Comments Add Comment

संसदमा २ दिन अनलाइनखबरको विरोध (भिडियोसहित)

कृषि समितिको बैठकमा के भनेकी थिइन् सांसद राधा ज्ञवालीले ?

८ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राधा ज्ञवालीले विहीबार र शुक्रबार दुई दिन संसदमा बोल्दै अनलाइनखबरको विरोध गरिन् । असार २ गते कृषि समितिमा आफूले बोलेको विषयलाई लिएर भ्रामक प्रचार भएको भन्दै सांसद ज्ञवालीले संसदमा बोलेकी हुन् ।

नेकपा सांसद ज्ञवालीले एउटा समाचारको विषयलाई लिएर पटक-पटक अनलाइनखबरको नाम लिँदै कानूनी कारवाहीको मागसमेत संसदबाटै गरेपछि गत असार २ गते कृषि समितिमा सांसद ज्ञवालीले के भनेकी थिइन् भनेर हामीले यहाँ पुनः एकपटक फ्याक्ट चेक गर्ने प्रयास गरेका छौं ।

असार ५ गते शून्य समयमा सांसद ज्ञवालीको भनाइ-

सम्मानित सभामुख महोदय, केही दिनअगाडि कृषि समितिको बैठकमा मैले अभिव्यक्त गरेका कुरालाई लिएर एउटा अनलाइनखबरले पित पत्रकारिताको एउटा नमूना पेश गरेको छ । र, त्यसले अनेक कुरा लेखेर जनतालाई गलत सूचना प्रवाह गरेकोमा म त्यो अनलाइनखबरप्रति दुखः व्यक्त गर्दै त्यसले आफ्नो जुन खबर छ, त्यसलाई सच्याउन म भन्दछु । र, साथै यस्तो गलत पीत पत्रकारिताको कारणले जनतामा पुगेको जुन दुःख छ । जनतालाई जुन पीडा दिएको छ । त्यसमा म जनताप्रति पीडित छु । किनभने, गलत समाचारले जनतालाई जुन भ्रम सिर्जना गरेको छ । यो पत्रकारिता क्षेत्रको पीत पत्रकारिता गर्ने, जुन अनलाइन हो, यसले अविलम्ब आफ्नो स्पष्टीकरण देओस् ।

असार ६ गते विशेष समयका ज्ञवालीको थप भनाइ–

सम्मानीय सभामुख महोदय, हिजो मैले केही विषयमा प्रकाश पार्न चाहेकी थिएँ । समय अलिकति कम भएको कारणले सबै कुरा भन्न पाइनँ ।
केही दिन अगाडिमात्रै कृषि, भूमि तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी संशोधनका विषयमा समितिमा छलफल भइरहेका बेलामा मैले केही कुरा व्यक्त गरेकी थिएँ । जुन कुरा मैले कुनै पनि जातिविशेष, कसैलाई पनि उल्लेख गरेर मैले भनेकी छैन ।

तर, मैले देखेँ, एउटा अनलाइन समाचारमा मेरो नाम लिएर अनेक भ्रम फैलाउने हिसाबले हाम्रो देशका धर्तीपुत्रहरुका बारेमा एउटा खासगरी, एउटा समुदायको नामै तोकेर, यी नागरिकहरु हाम्रो देशको होइनन् भनेर राधा ज्ञवालीले भनिन् भनेर यस्तो भ्रमात्मक समाचार प्रकाशित गर्ने र त्यस्तो सूचनाको सही समाचार प्रवाह गर्ने व्यक्ति र संस्थाका तर्फबाट यसरी गलत समाचार दिएर हाम्रा देशका नागरिक, हाम्रा दाजुभाइलाई जुन पीडा भएको छ । मजस्तो एउटा जिम्मेवार आजीवन जनता र देशका लागि समर्पित व्यक्तित्वबाट कसरी यस्ता कुरा आए भनेर उहाँहरु चिन्तित हुनुहुन्छ । यसर्थ म उहाँहरु सबैलाई यो जानकारी गराउन चाहन्छु, मबाट त्यस्तो कुनै, मैले कसैलाई केही भनेकी छैन ।

जिम्मेवार सांसदको हैसियतमा मैले अनागरिकहरुलाई, नागरिकता नभएका तर लालपूर्जा भएका नागरिकहरुलाई जमिन दिनुहुँदैन । विगतमा हाम्रो जिल्लामा पनि यस्तो भएको थियो भनेर मैले भनेकी थिएँ । यसको सिंगो रेकर्ड हाम्रो समितिमा छ ।

यस्तो भ्रामक, गलत सूचना प्रवाह गर्ने त्यो संस्थाप्रति म घोर भत्सर्ना गर्न चाहन्छु । र, देशभरिमा जहाँ यो गलत सूचना दिएर नागरिकहरुलाई पीडा दिएको छ । ती सबै मेरा दाजुभाइ, दिदीबहिनी सबैप्रति धेरै संवेदनशील छु कि मबाट यस्तो कतै पनि आफ्नो नागरिक र आफ्नो दाजुभाइ, जुन दाजुभाइको बीचमा बसेर बर्सौंसम्म मैले मेरो राजनीतिक जीवनलाई अगाडि लगेँ । जसको गाँस काटेर, जसको श्रमबाट सिर्जित खानपिन गरेर, लुकाएर राखेर हामीलाई राजनीतिक जीवनमा अगाडि बढाउनुभएको छ, उहाँप्रति म सधैँ नतमस्तक छु ।

मेरा आदरणीय सहयोद्धा कमरेड भीमनारायण थारु, रुपन्देही जिल्लाको हाम्रो नेता हुनुहुन्छ । उहाँको स्मृतिमा मैले स्वयं जिल्लामा उहाँको एउटा मूर्ति स्थापना गरेकी छु । यसर्थ म कदापि, कुनै रुपले पनि आफ्नो देशको नागरिकको विरुद्धमा जान सक्दिनँ । त्यो भनेको मेरो स्वयं मृत्यु हो । म त्यसरी जनताको विरुद्धमा जानु भनेको कुरा, यो कल्पनाभित्रको कुरा होइन ।

र, म च्यालेञ्ज दिन चाहन्छु, सम्बन्धित अनलाइनखबरलाई कि अब यो कानुनको दायराभित्र आउनुपर्छ । कारबाहीको बाटोमा अगाडि जान म बाध्य भएकी छु । यो कुरा पनि मैले जानकारी गराउँदै यो सम्मानित सदनमा यति समय अनावश्यक ढङ्गले कुरा उठान भएको हुनाले स्पष्ट पार्न समय लिएँ । समयका लागि सम्मानीयप्रति आभार व्यक्त गर्दै मेरो कुरा यहीँ टुङ्ग्याउने अनुमति चाहन्छु । धन्यवाद ।

कृषि समितिमा सांसद ज्ञवालीले के भनेकी थिइन् ?

असार २ गतेको कृषि समितिमा उनले बोलेको भनाइलाई सकारात्मक रुपमा लिँदै अनलाइनखबरले असार २ मा अत्यन्तै छोटो समाचार लेखेको थियो, समितिमा ज्ञवालीले बोलेको सबै कुरा समाचारमा उल्लेख थिएन, जुन विस्तारित भनाइ यहाँ प्रस्तुत गरिएको छ ।

संसदीय समितिको सो बैठकमा भूमि विज्ञ जगत बस्नेतले तराईका कतिपय ठाउँको जग्गाका मालिकहरु भारत अमेरिका र बेलायतमा रहेको बताएका थिए । बैठकमा बस्नेतले भनेका थिए, ‘जग्गाका मालिकहरु अमेरिका बस्छन्, युके बस्छन, अन्य देशमा छन् भने यो गम्भीर विषय हो । सिराहमा हनुमाननगर भन्ने छ, त्यसको जमिनका मालिक सीतामढीमा बस्छन् । बाँकेमा सरस्वती मन्दिर भन्ने छ, भारतको मान्छेलाई लगेर बुझाउनुपर्छ । यो विषयलाई सम्बन्धित मन्त्रालयले अध्ययन गरेर प्रस्ताव ल्याउनुपर्छ ।’

भूमिविज्ञ बस्नेतको यही भनाइमा सही थाप्दै सांसद ज्ञवालीले कृषि समितिको सो बैठकमा यसो भनेकी थिइन्-

हजारौं विघा जमीनको मालिक कहाा छ त ? हाम्रो देशको ठूलो भूभागको मालिकहरु बाहिर बस्ने । यहाँको नागरिक नभएको । कुनैको नागरिकता थिएन । अहिले पनि छैन

‘जगत बस्नेतजीले भन्नुभएको धेरै कुरामा मलाई राम्रै लाग्या छ । तर, एउटा कुरा, मैले तराईमा निर्वाचनमा जाँदा ०४८ मै मैले देखें । हजारौं विघा जमीनको मालिक कहाँ छ त ? यो कोहो भन्दा यो पनि चौधरीको, त्यो पनि चौधरी, त्यो पनि चौधरी । को चौधरी ? कहाँ छन् यी मान्छेहरु भन्दा सबै इण्डियामा छन् भनेर भने ।

हाम्रो देशको ठूलो भूभागको मालिकहरु बाहिर बस्ने । यहाँको नागरिक नभएको । कुनैको नागरिकता थिएन । अहिले पनि छैन । तर, जग्गा कुत उनीहरुले लाने, उनीहरुको मान्छेले लैजाने एउटाखालको व्यवस्था थियो । त्यसो भएर अनागरिकहरुलाई हाम्रो जग्गाको मालिक हुन पाउने अधिकार हुन्छ कि हुन्न ? हामीले अब त्यो छुट दिनु हुन्न भन्ने लाग्छ ।’

समितिको बैठकमा सांसद ज्ञवालीले भूमिसम्बन्धी कस्तो नीति बनाउने भन्नेबारे दिएको थप सुझाव यस्तो थियो-

‘हाम्रो केशव बडालजीले भन्नुभयो, जीविकोपार्जनको व्यवस्था गर्ने कुरा राख्नुपर्छ । मलाई लाग्छ, ऐलानी जग्गाको हकमा पनि घरबासको राम्रो ब्यवस्था गरिदिने । जति जग्गा छ, उहाँहरुको रेकर्डअनुसार त्यो जग्गा त राज्यकै हो । उहाँहरु खेती किसानीमै निर्भर हो भने उहाँहरुलाई चाहिँ अब त्यो सहकारीमा लगेर चक्लाबन्दीमा लगेर साझा ढङ्गले उन्नत किसिमले उत्पादकत्व बृद्धि गर्ने गरी लानुपर्छ ।

व्यक्ति विशेषलाई जिविकोपार्जन भनेर हामीले दियौं भने उहाँहरुको जीविकोपार्जन पनि हुन्न । राज्यले पनि उहाँहरुका नाममा भएको १५ कठ्ठा जग्गा राम्रो खेती नहुनेमा जीविकोपार्जन हुँदैन । म तराईको मान्छे, मैले देख्या छु । तर, राम्रो छ भने त बेच्न पनि मिल्छ । यसो भएर अब चक्लाबन्दीमा लानुपर्छ । उहाँहरुको कति योगदान हो त विगतमा त्यस हिसाबको रेकर्ड राख्दै उन्नत हिसावको खेती गर्न, यो जिवीकोपार्जन भन्ने कुरालाई नयाँ बाटो दिनुपर्छ । पुरानैमा टाँसिइरहन हुँदैन भन्ने मलाई लाग्छ ।’

००००

(सम्पादकीय नोट : परिपक्व राजनीतिज्ञ सांसद ज्ञवालीले संसदीय समितिको औपचारिक बैठकमै जसरी थारु समुदायको चित्त दुख्ने गरी लिइन् र अनागरिकहरु ‘हाम्रो देशको ठूलो भूभागको मालिक’ बनेको बताइन्, पूर्वमन्त्री एवं सांसदजस्तो सम्मानित व्यक्तिले नै बोलेको भएता पनि त्यस्तो साम्प्रदायिक अभिव्यक्तिलाई जस्ताको त्यस्तै ढुक्क भएर प्रकाशित गर्नु हाम्रोतर्फबाट पनि असावधानी हुन पुगेको स्वीकार गर्दछौं । आगामी दिनमा नेता/सांसदहरुले बोलेका त्यस्ता अभिव्यक्तिबारे समाचार सम्प्रेषण गर्दा सावधानी अपनाउने प्रतिवद्धतासमेत आदरणीय पाठकसमक्ष व्यक्त गर्न चाहन्छौं ।

अनलाइनखबरले स्पष्टीकरण देओस् भनेर माननीय सांसदज्यूले संसदबाटै माग गरेता पनि पत्रपत्रिकालाई स्पष्टीकरण दिनका लागि संसदको रोष्टम उपलब्ध नहुने भएकाले यसबारे उहाँको थप स्पष्टीकरण प्राप्त भएमा वा प्रेस काउन्सिलमार्फत् केही आएमा हामी फेरि पनि उहाँलाई आफ्नो भनाइ राख्ने अवसर दिन तयार रहेको विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौं । )

विवादको वास्तविकता बुझ्नका लागि यो भिडियो हेर्न सक्नु हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment