिनँ क्या हो झंै लाग्न थाल्यो । अस्पतालबाट बसमा फर्किँदै गर्दा अनेक तर्कना मनमा आए । आँखाबाट बर्बरी आँशु झरे ।

केही दिनमा घर फर्किएँ । नारायण ओली भन्ने एकजना प्रधानपञ्च हुनुहुन्थ्यो । म काका भन्थेँ । उहाँलाई भेट्न गएँ । मलाई यसो हेरेर भन्नुभयो, ‘किन यसरी दुब्लाएको बाबु ?’

हुन पनि म दुब्लाएर लहरोजस्तो भएको थिएँ । मैले आफ्नो बेदना काकासँग पोखेँ । ‘डाक्टरले टीबी लाग्यो भन्छ, बाँच्दिनँ कि क्याहो’ भन्दै घोसेमुन्टो लगाएँ ।

काकाले यसो सोचेर भन्नुभयो, ‘तँलाई टीबी त नलाग्नुपर्ने हो, डाक्टरले राम्रोसित जाँचेन कि क्या हो । मैले चिनेको एउटा राम्रो डाक्टर छ, उसकहाँ जाउँ ।’

भोलिपल्ट उहाँले आफ्नो मोटरसाइकलमा राखेर मलाई मेची अञ्चल अस्पतालमा लैजानुभयो । त्यहाँ डा. अक्सारीले मलाई राम्ररी जाँच्नुभयो । मेरो आनीबानी र कुलतबारे सोध्नुभयो । म रक्सी चुरोट त के, सुपारी पनि नखाने मान्छे । यद्यपि, एक्सरे गर्दा छातीमा सानो दागजस्तो देखियो ।

‘यो बच्चा बेलाको निमोनियाको दाग होला । तिमीलाई टीबी छैन, ढुक्क भएर जाउ । तर, जिउ सुकेको छ, अलि डाइट खानुपर्छ,’ उहाँले भन्नुभयो ।

नारायण काकाले मलाई फेरि उहाँकै घरमा लैजानुभयो । अनि आफ्नो जहानलाई भन्नुयो, ‘यो भतिज अब सँधै राति हाम्रो घरमा खान आउँछ । जतिबेला आए पनि ढोका खुल्ला राख्नु ।’

मलाई पनि भन्नुभयो, ‘बिहान तिम्रो के–कसो हुन्छ, नमिल्ला । राति चाहिँ सधैं खाना खान आउ है ।’

त्यसदिन देखि म राति–राति नारायण काकाकोमा खान जान थालेँ । एउटा सम्पन्न परिवारको खानपान कस्तो हुन्छ भन्ने थाहा पाएँ । मलाई त्योभन्दा अघिसम्म भातबाट पनि बास्ना आउँछ भन्ने थाहा थिएन । (यसो भन्दै गर्दा लिङ्देनका आँखा रसाए र निकैबेर गला अवरुद्ध भयो) ।

मैले त मसिना चामलको भात नै कहिले खान पाउँथेँ र । डेराको बसाईमा कैयौं रात भोकभोकै सुतिन्थ्यो । खाजा त डिक्सनरीमा नै थिएन । यस्तो अभावमा बाँचिरहेको मलाई मगमग बास्ना आउने भात पेटभरि खान पाउँदा त स्वर्गतुल्य भइहाल्यो । केही दिनमै मेरो ज्यान तंग्रियो । ‘टीबी’ त कता भाग्यो भाग्यो । मान्छे नै अर्कै भएँ ।

त्यसको केही समयपछि मैले एउटा पत्रिकामा रिपोर्टरको काम गरेँ । ६ सय रुपैयाँ तलव आउन थाल्यो । अनि मैले बिहान होटलमा खान थालेँ । यसरी बल्ल मेरो दैनिक दुई छाक सुनिश्चित भयो ।

नारायण काकाकहाँ कतिञ्जेल खाना खानुभयो ?

०४६ सालसम्म । मेरो बीएको पढाइ सकेर काठमाडौं आएपछि हो त्यो सिलसिला छुटेको ।

बीएपछि पढाई छोड्नुभयो ?

मैले राजनीतिसँगै पढाइलाई पनि उत्तिकै महत्व दिएको थिएँ । राम्रो राजनीति गर्न पनि पढ्नुपर्छ भन्ने थियो । राजनीतिशास्त्र लिएर स्नातक तहसम्म मेची क्याम्पसमा अध्ययन गरेँ । पढाईलाई धेरै समय दिन नपाउने हुनाले उत्कृष्ट हुने अवसर चाहिँं मसित थिएन । तैपनि राम्रै अंक ल्याएर पास भएँ ।

बीएपछि एमए पढ्न काठमाडौं आएँ । कीर्तिपुर क्याम्पसमा भर्ना भएँ । तर, आर्थिक संकट पर्‍यो । घरबाट सहयोग हुने अवस्था थिएन । यता जागिर पनि पाइएन । त्यसैले पैसाको अभावमा पढाईलाई निरन्तरता दिने अवस्था नरहेपछि एमएको पढाई थाती राखेर गाउँ फर्किएँ । अनि व्यवसायमा लागेँ ।

कस्तो व्यवसाय ?

होटल चलाएँ, साथीभाइसँग मिलेर । बैंकबाट लोन लिएर ठुलै लगानी पनि गरेका थियौं । त्यतिबेलाको २० लाख भनेको सानो होइन । तर, सुरुमा होटल चलेन । घाटा लाग्दै जाँदा साथीसँग नराम्रो होला भनेर उसको लगानी फिर्ता गरिदिएँ र होटल एक्लैले लिएँ । बिस्तारै व्यवसाय फस्टायो । बैंकको लोन ४५/५० हजार तिरेर मेरो गुजारा राम्रै चल्थ्यो । तर, त्यो पनि …

के भयो होटल ?

माओवादीले बम हानेर ध्वस्त बनाइदिए ।

तपाईंको घर पनि जलाइएको होइन ?

हो । त्यो म झापाको जिविस सभापति हुँदा ०६१ सालको घटना हो ।

कसरी भएको थियो, विस्तृतमा बताइदिनु न ?

राजा ज्ञानेन्द्रको शासनकालमा म झापाको जिविस सभापति भएँ । क्वार्टरमा एक्लै बस्ने गर्थेँ । श्रीमती र दुई छोराछोरी घरमै बस्थे । म दुई–तीन दिन बिराएर घर जाने गर्थेँ । छोरा सानो थियो । उसको न्यास्रो लागिरहन्थ्यो ।

त्यतिबेला मोबाइल थिएन । मसित कर्डलेस थियो । एक दिन बिहान ४ बजेतिर फोन आयो । मेरो गाउँको छिमेकीले गर्नुभएको रहेछ । ‘घर त सिध्याए है हजुर’ भन्नुभयो । म आत्तिएँ । अनि मेरो परिवार ? भनेर सोध्दा सबैजना सुरक्षित छन् भन्नुभयो ।

रातिको घटना रहेछ । माओवादीको समूह म घरभित्रै छु भन्ने अनुमान गरेर आएका रहेछन् । मेरी श्रीमती, छोरी र छोरा सुतिसकेका बेलामा उठाएर घरबाट बाहिर निकालेछन् । घरभित्रका केही मूल्यवान सामान कब्जामा लिएछन् । अनि मेरी श्रीमतीसितै मट्टीतेल मागेर घरमा आगो लगाइदिएछन् । त्यतिले नपुगेर बम पनि पड्काएछन् ।

अनि गाउँलेहरु जम्मा भएछन् । आत्तिएर मलाई भोलिपल्ट उज्यालो भएपछि मात्रै खबर गर्ने सल्लाह गरेछन् । मेरी श्रीमती र छोराछोरी छिमेकीकहाँ आश्रय लिइरहेका रहेछन् ।

म हतार–हतार घर गएँ । श्रीमतीलाई छिमेकी दिदीबहिनीले साडी फेराइदिनुभएको रहेछ । छोराछोरीको आङमा लुगासमेत थिएन । सुतेकै लुगामा बाहिर निकालिएको रहेछ । उनीहरुको अवस्था देखेर मेरो गहभरि आँशु भरियो ।

मैले उनीहरुलाई गाडीमा राखेर क्वार्टरमा ल्याएँ । त्यतिबेला जिविसबाट मेरो मासिक ७ हजार तलव आउँथ्यो । ५ हजार रुपैयाँ पेस्की मागेर बजार गएँ अनि बच्चाहरुलाई दुई जोर कपडा किनेर ल्याएँ । उनीहरु मसँगै क्वार्टरमै बस्न थाले । तर, क्वार्टरको बसाई सधंैलाई थिएन ।

कति समय जिविस सभापति खानुभयो ?

दुई कार्यकाल गरेर जम्मा १४ महिना । दोस्रो जनआन्दोलनपछि मलाई हटाइयो ।

जिविस सभापतिबाट हटेपछि कहाँ बस्नुभयो त ?

म केही समय साथीभाइकहाँ बसेँ, श्रीमती र छोराछोरी आफन्तकहाँ । म डेराको खोजीमा लागेँ । डेरा पाउन साह्रै गाह्रो भयो । झापामा हामीलाई माओवादीले खेदिरहेका छन् भन्ने थाहा पाएर कसैले पनि डेरा दिन चाहेनन् । अघिल्लो दिन बुक गरेर गयो, पनि भोलिपल्ट ‘नमिल्ने भयो’ भन्थे । ‘तिमीहरुको घरमा पनि आक्रमण गर्लान् है’ भनेर अरुले तर्साउँदा रहेछन् ।

बल्लबल्ल एउटा फ्ल्याट पाइयो । त्यो पनि कसरी भने जुन दिन कुरा भयो, त्यही दिन सामान ओसारिहालेँ । एक दिनमात्रै पर्खेको भए पनि नदिन सक्थे ।

अनि परिवार कसरी चलाउनुभयो ?

मैले होटल खोल्दा नै दुईवटा माइक्रोबस पनि लिएको थिएँ लोनमा । माओवादीले होटलमा बम पड्काइदिएपछि म आर्थिकरुपमा दिवालियाझैं भएँ । बैंकले कालोसुचीमा राख्ने अवस्थामा पुगिसकेको थिएँ । अर्कोतर्फ परिवार कसरी पाल्ने भन्ने चुनौति थपिएको थियो । छोराछोरीलाई एउटा बिस्कुट पनि किनेर खुवाउन नसक्ने अवस्था आएको थियो ।

यद्यपि, मेरा दुई माइक्रोबस भने सुरक्षित नै थिए । ड्राइभर राखेर धनकुटा–हिले चलाउँथेँ । एक दिन ड्राइभर नआएपछि आफैंले गाडी लिएर यात्रु ओसारेँ । त्यस दिन खर्च कटाएर ५३ सय रुपैयाँ उब्रियो । जबकि ड्राइभरले दैनिक २२/३३ सय मात्र दिन्थे । त्यो पैसाले किस्ता तिर्न पनि नपुग्ने ।

त्यसपछि मैले ड्राइभरलाई जागिरबाट हटाएर आफैंले माइक्रो चलाउन थालेँ । बिहान ४ बजे उठेर माइक्रो चलाउँथेँ । ‘आउनुस धनकुटा हिले’ भन्दै यात्रु बोलाउँथेँ । यसरी आफैंले गाडी चलाउन थालेपछि बैंकको इन्स्टलमेन्ट तिर्न अलि सजिलो भयो ।

त्यही क्रममा गाडी बनाउने वर्कसप पनि चलाएँ । बिर्तामोडमा गाडीको वर्कसप खोलेँ । केही कामदार राखेर गाडी बनाउने काम सुरु गरेँ । साथीहरुलाई भनें, म काम गरिखान्छु । जहाँ गाडी दुर्घटना हुन्छ त्यहीँ गएर तिम्रो गाडी म बनाइदिन्छु । ४०/५० हजार इन्स्टलमेन्ट थियो । पछि मैले धितो राखेको जग्गाको भाउ पनि बढ्यो र त्यो बेचेर लोन चुक्ता गरेँ । जीवनयापन अलि सहज हुँदै थियो । तर, त्यहीबेला फेरि भौतिक आक्रमणमा परेँ ।

फेरि माओवादीले आक्रमण गरे ?

माओवादीले मात्रै होइन । सात दल र माओवादीले ।

के निहुँमा ?

निहुँ केही थिएन । ममाथि उनीहरुले भ्रष्टाचारको आरोप लगाउन सक्दैनथे, केवल फरक वैचारिक आस्था राखेको आधारमा ममाथि बारम्बार आक्रमण भयो । माओवादीले मात्र नभएर तत्कालीन सात दलले पनि मेरो मुख थुन्न कुनै कसर छोडेनन् । तर, मैले कसैप्रति व्यक्तिगत रिसइवी लिइनँ । यतिसम्म कि मेरो घरमा मट्टीतेल खन्याएर आगो लगाउने व्यक्तिलाई मैले मास्टरमा जागिर लगाइदिएको छु ।

किन यतिसम्म उदारता देखाउनुभयो ?

ऊ, मकहाँ जागिर माग्न आयो । मैले हुन्छ भनिदिएँ । ऊ गएपछि मेरी श्रीमतीले हाम्रो घरमा आगो लगाउनेमध्येको एकजना यही हो भनिन् । एक मनले त उसलाई किन जागिर लगाइदिने भन्ने लागेको थियो । तर, वचन दिइसकेकाले पछि हट्न मन लागेन । आखिर उसले मप्रति दुश्मनीका कारणले नभएर कसैले अह्राएर गरेको न हो ।

तपाईंमाथि भौतिक आक्रमण चाहिँ कसरी भयो ?

त्योबेला राप्रपा नेपाल भर्खर गठन भएको थियो । राप्रपाका नेताहरु रविन्द्रनाथ शर्मा र पद्मसुन्दर लावती पाँचथर आउने कार्यक्रम तय भएको थियो । पद्मसुन्दर लावतीले मलाई फोन गरेर हामी एक दिन झापामा बस्छौं, एउटा होटल हेर्नु भन्नुभयो । मैले एउटा होटल बन्दोबस्त गरें ।

म एयरपोर्टबाट उहाँहरुलाई लिएर होटलमा पुगेँ । तर, हामी पुग्नासाथ सात पार्टी र माओवादीको ठूलो भिडले होटल घेर्‍यो । उनीहरुले हामीलाई होटलबाट बाहिर निकाले । त्यसपछि नारावाजी गर्दै अन्धाधुन्द आक्रमण गर्न थाले । आक्रमणको मुख्य तारो मै भएँ । मलाई मरणासन्न बनाएपछि भिड त्यहाँबाट तितर–वितर भएर हिँड्यो । मेरो शरीरबाट यति रगत बगेको थियो कि उनीहरुले अब उठेर हिँड्न सक्दैन भन्ने सोचे होलान् ।

रवीन्द्रनाथ शर्मालाई केही भएन ?

उहाँलाई बाटोमा घिसारियो । तर, शारीरिक चोटपटक लागेन ।

घटनास्थलमा प्रहरी आएन ?

भिडले होटललाई घेराउ गरेपछि तुरुन्तै मैले प्रहरीलाई फोन गरेको थिएँ । तर, घटना माथिदेखि नै योजनावद्ध र नियोजित रहेछ । गृहमन्त्री कृष्ण सिटौला हुनुहुन्थ्यो । मैले डीएसपी र इन्सपेक्टरलाई सुरक्षा दिन आग्रह गर्दा ‘यो राजनीतिक विषय हो’ भन्दै तर्किए ।

हामीमाथि आक्रमण हुन थाल्दा पनि केही प्रहरी त्यहीँ थिए । तर उनीहरुलाई केही नगर्न आदेश रहेछ । केवल रमिते बनेर बसे । जब आन्दोलनकारीले मलाई रक्तमुच्छेल पारेर हिँड्यो, बल्ल प्रहरीले उद्धार गरिटोपले ।

कति दिन अस्पताल बस्नुभयो ?

एक दिन पनि बसिनँ । बाहिर धेरै चोट लागेको र रगत बगेको भए पनि भित्र गम्भिर चोट नदेखिएको डाक्टरले बताए । एउटा औंलाको टुप्पो उडेको थियो । अरु बाहिरी चोटपटक थिए । त्यसैले म एक रात पनि अस्पताल नबसी घर फर्किएँ । बिर्तामोडमै उपचार गराएँ ।

गणतन्त्र आएपछि पनि तपाईहह्रुलाई राजनीति गर्न सजिलो भएन ?

हो । हामीलाई छि छि र दुरदुर भयो । अन्य दलहरुले अछुत जस्तो व्यवहार गर्थे । सबैलाई अभिव्यक्तिको स्वतन्त्रता थियो, हामीलाई थिएन । फरक विचारकै आधारमा हाम्रा कार्यक्रमहरुमा आक्रमण भए । तर, हामीलाई थाहा थियो कि हामीले बोकेको एजेन्डा सही छ । त्यसैले निरन्तर यही बाटोमा हिडिँरह्यौं । हरेक भौतिक आक्रमणले मलाई कमजोर होइन, मानसिकरुपमा झन् बलियो बनाउँथे । आप्mनो निष्ठामा थप अडिक बन्थेँ ।

अहिलेचाहिँ कस्तो माहोल छ त ?

पहिलेजस्तो छैन । जनताले धेरै कुरा महसुस गरिसकेका छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशीका एजेन्डा हुन् र राजनीतिक दलहरु उनीहरुका भरिया मात्र हुन् भन्ने बुझिसकेका छन् । राजतन्त्र नै यो मुलुकमा चाहिने रहेछ भन्ने जनमत बलियो बनिरहेको छ ।

त्यतिबेला मेरो घरमा बम हान्नेहरु, मलाई भौतिक आक्रमण गर्नेहरुले समेत चुनावमा मलाई भोट दिएका छन् । अन्य राजनीतिक दलमा आवद्ध कार्यकर्ताहरुमा पनि मैले उठाएका एजेन्डाप्रति समर्थन पाएको छु ।

राजतन्त्रको पुनरागमनमा अझै विश्वस्त हुनुहुन्छ ? कि यो सार्वजनिक खपतका लागि मात्रै हो ?

हाम्रोजस्तो भूराजनीतिक अवस्था भएको मुलुकमा कुनै पनि प्रकारको राजतन्त्र अपरिहार्य छ भन्ने मान्यतामा मेरो पार्टी र म व्यक्तिगतरुपमा अडिक छु । सक्रिय राजतन्त्र नै चाहिन्छ भन्ने होइन । सेरेमोनियल भए पनि हुन्छ । तर, अभिभावकीय भूमिकामा राजसंस्था चाहिन्छ । गणतन्त्र आएपछि देश विदेशीहरुको खेल मैदान भएको छ । राजनीतिक दलहरुलाई सतर्क गराउने कोही छैन । देश अभिभावकविहीन भएको महसुस भएको छ ।

राजाको ठाउँमा राष्ट्रपति हुनुहुन्छ त । उहाँलाई नै अभिभावक मान्दा के हुन्छ ?

राजाको ठाउँ राष्ट्रपतिले कदापि लिन सक्नुहुन्न । राष्ट्रपति भनेको आवधिक हुन्छ । पाँच वर्षपछि ऊ फेरि राष्ट्रपति बन्छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसैले पाँच वर्षमा आफू र आफ्नो सन्ततिका लागि राम्रो बन्दोबस्त कसरी गर्ने भन्ने ध्याउन्न हुन्छ ।

अर्को कुरा, राष्ट्रपति एउटा दलविशेषप्रति नरम हुन्छन् । त्यसैले सबैको साझा बन्नै सक्दैनन् । न डा. रामवरण सबैको साझा बन्नुभएको थियो, न विद्यादेवी भण्डारी बन्नुभएको छ । मुलुकको एकता र अखण्डताका लागि राजसंस्था नै चाहिन्छ । राजा भएको भए उसले सस्तो लोकप्रियताका लागि काम गर्नुपर्ने अवस्था हुँदैन । किनकि उसलाई भोट चाहिँदैन । उसले विदेशी रिझाउनु पनि पर्दैन । त्यसैले राजाले जे गर्छ, देशको हितमा गर्छ । देशविरुद्ध सम्झौता गर्दैन । किनकि देश रहे न राजा रहने हो ।

तपाईंहरुले शाहवंशीय राजसंस्थाकै निरन्तरता चाहेको हो कि नयाँ शिराबाट पनि सुरु गर्न पनि सकिन्छ भन्ने हो ?

राजसंस्थाका लागि केही आधार त चाहियो । राज परम्पराको उत्तराधिकारी त्यसै भइँदैन । नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहको उत्तराधिकारी नै राजा हुने हो । किनकि नेपाल राष्ट्रको निर्माणमा सबैभन्दा ठूलो योगदान पृथ्वीनारायण शाहकै छ । अब राजालाई कति अधिकार दिने भन्नेचाहिँ दलहरुले तय गर्न सक्छन् ।

भनेपछि ज्ञानेन्द्रलाई नै पुनस्र्थापित गर्ने पक्षमा हुनुहुन्छ ?

उहाँ नै राजा हुने वा उहाँको परिवारभित्रबाट अरु कसैलाई बनाउने भन्नेमा राजनीतिक सहमति गर्न सकिन्छ ।

पूर्वराजासँग व्यक्तिगत सम्वन्ध कस्तो छ तपाईंको ?

छैन सरह नै हो । जम्मा दुईचोटि भेटेको छु । मैले त चिन्ने नै भएँ । राजाले पनि चिनिबक्सेको होला । तर, अन्तरंग सम्वन्ध छैन । म उहाँप्रतिको व्यक्तिगत झुकावले भन्दा पनि सैद्धान्तिकरुपमा राजतन्त्रको पक्षमा उभिएको हुँ ।

समावेशीकरण र आरक्षणप्रति पनि तपाईंको फरक विचार छ क्यारे होइन ?

मैले जातीय आरक्षणको खुलेर विरोध गर्दै आएको छु । सार्वजनिकरुपमा जातीय आरक्षणको विरोध गर्ने म नै पहिलो व्यक्ति हुँ कि जस्तो पनि लाग्छ । आज त धेरैले रियलाइज गरिसकेका छन् यो ठीक छैन भनेर । जातीय आरक्षणले देशलाई बर्बादीतिर धकेल्छ भन्नेमा म स्पष्ट छु । आज संकेतहरु देखिन थालिसकेका छन् ।

२१ आंै शताब्दीमा आएर कुनै जातविशेष सबै धनी वा सामन्त, कुनै सबै गरिब वा शोषित भन्ने परिभाषाले काम गर्दैन । अहिले राज्यले दिने सेवा– सुविधा र संरक्षण बर्गीय आधारमा हुनुपर्छ । समाज विश्लेषण नै वर्गको आधारमा हुनुपर्‍यो ।

जातीय संस्कृति र मौलिकतालाई संरक्षण गर्नु राज्यको दायित्व हो । तर, निश्चित योग्यता र क्षमता आवश्यक हुने पदहरुमा जातीय आरक्षण उपयुक्त छैन । जातीय आरक्षण अन्त्य हुनुपर्छ । एकैचोटि सम्भव नभए क्रमशः गर्नुपर्छ ।

एउटा जनजाति नेता भएर पनि जातीय आरक्षणको विरोध गर्नु त आत्मघाती कुरा भएन र ?

मैले आफ्नो जातका लागि मात्रै राजनीति गरेको होइन । म एउटा जनजातिभन्दा पहिले एउटा नेपाली हुँ । मैले नेपाल र नेपालीको बारेमा पहिले सोच्ने हो । म आरक्षणको विरोधी होइन । तर, आरक्षण जातीय आधारमा होइन, वर्गीय आधारमा दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

आरक्षण गरीबलाई दिनुपर्छ । गरिबलाई दिँदा सबै जाति र समुदाय त्यसमा अटाउँछन्, जो गरिब छन् । संविधानको एउटा धारामा जातका आधारमा छुवाछुत वा भेदभाव गर्नु दण्डनीय हुन्छ भनिएको छ । अनि ऐन बनाएर फलाना–फलाना जातिहरु दलित हुन् भनेर भन्न मिल्छ ? त्यहीँनेर विभेद भयो कि भएन ?

तपाईंको तर्कमा जातीय आरक्षणले कसरी देश बर्बाद पार्छ ?

अहिलेको आरक्षण प्रणाली कस्तो छ भने परीक्षामा ५२ प्रतिशत ल्याउनेले डाक्टर हुन पाउँछ, ९० प्रतिशत ल्याउने पाउँदैन । अधिकृत हुने बेला ५२ र ९० एकैचोटि प्रवेश गर्छन् । उपसचिव बन्ने बेलामा ५२ ल्याउने ९० ल्याउनेको हाकिम हुन्छ । सहसचिव हुने बेला फेरि ५२ कै पालो पहिले आउँछ । गर्दागर्दै योग्यता र क्षमता त कहाँ मर्छ मर्छ । के यसरी देश बन्छ ? कस्तो प्रणाली निर्माण गर्दैछौं हामी ?

अर्को कुरा, आरक्षण पनि निश्चित समयावधिका लागि हुनुपर्ने हो । सदाको लागि पनि आरक्षण हुन्छ ? यो त हुँदै भएन । संसारमा आरक्षणले कहाँ प्रगति भएको छ ? भारतमा अहिलेसम्म पनि आरक्षणको विषयलाई लिएर किचलो नै उठिरहेको हुन्छ ।

तेस्रो कुरा, आरक्षणले आरक्षित जातलाई सामाजिकरुपमा नै कमजोर बनाइरहेको छ । यो थापी खाने जात भन्ने भएपछि उसको आत्मसम्मान कहाँ पुग्छ ? यदि मेरा छोरी र छोरा आफ्नै क्षमताले डाक्टर भए भने पनि बिरामीले लिम्बुजस्तो देखेपछि यो त आरक्षणबाट आएको हो भनेर अर्कोतिर लाग्न सक्छन् ।

यसरी जातीय आरक्षणको विरोध गरिरहँदा तपाईंलाई आफ्नै जातका व्यक्तिहरुले खेदो गर्दैनन् ?

नबुझ्नेले र भ्रममा हुनेहरुले चित्त दुखाउँछन् । हामीले खाईपाई आएको सुविधाको किन विरोध गरेको भन्छन् । तर, म उनीहरुलाई सम्झाउँछु । ०७० को चुनावमा यो कुराले मलाई नकारात्मक असर गरेको थियो । पछिल्लो दिनमा धेरै बुझ्दै जानुभएको छ । पछिल्लो चुनावमा यही कुराले मेरो जनमत बलियो भयो भन्ने लाग्छ । अन्य पार्टीका समर्थकहरुले पनि मलाई व्यक्तिगत हिसाबमा भोट दिनुभएको छ ।

अनि तपार्इं आफू किरात धर्म मान्ने समुदायको मान्छे, तर हिन्दू राज्यको एजेन्डा बोकेर हिँड्नुभएको छ । यसलाई कसरी ब्याख्या गर्नुहुन्छ ?

म आफ्नो व्यक्तिगत लाभहानीका लागि राजनीति गर्दिनँ । देशको लाभहानी हेर्ने हो । मैले हिन्दू राज्य भनेको कुनै जात वा धर्मको कुरा भन्दा पनि पहिचानसँग सम्वन्धित विषय हो । हिन्दू राष्ट्रभित्र नै नेपालको स्थायित्व र अन्य धर्मको संरक्षण सम्भव छ ।

धर्मविशेषको मात्रै कुरा गर्दा हिन्दू, बुद्ध र किरात तीनवटै धर्म नेपालमा उद्गम र विकसित भएका हुन् । हाम्रा साझा भगवानहरु छन् । साझा संस्कृतिहरु छन् । जबरजस्ती अरुले फरक बुझाउन खोजिरहेका छन् ।

जनजातिले दशैं मान्नुहुँदैन भन्नेहरु पनि छन्, यसमा तपाईंको दृष्टिकोण के हो ?

०४६ सालको परिवर्तनपछि नै यस्तो भ्रम फैलाउने क्रम सुरु भएको हो । उनीहरुको तर्क छ कि रावण जनजाति हुन्, उनलाई मारेको विजयोत्सवमा मनाइने दशैं जनजातिले किन मान्ने ? तर, रामायण हेर्दा थाहा हुन्छ कि रावण ब्राम्हणका छोरा ब्राम्हणकै नाति । कसरी जनजाति भए ? इतिहासको उत्खनन त्यो पनि गलत तवरबाट गरेर जनजातिलाई दिग्भ्रमित पार्ने काम भइरहेको छ । र, यसमा विदेशी शक्ति पनि लागेका छन् । आज विभिन्न देशहरुमा बसेका नेपालीहरुले जातपिच्छेका संगठन बनाएका छन् । के यो आवश्यक हो ? म यस्तो जातीय ध्रुवीकरणको पक्षमा छैन ।

किरातबाट हिन्दूले सिके वा हिन्दूबाट किरातले सिके, अलग विश्लेषण होला । तर, साझा परम्पराहरु छन् । यसमा अलग–थलग हुनुपर्ने कुरा छैन । त्यसैले दशैं क्षत्री–बाहुनको मात्रै हो भन्नु गलत छ । राष्ट्रिय जनावरमा पनि पनि विवाद ल्याउन खोजियो । गाई काट्न पाउनुपर्छ भन्नेखालको लविङ गराइयो । यो सबै देशलाई जातीयरुपमा विभाजन गर्ने प्रयत्नका उपज मात्रै हुन् । यसमा कतिपय सोझा मानिसहरु पनि प्रयोग भइरहेका छन् ।

अनि संघीयताको विषयमा पनि दुई शब्द जाओस न…

अहिले भाँडभैलो भइरहेको छ । हामीले संघीयतामा सुरुदेखि नै असहमति राखेका थियौं । हामीले भनेका कुराहरु आज प्रमाणित भइरहेका छन् । संघीयता नेपालको अर्थतन्त्रले धान्न नसक्ने मात्रै होइन कि राष्ट्रिय एकताको दृष्टिकोणले पनि खतरापूर्ण छ । हामीलाई केन्द्र र बलियो स्थानीय तह भए पुग्छ । प्रदेशहरु भंग गरिदिए हुन्छ ।

केपी ओलीलाई पनि कतिपयले संघीयताविरोधी र राष्ट्रवादी बताउने गर्छन् । यस हिसाबले तपाईंको उहाँसित भावना मिल्छ होला होइन ?

उहाँसित कुरा गर्दा मलाई पनि त्यो अनुभूति हुन्छ । तर, नेपालमा संघीयता र धर्मनिरपेक्षता ल्याउनुमा त उहाँको पार्टी पनि जिम्मेवार छ नि । के त्यतिबेला उहाँले आफ्नो मस्तिष्कलाई दराजमा राखेर संघीयता र धर्मनिरपेक्षतामा सही गर्नुभएको थियो ? त्यसैले अब भित्रभित्रै संघीयताविरोधी हुनुको कुनै अर्थ छैन ।

ओलीज्यूमा देशपे्रेमको भावना पाएको छु । तर, सरकार सञ्चालनमा त्यो अभिव्यक्त भइरहेको छैन । उहाँले नेतृत्व गरेको सरकारले देशलाई सही दिशातर्फ डोर्‍याएको छैन । जनता निराश छन् ।

तर, पनि यतिचाहिँ भन्न सक्छु कि केपी ओलीको नियत खराब छैन । मनमा केही गरौं भन्ने नै छ । चाहँदा-चाहँदै पनि नसक्नुभएको होला ।

तस्वीरहरू: शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment