+
+

‘उपमेयर बन्न मानिनँ, राष्ट्रियसभा उपाध्यक्ष बनें’

शशिकला दाहाल, उपाध्यक्ष, राष्ट्रियसभा शशिकला दाहाल, उपाध्यक्ष, राष्ट्रियसभा
२०७६ असार ९ गते ८:५५

चुनावअघि म बर्दिबास नगरपालिकामा पार्टीको जिम्मेवारीमा थिएँ । त्यहाँको पहिलो महिला मेयर हुनुपर्छ भनेर लडेकी थिएँ । तर, उपमेयरमा प्रस्ताव गरियो । मेयर चलाउन सक्छु, दिन्छौ भने देउ, होइन भने उपमेयर लिन्न भनेँ ।

पछि प्रदेशमा प्रस्ताव गर्ने कुरा भयो । तर, मलाई पहाडे समुदायको भनियो र पहाडे क्षेत्री बाहुनको ४.६ प्रतिशत छ भन्दै मलाई प्रदेशमा लगिएन । म मधेसमै जन्मिएकी, हुर्किएकी, राजनीति गरेकी, मधेसकै लागि लडेकी थिए ।

त्यसपछि राष्ट्रिय सभामा आउने अवस्था बन्दै गयो । तत्कालीन एमाले र माओवादीको गठबन्धन बन्यो । दुई नम्बर प्रदेशबाट एमालेका पुरुष र माओवादीका महिला राष्ट्रिय सभामा आउने भन्ने सहमति बन्यो । त्यसपछि मलाई पार्टीले राष्ट्रिय सभा ल्याउने निर्णय भयो ।

त्योबेला राष्ट्रियसभाको उपाध्यक्ष नै हुन्छु भन्ने चाहिँ सोचेकी थिइनँ । राष्ट्रिय सभा सदस्य भएर आएपछि एमालेले अध्यक्ष पाउने र माओवादीले उपाध्यक्ष पाउने अवस्था बन्यो । माओवादीको तर्फबाट हामी तीनजना (म, बिना पोखरेल र युटोल तामाङ) छौं । तीनमध्ये म केन्द्रीय सदस्य, बुद्धिजीवी संगठनको केन्द्रीय उपाध्यक्ष, महिला विभागको प्रमुख लगायतका जस्ता जिम्मेवारी निर्वाह गरेका कारण मेरो दाबी थियो । पार्टीले पनि मूल्याङ्कन गर्‍यो ।

तलबाट हेरेजस्तो रहेनछ !

आफूले खोजेजस्तो, तल बसेर सोचेजस्तो नहुँदोरहेछ । यहाँका कर्मचारी संरचना, हामीले गर्ने काम सोचे जस्तो कहाँ हुनु ? तैपनि महिला माननीयहरुको क्षमता कसरी विकास गर्ने ? महिला माननीयहरुको आवाज सञ्चार माध्यमममा कसरी पुर्याउन सकिन्छ भनेर काम गर्दै आइरहेका छौं ।

महिला माननीयहरुका बारेमा जानकारीमुलक प्रोफाइल किताब निकाल्यौं । उपसभामुख र मेरो अलि बढी सक्रियतामा संसद सचिवालयको निर्णयबाट अहिले सबै मानीयहरुको भिडियो प्रोफाइल बनाउने काम भइरहेको छ ।

जनताले आफ्नो पनि आवाज उठाइदिए हुन्थ्यो भन्छन् । तर, मेरो भूमिका आफैँ आवाज उठाउने नभएर बैठकको समग्र नेतृत्व तहमा रहेर काम गर्ने हो । सुरुमा उप कि चुप हुन्छ भन्ने लागेको थियो । अहिले ठ्याक्कै त्यस्तो त छैन । आफ्नो ठाउँबाट सक्ने गरिरहेकी छु । राष्ट्रिय सभाको एउटा बैठकको सुरु र अन्त्य गरेँ । अन्य केही बैठकको अन्त्य पनि गरेको छु । बीचबीचमा पालो दिने काम त भइरहेको हुन्छ ।

स्थानीय तहका महिला प्रतिनिधिहरुसँग पनि भेटघाट गर्ने, महिला हिंसा कसरी न्युनीकरण गर्ने भन्ने जस्ता विषयमा छलफल चलाउने लगायतका काम पनि भइरहेका छन् । उनीहरुलाई पनि उप कि चुप भन्ने अवस्था छैन । क्रियाशील भने गराउनुपर्नेछ ।

महिला नेताहरुमार्फत सबैलाई परिचालन गरेर दाइजो प्रथा न्यूनीकरण कसर गर्न सकिन्छ ? देउकी झुमाका, कमलरी, बहुपति प्रथा रोक्ने खालका कार्यक्रम कसरी सञ्चालन गर्ने ? भन्ने विषयमा निरन्तर स्थानीय तहका महिला नेतृहरुसँग छलफल भइरहेका छन् । छिट्टै सबै स्थानीय तहहरुमा समेत महिला हिंसाविरुद्धका जनचेतनाका कार्यक्रमहरु, फिल्महरु बनाएर लैजाने योजना बनेको छ ।

कक्षाकी एक्ली केटी

म ०१४ साल जेठ १४ गते महोत्तरीको बर्दिबासमा जन्मिएकी हुँ । १० जना सन्तानमा म कान्छी छोरी । त्योबेला छोरीहरुलाई पढाउने चलन थिएन । मेरा एक जना दाजु र ८ जना दिदीहरु हुनुहुन्थ्यो, उहाँहरु कसैले पढ्नुभएको थिएन ।

तर, आमाले मलाई पढाउने इच्छा राख्नुभयो । गाउँकै एकजना शिक्षकलाई एउटा गाई दिएर मलाई कखरा सिकाइदिन भन्नुभयो । म घरमै कखरा सिक्ने थालें । त्यसपछि सुरुमै दुई कक्षामा भर्ना गरिदिए । जतिबेला १० बर्षकी थिएँ । कक्षा ८ सम्म गाउँकै स्कुल (हालको जनता मावि) मा पढेँ । ५ कक्षामा पहिलो भएपछि ६ नपढी एकै पटक ७ मा राखिदिए । ९ र १० पढ्न धनुषा गएँ ।

एसएलसी दिँदासम्म मैले आफ्नो कक्षामा अर्को केटी साथी पाउन सकिनँ । अर्थात कक्षामा म एक्लो छोरी मान्छे थिएँ । एउटा बेन्चमा एक्लै बस्थेँ । आइएड पढ्न काठमाडौंको ताहचल कलेज आएपछि बल्ल एउटै बेन्चमा बस्ने केटी साथी पाएँ । त्यो बेला कम्ता खुसी लागेन ।

आइए पढ्दा पढ्दै ०३३ सालमा आफैँ पढेको महोत्तरीको स्कुलमा शिक्षाका लागि विज्ञापन खुल्यो । म पढाउन गएँ । स्कुलमा एक्ली शिक्षिका । मिस देख्न रहर लाग्न थाल्यो । अर्को पनि शिक्षक भए कस्तो हुन्थ्यो ? भन्ने रहर लाग्ने । पछि आफ्नै बिद्यार्थीलाई पनि शिक्षण गर्न प्रेरित गरेँ र केहीले पढाउन पनि थाले । त्यो स्कुलमा ३१ बर्ष पढाएँ ।

मैले पढाउन थालेपछि त्यो स्कुलमा छात्राहरुको संख्या बढ्न थाल्यो । धेरैले छोरी पढाए । ‘ल है कान्छी, तिमी छौ, मेरी छोरीलाई पढ्न पठाउँछु । तिमी जस्तै बनाउन मन छ’ भन्थे अविभावकहरुले ।

म एक बर्षको हुँदा नै बुबाको मृत्यु भएको थियो । आमा आफैँ श्रम गर्ने, अरुको अन्याय सहन नसक्ने खालको हुनुहुन्थ्यो । घरका अन्यले पढ्न नपाए पनि मलाई पढाउने निर्णय गर्नुभयो । उहाँकै त्यो निर्णयका कारण अहिले यहाँ छु । उहाँ खेत आफैँ खन्ने, पानी लगाउने गर्नुहुन्थ्यो । आमाले कुलो खन्नुभएको र खेत बिराउनुभएको ठाउँलाई दाहाल्नी खोल्सी भन्थे । अहिले पनि बर्दिबासको हाइवेमै पर्छ त्यो दाहाल्नी खोल्सी । त्यो दाहाल्नी खोल्सीमा पुग्दा यही सम्झन्छु ।

पञ्चायतको किताब च्यातेर राजनीतिमा प्रवेश

कक्षा १० मा पढ्दा पञ्चायतको किताब च्यातेर अनेरास्ववियुको संगठनमा संलग्न भएँ । खास प्रसंग त बिर्सिएँ तर, १० कक्षामा पढ्दा तत्कालीन व्यवस्थाविरुद्ध लागियो । त्यो बेलादेखि राजनीतिमै छु ।

पछि पढाउन थालेपछि हामीलाई बहुदलीय शिक्षक भन्थे । ०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा लागियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य पनि भएँ । पछि बुद्धीजिवी संगठनको पनि भुमिगत हिसावमै रहेर काम गर्थे । ०४२ सालमा अखिल नेपाल महिला संघको जिल्ला सचिव भएँ । पेशागत हकहितका लागि खोलिएको नेपाल राष्ट्रिय शिक्षक संघको जिल्ला सदस्य भएर पनि काम गरियो ।

हामीलाई पञ्चहरुले विभिन्न कोणबाट दुःख दिइरहेका हुन्थे । हामी जागिर गए जाओस भन्थ्यौं । केहीले राजनीनामा पनि दिए । मैले पढाउने स्कुलका प्रध्यानाध्यापक कांग्रेसको हुनुहुन्थ्यो । उहाँ कांग्रेसको भएका कारण हामीलाई बिदा नदिने जस्ता खालका राजनीति पनि हुन्थे ।

देशका ठूला आन्दोलन र परिवर्तनमा पनि शिक्षक भएरै आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने अवसर मिल्यो । ०६४ मा समानुपातिक सांसदको उम्मेदवार सूचीमा नाम प¥यो । त्यसपछि खुला राजनीति गर्न थालेँ । ०६५ मा माओवादीसँग एकता केन्द्र मसालको एकीकरण पनि भयो ।

शिक्षण पेशा छाडेपछि बर्दिबास बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको प्रथम महिला उपाध्यक्षको जिम्मेवारी पाएँ । जनता माविको पनि व्यवस्थापन समितिको सदस्य भएँ । दर्जनौं संघसंस्था (एनजीओ-आइएनजिओ, खानेपानी लगायतका उपभोत्ता समिति)मा पनि संलग्न भएँ ।

समानुपातिकमा नपरेपछि सञ्चारतिर

०६४ सालमा शिक्षण पेशाबाट राजीनामा दिएपछि मेरो काम भएन । समानुपातिकमा नाम गएको तर, परिएन ।

त्यतिखेर मधेस आन्दोलनको बेला विभिन्न अफवाह फैलाउने खालका समाचारहरु सम्प्रेषण हुन्थे । त्यसलाई मथ्थर पार्न सञ्चार माध्यमको खाँचो महसुस भयो । त्यसपछि एक सय जनाले २५ हजारका दरले रकम जुटाएर बर्दिबास सञ्चार सहकारी खोल्यौं । मलाई नै अध्यक्ष बनाइदिए । त्यसपछि सुनगाभा रेडियो सुरु गरियो । सधैँ सुनगाभा फूलले जस्तै बास्ना दियोस भन्ने चाहना राखियो । तर, सोचे जस्तो त अलि नहुनेरहेछ । त्यो रेडियो अहिले पनि चलिरहेको छ । रेडियो सञ्चालक समितिको अध्यक्षका रुपमा लगातार १० बर्षसम्म (०७४ को चुनाव अघिसम्म) काम गरेँ ।

रेडियोमा दुखः पनि हुँदोरहेछ । कर्मचारीहरु ल्यायो, तालिम दियो । क्षमतावान भएपछि अर्कोतिर गइहाल्ने । अर्को ल्यायो …। तत्कालीन अवस्थामा विद्युत गइरहने जस्ता समस्या पनि हुन्थे । आफूले अधिकारका कुरा गरिरहँदा रेडियोमा काम गर्ने कर्मचारीलाई भनेजस्तो तलब दिन नपाउँदा अलि खल्लो हुन्थ्यो ।

त्यही रेडियोमा हुँदै सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को महिला उपाध्यक्ष पनि भएँ । राष्ट्रिय सभामा आउने भएपछि राजीनामा दिएँ है भनेर बसेकी छु ।

अब पत्रकार र शिक्षक कुनै पार्टीमा आवद्ध रहेर राजनीति गर्नुपर्ने अवस्था छैन । हिजोको र आजको राजनीति फरक हो । म आफैँ शिक्षक हुँदा त त्यो ब्यवस्था फाल्नुपर्ने थियो । सबै लाग्नुपर्ने थियो । त्यसबाट शिक्षक टाढा बसेको भए यति छिट्टै परिवर्तन हुन्थ्यो ? हुन्थेन । हामीले एउटा मेलो सार्‍यौं । अब शिक्षकहरुले आफ्नो पेशामा भएका गलत कामहरुको खबरदारी गर्ने, शिक्षण पेशालाई थप मजबुद बनाउने, शिक्षण पद्धतीलाई समयाअनुकुल बनाउने हो ।

पत्रकारले पनि अब राजनीति गर्नुपर्ने छैन । म आफैँ सबैको आवाज दिनुपर्छ भनेर रेडियोमा लागेँ । त्यो अवस्था र अहिले फरक छ । तिमीले शिक्षण गर्दा, रेडियो खोलेर त्यसैमा संलग्न भएर राजनीति ग¥यौ ? भन्ने हुन सक्छ । तर, त्यो होइन । हामीले एक मेलो सारिसकेको हुनाले अब पत्रकारले राजनीतिक आवद्धता लिएरै जानुपर्ने छैन । सत्य, तथ्य र खोजमूलक समाचार कसरी बनाउने भन्नेमा ध्यान दिए पुग्छ । विद्यार्थीको भविश्यतिर शिक्षकको चासो र सही समाचार सम्प्रेषण गर्नेतिर पत्रकारले ख्याल गरे हुन्छ ।

क्षेत्री बनाउने प्रयास

मेरो थर खड्का बनाउन पार्टीमै प्रयत्न भयो । ०७० सालमा क्षेत्रीको कोटा खाली छ । समानुपातिकमा नाम पठाउन तपाईँका नाममा खड्का थप्ने कि पछाडि ? भनेर कुरा आएको थियो । थर थपेर चाहिँदैन भनिदिएँ ।

मेरा श्रीमान सूर्यबहादुर खड्का र म एउटै स्कुलमा पढाउँथ्यौं । ०३४ सालमा भागी विवाह गरियो । अन्तरजातीय विवाह गरेको भनेर त्यसबेला कुरा त काट्थे रे ! तर, मेरा अगाडि कसैले केही भनेनन् । आफू आत्मनिर्भर भएपछि कसैको केही लाग्दो रहेनछ ।

महिला शिक्षक भएर अधिकारका लागि गर्नुपर्ने लडाईँ- राजनीति झन अप्ठ्यारो । मैले नामको अगाडि श्रीमती नलेखेर श्री लेख्नका लागि तीन बर्ष मेहनत गर्नुप¥यो । दाहाल नलेखेर श्रीमानको थर खड्का लेखिदिने … ।

मेरो वैधानिक कागजमा सबैतिर दाहाल छ । तर, घरि घरि रजिष्टरमा खड्का लेखिदिने । सञ्चयकोषमा त अहिले पनि खड्का भनेर रेकर्ड छ । यस्तो हुँदा कस्तो पुरुष प्रधान चिन्तन भन्ने लाग्छ ।

नागरिकतामा थर राख्ने विषय अहिले बहसमा छ । कसैलाई श्रीमानकै थर राख्न मन छ भने त ठीक छ । नभए इच्छाअनुसार हुनुपर्छ ।

महिलालाई अझै पुगेको छैन

संविधानमा महिला सहभागिता, समावेशिता र आरक्षण नीतिगतरुपमा आएको छ । त्यही नीतिका कारण म अहिले यो ठाउँमा (राष्ट्रिय सभाको उपाध्यक्ष) छु । ममात्रै नभएर महिलाहरुले विभिन्न निकायको नेतृत्व सम्हाल्नुभएको छ । राष्ट्रपति महिला हुनुहुन्छ । सभामुख पनि हुनुभयो । अहिले उपसभामुख महिला हुनुहुन्छ । देशभर उपमेयर र उपाध्यक्षमा महिलाहरु धेरै हुनुहुन्छ । तैपनि हामीले खोजेको भइसकेको त छैन । हरेक निकायमा ३३ प्रतिशत पुगेको छैन ।

तर, अब महिलाले जिम्मेवारी लिएर मात्रै पुग्दैन । प्रतिस्पर्धामा आउन सक्ने हुनुपर्छ । महिलाहरु आफैँ आफ्नो क्षमता बढाउन पनि लागेका छन् । संघीय संसदमा ६० प्रतिशत महिला नेतृत्व छ । उहाँहरुको कामलाई हेर्नुभयो भने सबै एक से एक देखिनुहुन्छ । समितिमा रहेका महिला सदस्यहरु पनि समय पायो भने बोलिहाल्नुहुन्छ । संसदमा पनि महिलाले राम्रा राम्रा विषय उठाइरहनुभएको छ ।

स्थानीय तहमा मेयर वा अध्यक्षमा मात्रै अधिकार केन्द्रित गरिएको छैन । उपमेयर वा उपाध्यक्षलाई विभिन्न किसिमका जिम्मेवारी दिइएका छन् । जसको नेतृत्व महिलाहरुले गरिरहनुभएको छ ।

पहिले पुरुषले दिने र महिलाले अवसर लिने हो भन्ने परेको थियो । त्यसको असर त सकिएको त छैन । तर, अब महिलाहरु असवर देलान् भनेर बस्नेखालका पनि छैनन् । पार्टीको नेतृत्व, कार्यपालिका, न्यायपालिकाको नेतृत्व, व्यवस्थापिकाको नेतृत्व गर्छु भनेर अगाडि बढिरहेका धेरै महिलाहरु भेट्न सक्नुहुन्छ । यसको अर्थ सबै तहको नेतृत्वमा महिला हावी हुनुपर्छ भन्न खोजेको होइन । महिलाहरु पुरुषसँग जे मा पनि क्षमता देखाएरै लड्न सक्छु भनेर आफैँ अगाडि बढ्न थालेका छन् ।

अहिले युवा महिलाहरु पनि धेरै उत्पादन भइसकेका छन् । कलेजमा पुगेका छन् । उनीहरुले आफ्नो अवसर त खोज्छन् । हिजो जस्तो जे भन्यो महिलाले त्यही मान्ने स्थिति छैन । त्यसकारण आरक्षण दिएर माथि लगिरहनु आवश्यक नपर्ला । महिला आरक्षण केही समयलाई राख्ने हो । सधैँ हुनुपर्छ भन्ने पक्षमा म छैन । अहिलेको असमान परिस्थितिलाई समान बनाउन १५-२० बर्ष लाग्न सक्छ । २० बर्ष राखौं, त्यसपछि महिला आरक्षण आवश्यक नपर्ला कि !

(अलाइनखबरकर्मी रघुनाथ बजगाईसँगकाे कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?