Comments Add Comment

डेमोक्र्याटिक पार्टीमा राष्ट्रपतिका दाबेदार २५ पुगे, नौसेनाको पूर्वप्रमुख पनि दौडमा

Photo Credit : Matt Rourke/AP

९ असार, काठमाडौं । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले आउँदो राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारको पहिलो बहसभन्दा ढिलो गरी जोईले आइतबार राष्ट्रपतिको उम्मेदवारको दौडमा होमिएको घोषणा गरेका हुन् । आउँदो राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट हालसम्म २५ जनाले उम्मेदवारी दिएका छन् । त्यसमा जोई थपिएपछि यो संख्या २५ पुगेको हो ।

हरेक ४ वर्षमा राष्ट्रपतिको निर्वाचन हुने प्रावधानअनुसार, अमेरिकामा सन् २०२० को नोभेम्बरमा निर्वाचन हुँदैछ । त्यसका लागि डेमोक्र्याटिक पार्टीभित्र उम्मेदवारको पहिलो बहस भइसकेको छ । यही बहसले नै पार्टीको तर्फबाट कसलाई टिकट दिने भन्ने विषय टुंगो लगाउने छ ।

अमेरिकामा निर्वाचित राष्ट्रपति दुई कार्यकाल  उम्मेदवार बन्ने प्रावधानअनुसार रिपब्लिकनको तर्फबाट भने डोनाल्ड ट्रम्प नै मैदानमा हुनेछन् ।

सैनिक सेवामा ३१ वर्ष बिताएका जोईले आफ्नो उम्मेदवारी घोषणा गर्दै ट्रम्पको सामना गर्न आफू सक्षम रहेको बताएका छन् । भियतनाम युद्धका नायक मानिने जोई इराक र अफगानिस्तानको युद्धमा पनि नेतृत्वदायी भूमिकामा थिए ।

जोईले विश्वमा नेतृत्वदायी भूमिका खेल्ने र जलवायु परिवर्तनको समस्यालाई मूल मुद्दा बनाउने संकेत गरेका छन् । त्यस्तै, विश्वमा बढ्दो चीनको प्रभावबारे पनि अमेरिका गम्भीर बन्नुपर्ने उनले बताएका छन् ।

‘हाम्रो देशलाई त्यस्तो राष्ट्रपति चाहिएको छ जसलाई विश्वको गहिरो अनुभव होस्’, आफ्नो चुनावी अभियानको वेबसाइटमा एक भिडियो सार्वजनिक गर्दै उनले अगाडि थपेका छन्, ‘त्यस्तै हाम्रो अर्थतन्त्र, कूटनीतिको नजरबाट देशको सबै अवयव बुझेको हुनुपर्छ ।’

उनले चीनसँग जारी अमेरिकाको व्यापार युद्ध कोट्याउँदै चिनियाँ प्रभाव अमेरिकाका लागि खतरनाक हुने उल्लेख गरेका छन् । ‘यो सबैका लागि कडा चुनौती हो,’ चीनले फाइभ जीमा मारेको फड्कोबारे बोल्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment