Comments Add Comment

गृहमन्त्री बादललाई तीर्था गौतमको आग्रह– पुरानो इतिहास सम्झौं !

९ असार, काठमाडौं । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको निधनका सन्दर्भमा सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापासँग छलफल चलिरहेको थियो । त्यहाँ आफ्नो धारणा राख्ने क्रममा नेकपा सांसद तीर्था गौतम भक्कानिइन् ।

भक्कानिँदै सांसद गौममले गृहमन्त्री थापालाई पुरानो इतिहास सम्झन आग्रह गर्नि । सांसद गौतमले भनिन्, ‘आज एउटा नेपालीको छोरो मरेको छ, त्यो नेपाली भोलि यो देशलाई पनि काम लाग्न सक्ने मान्छे हो । सपुत हो । हामीले यस्ता चिजहरु गर्दा पुरानो इतिहास सम्झौं । स्मरण गरौं । देशलाई कता लान्छौं ? यो विषयमा हामी गम्भीर हुन जरुरी छ ।’

विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेल यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए । उनको मृत्यु प्रहरीसँगको मुडभेडका क्रममा भएको हो कि, प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको ? भन्ने प्रश्न उठेपछि राज्य व्यवस्था समितिले सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न सोमबार गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

विप्लवका कार्यकर्ताको मृत्यबारे छलफलमा सहभागी बनेकी सांसद तीर्था गौतम आफैँ द्वन्द्वपीडित हुन् । तीर्थाका श्रीमान एवं रुकुमका एमाले नेता यदु गौतमको ०५५ साल फागुन २१ गते तत्कालीन नेकपा माओवादीले हत्या गरेको थियो ।

तत्कालीन समयमा नेकपा एमाले रुकुमका सचिव तथा प्रतिनिधि सभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका गौतमलाई आम निर्वाचनको प्रचार–प्रसारका बेला रुकुमको गरायला गाविसमा माओवादीले हत्या गरेको थियो ।

निर्वाचन नहुँदै यदु गौतमको हत्यापछि श्रीमती तीर्था गौतम उम्मेदवार भई विजयी भएकी थिइन् । हाल उनी नेकपाको तर्फबाट सांसद छिन् । श्रीमानको हत्या गर्ने माओवादी नेताहरुसमेत अहिले तीर्था गौतमसँगै एउटै पार्टीमा छन् ।

सोमबार संसदीय समितिको बैठकमा सांसद गौतमले त्यो जनयुद्धको घाउको खाटा मरिनसकेको उल्लेख गरिन् । ‘१० बर्षको घाउको खाटा मरेको छैन् । सत्य निरुपण आयोग होस्, मेलमिलाप आयोगले घाउलाई झझल्को दिइरहेको छ । फेरि द्वन्द्व चर्कियो भने देश कता जान्छ ?’

विप्लव समूहलाई सानो रुपमा लिएर अगाडि नबढ्न सांसद गौतमको सुझाव छ । ‘आगाको झिलिङ्गो ठूलो चाहिँदैन, एउटा सानो झिलिङ्गोले पूरा जंगल नाश गर्न सक्छ’, गौतमले भनिन्, ‘यो राजनीतिक कुरा हो भने समाधानको बाटो के हो ? बैचारिक कुरा हो भने यसलाई राजनीतिक रुपमा समाधान गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment