+
+
Shares

‘घरको झगडा घरमै राखौं, भारतमा गएर ढ्याङ्ग्रो नठोकौं’

सुदन भन्छन्– जलेको सिंहदरबार फेरि बनाउन सकिन्छ, जेनजी शहीद फर्किन सक्दैनन्

जेनजी आन्दोलनकै केही घाइते र केही अगुवा अभियन्ताले आन्दोलन हाइज्याक गरेको आरोप लगाइरहँदा बिहीबार सुदनले माइतीघर मण्डला पुगेर सबै आरोपहरू जेनजी आन्दोलनका अगुवाहरूबीच फाटो ल्याउने र पुरानै दल शक्तिमा फर्कने योजना अनुसार भएको दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते २१:१७

६ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका हामी नेपालका संयोजक सुदन गुरुङमाथि सामाजिक सञ्जालहरूमा अनेक टिप्पणी भइरहेका छन्। आन्दोलन लगत्तै उनीमाथि भारतीय नागरिक भएको आरोप लाग्यो। जसलाई उनले सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिए र आफू गोर्खाबाट नागरिकता प्राप्त गुरुङको छोरो भएको बताए।

केही दिनपछि उनले नेतृत्व गरिरहेको संस्था हामी नेपालमा स्वतन्त्र तिब्बत समर्थित आईएनजीओबाट फन्डिङ भएको अर्को आरोप लाग्यो। त्यसलाई पनि खण्डन गर्दै उनले भने, ‘हामीले पछिल्लो दश वर्षमा लिएको सहयोगको एक–एक हिसाव पारदर्शी छ। हेर्न चाहनेले हेरे हुन्छ।’

जेनजी आन्दोलनकै केही घाइते र केही अगुवा–अभियन्ताले उनीमाथि आन्दोलन हाइज्याक गरेको आरोप पनि लगाएका थिए। यो आरोप यदाकदा अहिले पनि सुनिन्छ।

यी आरोपबीच बिहीबार माइतीघरमण्डलामा उपस्थित गुरुङले आफूमाथि लागेका यस्ता सबै आरोपहरू जेनजी आन्दोलनका अगुवाहरूबीच फाटो ल्याउने र पुरानै दल शक्तिमा फर्कने योजनामुताविक भएको दावी गरे।

त्यति मात्र होइन, उनले कहिले उत्तर त कहिले दक्षिणतिरको स्वार्थ केन्द्रित योजनामा काम गरिरहेको आरोप लागेका गुरुङले देशभित्रको समस्या देशभित्रै मिलेर समाधान गर्नु पर्ने बताए।

२३ र २४ गतेको जेनजी आन्दोलनका शहीदहरूको तस्वीरमा सामूहिक भाइटीका लगाउन आयोजित कार्यक्रमलाई गुरुङले आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिने मञ्चका रूपमा प्रयोग गरे।

विशेषत: उनको जोड घरभित्रको झगडामा भारत वा अन्य कुनै मुलुकलाई मुछ्न नहुनेमा थियो।

‘घरको झगडा घरमै राखौं। छिमेकीमा गएर, भारतमा गएर ढ्याङ्ग्रो ठोक्ने काम हामी नगरौं,’ संविधान जोगाउन पर्नुको कारणबारे खुलाउँदै उनले भने, ‘त्यही भएर हामीले संविधान जोगाउन परेको हो। यो ढ्याङ्ग्रो उत्तापट्टी (भारतमा) ठोकिन्छ कि भनेर।’

मुलुकको संविधान आन्दोलनको बलमा विस्थापित भएका नेताहरूले नै बनाएको भए पनि त्यही संविधान भित्रबाट गलत गर्नेहरूलाई दण्डित गर्न सकिने भन्दै उनले विदेशीको सहायता खोज्न नपर्ने संकेत गरे। उनले जेनजी पुस्तासँगै सबै नेपाली मुलुकका लागि एकजुट हुनु पर्ने पनि बताए।

जेनजी आन्दोलनको उपलब्धी रक्षार्थ अझ एकजुट भएर लड्नुपर्ने अवस्था रहेको बताएका गुरुङले भने, ‘अहिले ‘डू अर डाइ’को अवस्था हो। वार कि पार हो। त्यही भएर एकअर्कासँग (जेनजीहरू र नेपाली नागरिक) लड्ने काम नगरौं। युनाइट हुने काम गरौं।’

पहिला गोली हान्न आदेश दिने समातिउन, अनि सिंहदरबार जलाउने

शहीदका फोटोमा भाइटीका लगाउन आयोजित कार्यक्रममा उनले २४ गतेको भन्दा २३ गतेको क्षति अपूरणीय भएको चर्चा गरे।

‘अहिले २३ गतेको दिन बिर्सिसकेको छ। मान्छेले सिंहदरबार जलायो भन्छन्,’ गुरुङ भन्छन्, ‘सिंहदरबार त अर्को बनाउन सकिन्छ। एकचोटी रित्तिएको आमाको कोख भरेर देखाउन त?’

उनले पहिले २३ गते गोली हान्ने र हान्न आदेश दिनेलाई पक्राउ गर्नु पर्ने र त्यसपछि मात्र सिंहदरबार लगायतका आगजनीका घटनाका दोषीमाथि कारबाही हुनु पर्ने बताए।

‘हाम्रो प्राथमिकता के हो? प्राथमिकता जेनजी आन्दोलनमा हामीलाई गोली हान्ने मान्छेहरूलाई कानुनको दायरामा ल्याउने हो कि आगो लगाउने खोज्ने हो? सिंहदरबार जलेको सेकेन्डरी कुरा हो। तर मुख्य कुरा गोली हान्ने मान्छेहरूको बारेमा कुरा गर्नुपर्ने होइन?’

उनले दोहोर्‍याए, ‘हजार वटा सिंहदरबार बनाउन सकिन्छ। तर जति करोड, जति अर्ब दिए पनि शहीद भएको एउटा नागरिक जिउँदो हुँदैन। मेरा भाइबहीनीहरू शहीद हुनुभएको छ उहाँहरू फेरि फर्किएर आउन सक्नुहुन्न।’

जेनजी आन्दोलनपछि मुलुकमा केही परिवर्तन भएको उल्लेख गर्दै उनले सकारात्मक गतिमा अगाडि बढ्न सबैलाई सहयोग गर्न आग्रह गरे। अब देशको प्राथमिकता तय गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ।

सिंहदरबारभित्र देश बनाउने कुरा हुँदोरहेनछ

जेनजी आन्दोलनपछि अन्तरिम सरकार निर्माणदेखि सिंहदरबारमा हुने धेरै छलफलमा सहभागी हुँदै आएका गुरुङले सिंहदरबारभित्रको अनुभव सुनाए।

‘हामीले यति धेरै कुरा बुझेका छौं कि हजुरहरूलाई थाहा नै छैन। कुरुप रैछ क्या। सिंहदरबार। सिंहदरबार भन्छन् नि, यो सिंहदरबार यति कुरुप रैछ कि, यति भ्रष्टाचार रैछ कि हरेक ठाउँमा लोभ–लालच, पैसाको कुरा हुँदो रहेछ,’ उनले भने।

आम नागरिकलाई सिंहदरबारमा देश बनाउने कुरा हुन्छ भन्ने परेको तर, अहिले आफूले त्यस्तो अनुभव गर्न नपाएको उनको भनाइ थियो।

‘देश बनाउने कुरा हुँदैन त्यहाँ। सिंहदरबारभित्र के कुरा हुन्छ थाहा छ? कसरी हामी पावरमा आउने? कसरी राज गर्ने? कसरी हामी सत्तामा जाने? कसरी पैसा कमाउने? यस्ता कुरा मात्र हुनेरछ,’ उनले सुनाए, ‘देश बनाउने कुरै छैन त्यहाँ।’

म कसैको एजेन्ट होइन

अगुवा गुरुङले आफू कसैको एजेन्ट नभएको प्रष्टीकरण पनि दिए। ‘सुदन एजेन्ट हो रे। कहिले भारतीय बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ,’ उनले प्रष्टीकरण दिए, ‘म एउटा नागरिक हुँ। सिम्पल एउटा नागरिक। तपाईं जस्तै हो म।’

आफ्नोबारे अफवाह फैलाउने कार्यलाई उनले गलत तरिकाको राजनीतिको संज्ञा दिए। ‘पहिले राजनीति बुझेको थिइनँ, तर अब बुझ्दैछु। अब जान्दैछु। र, उनीहरूले बनाएको संविधान पनि पढ्दैछु,’ गुरुङले भने।

संविधानमै टेकेर अगाडि बढ्ने उनको प्रतिबद्धता छ। उनी थप्छन्, ‘उनीहरूले बनाएको संविधान पढ्दैछु। त्यसलाई टेकेर अब हामी हान्छौं। उनीहरूले सिकाएको पाठ हामी सिक्छौं। उनीहरूले बनाएको नियम/कानुन अनुसार नै उनीहरूलाई भित्र थुन्ने हो।’

विधि र कानुन अनुसार अगाडि बढ्न समय लाग्ने पनि उनले बताए। ‘समय लाग्छ। अलिकति धैर्य धारण गर्नुपर्छ हामी सबै मिलेर,’ उनको आग्रह छ।

‘किन समय लाग्छ?,’ गुरुङको जवाफ छ, ‘८० वर्षसम्म बिगारेको छ। कत्ति भद्रगोल बनाएको छ। भित्र खोक्रो छ। भित्र–भित्र जलेको छ। यो कुरा तपाईंहरूले सिंहदरबार बाहिरबाट बुझ्न जरुरी छ।’

भ्रष्टाचारविरुद्ध भूमिका खेल्न आह्वान

एकै महिनामा सबै समस्याको समाधान हुन सम्भव नभएकाले विस्तारै सुधार गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ। देश बनाउन सबै नेपाली जिम्मेवार बन्नुपर्ने पनि उनको आग्रह छ।

‘टोल–टोलमा गएर त्यहाँ भ्रष्टाचार कहाँ भएको छ फाइल निकाल्न सकिँदैन र !’ नागरिकलाई उनको आह्वान छ, ‘कुन ठाउँको टेन्डरमा घोटाला गरेको छ निकाल्न सकिँदैन र ! हरेक नागरिक सजग भयो भने भ्रष्टाचार अन्त्य हुन्छ।’

हरेक नागरिक सक्रिय भएको दिन भ्रष्टाचारीहरू आफैं डराउने गुरुङले बताए। विगतमा नेपाली जनतासँग नेपाल सरकार नै डराउन नसक्ने जस्तो अवस्था रहेको, जेनजी आन्दोलनले त्यसलाई तोडेको भन्दै उनले यो नै जेनजी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धी भएको सुनाए।

‘नेपालको इतिहासमा पहिलोचोटी नेपाली जनतासँग सरकार डराएको छ। इतिहासमा पहिलोचोटी जनतासँग कर्मचारीहरू डराएका छन्। जनताले आवाज उठाउन पाएका छन्,’ गुरुङ भन्छन्, ‘नेपाली जनताले मन्त्रीलाई तैंले के गरिस् भन्न पाएका छन्। यो हाम्रो आन्दोलनको सबसे ठूलो उपलब्धी हो।’

यो उपलब्धी गुम्न नदिन सबै सर्तक बन्नुपर्ने पनि उनले बताए। ‘प्राप्त उपलब्धी कायम राख्न अझ लड्नुपर्छ। लडौं, अन्तिमसम्म लडौं,’ उनी भन्छन्, ‘तबसम्म लडौं जबसम्म हाम्रो देश बन्दैन।’

विभाजित बनाउने प्रयास नगर्न चेतावनी

गुरुङले जेनजीहरूलाई एकतावद्ध हुन नदिने प्रयास भइराखेको भनेर पनि खबरदारी गरेका छन्। आफूहरूलाई विभाजित गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्।

‘जेनजीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला हामीले उनीहरूको रणनीति बुझेका छैनौं’ गुरुङले भने, ‘जेनजीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ।’

जेनजीको एकता बिथोलेर नेताहरूले जेनजी भन्दा त कांग्रेसै ठीक, एमाले नै ठीक हो भन्ने बनाउन खोजिरहेको जिकिर गरे। ‘अब नेपाली नागरिक भएर सोचौं। एउटै झण्डा मुनि मात्रै बसौं र देश विकास गरौं,’ उनले भने ।

पाइला चाल्नुअघि आफूहरूले हरेक मुभको हिसाबकिताब गरिरहेको उनको भनाइ थियो। ‘अहिले हामी (जेनजीहरू)लाई छुट्याउनको लागि त नेपालीहरूलाई नै छुट्याउनुपर्‍यो। त्यो तागत उनीहरूसँग छैन,’ उनले थपे।

जेनजी अगुवाहरूमध्ये को राम्रो, को नराम्रो भन्ने भाष्य बनाउने काममा नेताहरू लागेको उल्लेख गर्दै उनले आक्रोश पोखे, ‘नराम्रो त्यो नेताहरू हो। अहिलेको समयसम्म देश बिगार्ने नेताहरू हो।’

अहिलेसम्म त्यस्ता नेता नचिनेर नागरिकले तिनलाई भोट हालिरहेको बताएका गुरुङले अब नागरिकले आफ्नो सोच परिवर्तन गर्नु पर्ने बताए। त्यसपछि मात्र समाज परिवर्तन हुने उनको भनाइ छ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?