Comments Add Comment

अनिलकेशरी शाहकाे बैंकिङ यात्रा : देशले मलाई धेरै दियो

‘मान्छे तीनचोटि मर्छ, म तीनैचोटि बाँच्न चाहन्छु’

८ असार, काठमाडौं । यहाँ हामी ‘सेलिब्रेटी बैंकर’ अनिल केसरी शाहको सफलताको कथासँगै  उल्लासमय जीवनशैलीको रहस्य खोतल्दैछौं । शाहको परिचय एक सफल बैंकरमा मात्र सीमित छैन, उनी युवापुस्ताका उत्प्रेरक अर्थात ‘मोटिभेटर’ पनि हुन् । शाहको सफलताबाट युवा पुस्ताले धेरै सिक्न सक्छन् ।

प्रातः नियमित अध्यात्म– पूजापाठ, ईश्वर बन्दना । त्यसपछि जिमदेखि स्वीमिङसम्मका शारीरिक तन्दुरुस्तीका क्रियाकलाप । ०९ः१५ तिर हल्का भोजन (ब्रेकफाष्ट) पछि बेलुका ५ बजेसम्म कार्यालयमा ब्यापक ‘टिम वर्क’ । त्यसपछिको पूरै समय परिवारलाई ।

कुटनीतिक परिवारको सदस्य भएकाले अनिल भाइ उज्वल केशरी शाह दुबैको शिक्षादीक्षा बंगलादेश, अमेरिका, भारतमा भयो । अनिलले वासिङ्टन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गरे ।

बेलुका ६–७ बजेदेखि राति १०–११ बजेसम्म घरमा खानपान, पारिवारिक परिहास र तास भिडन्तदेखि देश विदेशका मुख्य टेलिभिजन च्यानलहरुको हेडलाइन सुन्ने अनि आवश्यक कागजात अध्ययन । शनिबारचाहिँ पूरा दिन परिवार र आफैंलाई । भोलिपल्ट बिहान गायत्री मन्त्र जपसँगै सुरु हुने व्यस्त दैनिकी त छँदैछ ।

चर्चित बैंकर शाहले प्राप्त गरेको सफलता र खुशीका बारेका सोधखोज गर्नुपूर्व उनको पारिवारिक पृष्ठभूमि एवं वाल्यकालीन शिक्षादीक्षाबाट प्रशंग सुरु गरौं ।

‘भाग्यमानी’ पारिवार

बैंकर अनिल केशरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्यस्वरी शाहका नाति हुन् । उनी डा. नारायण केसरी शाह र नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहका जेठा छोरा हुन् ।

अनिलका बुबा डा. नारायण केसरी शाह चर्चित कुटनीतिज्ञ, तथा मानवअधिकारवादी ऋषिकेश साहका भाइ हुन् । उनको विवाहिक नाता नेपाली कांग्रेसका नेता सुवर्ण शमसेर राणाकी नातिनी रति राज्यलक्ष्मीसँग जोडिएको छ ।

कुटनीतिक परिवारको सदस्य भएकाले अनिल भाइ उज्वल केशरी शाह दुबैको शिक्षादीक्षा बंगलादेश, अमेरिका, भारतमा भयो । अनिलले वासिङ्टन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गरे ।

संसारको आकर्षण मानिने अमेरिकामा अवसर हुँदाहुदै वृत्ति विकासका लागि अनिलले नेपाललाई नै रोजे । आखिर किन ?

नेपाल आमाको मायाले तान्यो, जन्मभूमिको माटोले बोलायो भन्ने जस्ता कारणले नभई युवाकालको अधिकांश समय बाहिर बसेकोले आफुलाई नेपाल नै चाहिएको उनले बताए । ‘त्यस बाहेक’, अनिल भन्छन्, ‘म अमेरिका बसेको भए नेपालमा भन्दा सम्पन्न हुन्थे, तर यो इज्जत अमेरिकाले दिँदैनथ्यो । मैले नेपाललाई जति दिएँ त्योभन्दा लाखौं गुणा बढी आफूले पाएको छु ।’

अनिल शाह काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा जन्मिए । आमाबुवा जागिरे भएकाले उनी धाईआमाहरुका बीच हजुरमुमाको काखमा हुर्किए । धार्मिक संस्कार हजुरमुमाबाटै सिके ।

आमाको पहिलो विदेश सरुवा बंगलादेशमा भएपछि अनिल र उज्वल ढाका गए । त्यसबेला धाईआमाहरुले मोटरमा राखेर कान्तिश्वरी विद्यालय लैजान–ल्याउन थालेका अनिलको खुट्टामा धुलो पर्ला कि भन्ने चिन्ता गर्नुहुन्थ्यो, हजुरमुमा । ‘हजुरमुमालाई छाडेर ढाका जानु पर्दा जिन्दगीमा पहिलो पटक गाह्रो महशुस भयो’, अनिल सम्झन्छन्, ‘धन्न बीचबीचमा हजुरमुमाबुवा र बुवा ढाका आइबक्सियो ।’

अनिलले ढाकाको बोर्डिङ स्कुलमा कक्षा चारसम्म पढे । त्यसबेला आफ्नो काम आफैं गर्न सिकेको उनी सम्झन्छन् । त्यो स्कुलले अनिल शाह हजुरआमाबाको नाती र मुमाबुवाको छोरा भए पनि एउटा फरक मान्छे हो भनेर सिकाएको उनी बताउँछन् ।

आमाको सरुवा भएर काठमाडौं आउँदासम्म अनिल र उज्वलको नेपाली निकै कमजोर भएको थियो । उनीहरुलाई नेपाली सिकाउनकै लागि बुढानीलकण्ठ र सेन्टजेभियर छाडेर केही महिना आनन्दकुटी स्कुलमा भर्ना गरियो । त्यसपछि राजाको छोरा भनेर ‘स्पेशल ट्रिटमेन्ट’ नदिने बनस्थली स्कुलमा भर्ना भएको अनिल बताउँछन् ।

अनिलले कक्षा ७ को परीक्षा दिइसक्दा बहुदलीय व्यवस्था पुनः स्थापनाका लागि जनआन्दोलन चर्किन थालेकाले नेपालमा पठन पाठनको वातावरण बिग्रियो । त्यसपछि अनिल र उज्वललाई भारतको दिल्लीमा ब्रिटिस स्कुल भर्ना गरियो, जहाँबाट अनिलले ‘ओ लेभल’ गरे ।

‘ओ लेभल’ गरेर अमेरिकातिर

साथीहरु ए लेभल गर्न बेलायत जान थाले । बुबा र आमा दुबै अमेरिका पढेका हुनाले अनिललाई चाहिँ अमेरिका लैजाने निर्णय भयो । ‘त्योबेला डा. भेषबहादुर थापा त्यहाँ नेपाली राजदूत हुनुहुन्थ्यो’, अनिल भन्छन्, ‘बुबामुमाले मलाई सहयोगका लागि उहाँकै जिम्मा लगाइबक्स्यो ।’

अमेरिका बसाइको कथा अनिल यसरी सुनाउँछन् :

त्यहाँ स्नातक तह अध्ययनका लागि प्लस टू उतीर्ण भएको हुनुपर्ने रहेछ, तर म ‘ओ लेभल’ अर्थात् १० कक्षासरह मात्र थिएँ । तै पनि, नेपालबाट आएको भनेपछि वासिङ्टनको कलेजले प्रवेश परीक्षा पास गरे भर्ना लिने भन्यो । मैले परीक्षा उतीर्ण भएर एडमिसन गरेपछि घरमा खबर गरेँ, सबैजना निकै खुसी होइबक्स्यो ।

त्यो बेला वासिङटनमा वियर खान पाइने उमेर १८ वर्ष थियो । १६ वर्षको म बार, पव र क्लबमा जान पाउदिनँ थिएँ । साथीहरु त्यहाँ जाने समयमा मैले पुस्तकालयमा बिताउनुपर्ने भयो । त्यसले मलाई राम्रै गर्‍यो, चार वर्षमा इन्टरनेशनल बिजनेश फाइनान्समा बीबीए गरेँ ।

त्यसपछि के गर्ने भनेर सल्लाह लिँदा सबैले २० वर्षको मात्र छौ, दुई वर्षको ‘प्राक्टिकल ट्रेनिङ भिसा’ लिएर कामको अनुभव लेऊ अनि एमबीए गर भने । त्यसमा मैले आधा मात्र सल्लाह लिने निर्णय लिएँ– दुई वर्ष ‘ब्रेक’ लिने, तर ‘प्राक्टिकल ट्रेनिङ भिसा’ नलिएर नेपालमै गएर काम गर्ने ।

अमेरिकाबाट फर्केपछि फेरि दिल्ली

देशमै फर्किएर फुर्सदिला दिन बिताइरहेका बेला अमेरिकाको प्रख्यात प्यारामाउन्ट पिक्चर्सको चलचित्र टोली उपयुक्त ‘लोकेशन’ खोज्दै अनिलकै घर आइपुग्यो । अमेरिकामै पढेको, राम्रो अंग्रेजी बोल्ने २० वर्षे चक्लेटी युवक, त्यो पनि घरबेटीसँग फिल्मी टोली प्रभावित भयो नै । अनि ‘नाइट ट्रेन टु काठमाडौं’ का निर्देशकले अनिललाई निर्देशन सहायकको भूमिका दिए ।

ग्रीण्डलेज बैंकमा सहायक तहको विज्ञापन खुल्यो, उनले सुटुक्क आवेदन दिए । उत्तीर्ण पनि भए । १३ वर्षमा उनी ग्रीण्डलेज बैंकको ‘सेकेण्डम्यान’ बने ।

प्यारामाउन्टको त्यो प्रोजेक्टमा काम गरेपछि बुवामुमालाई लामो कपाल पालेको तन्नेरी छोरा फिल्म लाइनतिरै लहसिन्छ कि भनेर चिन्ता लागेछ । उनीहरुले छोरालाई सम्झाए । त्यसपछि दायाँ–बायाँ नगरी काठमाडौंमै एकीकृत पर्वतीय बिकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा वित्तीय विश्लेषक भएर दुई वर्ष काम गरेको बताउँदै अनिल भन्छन्, ‘त्यसै बखत मुमा भारतका लागि नेपाली राजदूत नियुक्ति होइबक्स्यो ।’

अनि अनिल एमबीए गर्न अमेरिका होइन, आमासँगै दिल्ली पुगे । दिल्ली विश्वविद्यालयमै पढ्न मन लाग्नुको भित्री कारणचाहिँ सुवर्ण शमसेर राणाका छोरा रुक्म शमसेरकी छोरी रति राज्यलक्ष्मी पनि दिल्लीमै थिइन्, जो दिल्लीकै अर्को विश्वविद्यालयमा पढिरहेकी थिइन् ।

दिल्लीमा रतिसँग भेटघाट गर्दै एमवीए सिध्याउँदा नसिध्याउँदै अनिललाई कामको ‘अफर’ आयो । ‘तर अमेरिकामा त काम गरिनँ भने भारतमा के गरौं भन्ने लाग्यो’, शाह भन्छन्, ‘खासमा मलाई नेपालमै काम गर्छु भन्ने थियो ।’

राजा महेन्द्रले २०१७ पुसमा सत्ता पलट गरेपछि नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री सुवर्ण समशेर राणा फेरि कोलकता पलायन भए । काठमाडौंमा उनको सम्पत्तिसमेत जफत भयो । राणा र भिरकोटे राजा तारकबहादुर शाह परिवारबीच पहिल्यैबाट राम्रो सम्बन्ध थियो । त्यही परिवारिक सम्बन्धका कारण अनिल र रतिको चिनजान भयो ।

उनीहरुको मित्रता प्रेममा परिणत भएको थाहा पाउँदा दुवै परिवार खुसी भए । अनि पारिवारिक सल्लाहअनुसार नै उनीहरुको विवाह भयो । विवाहपछि नेपाल आएकी रति राज्यलक्ष्मीले त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्नात्तकोत्तर गरिन् । भारतमा उनले पोषण विज्ञानमा स्नातक गरेकी थिइन् ।

ग्रीण्डलेज बैंकबाट ‘करियर’ शुरु

एमबीए गरेर नेपाल फर्किँदा अनिललाई जागिरे बनाउने पहुँच र स्रोतको कुनै कमी थिएन । त्यहीबेला ग्रीण्डलेज बैंकमा सहायक तहको विज्ञापन खुल्यो, उनले सुटुक्क आवेदन दिए । उत्तीर्ण पनि भए । त्यसपछि परिवार र आफन्तहरुमा खैलाबैला भयो ।
‘परिवारको खास आपत्ति मासिक ३५ सय तलबमा थियो’, रमाइलो मान्दै अनिल भन्छन्, ‘कति आफन्तले बुवाआमाले तिम्रो शिक्षामा खर्च गरेको रकम यस्तो जागिरबाट १० जन्ममा पनि आउँदैन भनेर छाड्ने सल्लाह पनि दिनुभयो ।’

तर, उनी बैंकको नेतृत्व तह ताकेर सहायक पदमा पसेका थिए । नभन्दै, १३ वर्षमा उनी ग्रीण्डलेज बैंकको ‘सेकेण्डम्यान’ बने । त्यहीबीचमा ग्रीण्डलेज बहुराष्ट्रिय स्टाण्डर्ड चार्टर्ड बैंकमा गाभियो । स्टाण्डर्ड चार्टर्डले अनिललाई केही वर्ष विदेशको शाखामा काम गर्न भन्यो ।

‘स्टाण्डर्डकै अन्य देशमा रहेका अफिसमा केही वर्ष काम गरे नेपालमा प्रमोशनका लागि सिनियर हुन सकिने कुरा थियो, तर कति वर्ष भन्ने टुंगो थिएन’, अनिल भन्छन्, ‘सबैभन्दा प्रमुख कुरा त मलाई विदेश जाने इच्छा नै थिएन, त्यसैले स्टाण्डर्ड चार्टड छाडेर नविल बैंक ज्वाइन गरेँ ।’

त्यसबेला नविल बैंकमा भारतीय नागरिक सुरज मेहता प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । अनिल महाप्रवन्धक (जीएम) हुन तयार भए । स्टाण्डर्ड चार्टडको विदेश जाने ‘अफर’ छाडेर सेकेण्डम्यानकै रुपमा नविल आउँदा आफन्त र साथीभाइले फेरि किचकिच गरे । ‘कि विदेश जान, कि त सीईओ हुन उहाँहरुको सुझाव थियो’, अनिल सम्झन्छन् ।

त्यो रसाकस्सीमा सल्लाह माग्दा बुबाले भनेको कुरा सुनाउँदै अनिल भन्छन्, ‘तिमी बाहिर गएर देश फर्कंदा आफ्नै प्लेनमा आउन सक्छौं र यहाँ सिंगै डाँडा किनेर दरबार बनाउन सक्छौं भने अवश्य जाऊ । हैन, फर्केर आएपछि यही मोटर चढ्न पर्ने, यही पुर्खौली दरबारमा बस्नुपर्ने भए किन जान्छौ ?

बुबाको यस्तो कुराले अनिललाई आफ्नो निर्णयमा अडिग बनायो ।

पहिलो नेपाली सीइओ

अनिल करिब डेढ वर्षपछि नविल बैंकको सिईओ नै बने । नेपालको बैंकिङ इतिहासमा पहिलो सीईओ हुन्, उनी । नेतृत्व लिएको ५ वर्षमा आफूले नविल बैंकलाई नम्बर वान बनाएको शाह बताउँछन् । उनी भन्छन्, ‘सञ्चालक समिति र बैंकमा कार्यरत सबैको व्यापक ‘टिमवर्क’ बाट त्यो सम्भव भएको हो ।’

नविललाई नम्बर वान बनाएपछि अनिल मेगा बैंकको सिईओ हुन पुगे । उनले नम्बर वान बैंकबाट ‘अपरेटिङ लाइसेन्स’ समेत नपाएको बैंकमा जाने आँट गरेका थिए । त्योबेला केही डर पनि लागेको उनी बताउँछन् । हुन पनि, ‘बैंकिङ ‘सिनारियो’ एकदमै बदलिइरहेको र तरलताको समस्या निकै बढेको समय थियो, त्यो ।

‘त्यस्तो बेला पनि मलाई हेरेर ५० जनाको टिम मेगामा आइसकेको थियो’, अनिल सम्झन्छन्, ‘असफल भए म त अर्कोमा जागिर पाउँला, तर ५० जनालाई के हुन्छ भन्ने डर लागेको थियो ।’

आठ वर्षमा मेगालाई स्थापित बनाएर अहिले उनी अहिले पुनः नबिल बैंकमै फर्केका छन् ।

समय व्यवस्थापन

एउटा सफल बैंकरले समय व्यवस्थापन कसरी गर्छ ? हाम्रो जिज्ञासामा अनिल शाह यसरी प्रस्तुत भए–

मान्छेका लागि सबैभन्दा ठूलो कुरा समय हो । तीन जनालाई १०/१० हजार रुपैयाँ दियो भने एउटाले रेष्टुरेन्टमा लगेर खर्च गर्ला, अर्कोले जुवा खेल्ला र अर्कोले सेयरमा लगानीमा गर्न सक्छ । सबैले आ–आफ्नै सोच अनुसार गर्छन् । रेष्टुरेन्ट जानेले केहीबेर रमाइलोमा रकम सक्छ । जुवा खेल्नेले सबै हार्न सक्छ, त्योभन्दा धेरै जित्न पनि सक्छ । सेयरमा लगानी गर्नेले पनि कमाउला ।

सबैलाई उपलब्ध हुने दिनको २४ घण्टा नै हो । कोही २४ मा १२ घण्टा सुतेरै बिताउँछन् । बाँकी समय पनि गफगाफमा बिताउन सक्छन् । कसैले कामलाई बढी समय दिन्छन् । परिवारलाई समय नदिने पनि हुन्छन् । पैसा कमाउनेमा केन्द्रित हुँदा घरपरिवारका लागि समय निकाल्न गाह्रो हुन्छ ।

समय पछि सोच महत्वपूर्ण कुरा हो । कसैले परिवारलाई बढी समय दिँदा अन्य कुरा छुटेका हुन सक्छन् । म आफू चाहिँ काम र परिवारलाई उत्तिकै महत्व दिएर समय व्यवस्थापन गर्छु ।

खुशीका पाँच तत्व

अनिल केशरीले खुसीका पाँच तत्व पहिचान गरेका छन्– एक– परिवार र साथीभाइ । दुई– पैसा । तीन– स्वास्थ्य । चार– पावर (पद) । र, पाँच– सेवा । यीमध्ये कसैलाई कुनै एक तत्व धेरै चाहिने उनको बुझाइ छ । उनी भन्छन्, ‘मचाहिँ यीमध्ये पहिलो अर्थात् परिवार र साथीभाइलाइ बढी महत्व दिन्छु ।’

जीवनलाई खुसीतर्फ लम्किने यात्राका रुपमा परिभाषित गर्ने बैंकर अनिलको स्वास्थ्य र पावर (पद) गज्जव अवस्थामा छ । उनी सेवाको अवसर पनि गुमाउँदैनन् । पैसा (मासिक कमाइ) को अवस्था चाहिँ के छ त ?

यो प्रश्नमा उनी उमेरको सवालमा जस्तै खुला हुन चाहेनन् । उनले भने, ‘अहिले पनि मेरा जिजुबुबाले बनाइबक्सेकै दरबारमा बसिरहेको छु । आफूले कमाएको रकम सम्पत्तिमा लगानी गर्न ध्यान दिएको छैन । मलाई घुमफिरमा खर्च गर्न गाह्रो लाग्दैन । वर्षमा एक वा दुईपटक घुम्न जान्छौं । आर्यघाट जानेबेला हुँदा म यो बैंकमा मेरो यति पैसा छ, यति सुन छ, यतिवटा लालपूर्जा छ भनेर सम्झिन चाहन्न । बरु, त्यो पहाड चढेको थिएँ, त्यो रमाइलो ठाउँ गएको थिएँ भनी सम्झन चाहन्छु ।’

कसैले कामलाई बढी समय दिन्छन्, परिवारलाई समय नदिने पनि हुन्छन् । कसैले परिवारलाई बढी समय दिँदा अन्य कुरा छुटेका हुन सक्छन् । मचाहिँ काम र परिवारलाई उत्तिकै महत्व दिएर समय व्यवस्थापन गर्छु ।

अनिल र रतिका एक छोरी छिन्– आर्या । यतिमै उनीहरुले सन्तानको रहर पूरा गरे । एक्ली छोरीबारे अनिल भन्छन्, ‘मानिसहरु दुई सन्तान राम्रो हुने भन्छन् । कोही एक्ली छोरी त अब छोराजस्तै हुन्छिन् भन्छन् । तर, म मेरी छोरी छोरीकै रुपमा चाहिन्छ भन्छु । बुवाआमा असक्त भएर उपचार गर्न अस्पताल लैजानेमध्ये ८० प्रतिशत छोरी हुन्छन् । बाँकी २० प्रतिशतमा पनि अधिकांश बुहारी हुन्छन् । दिलैबाट बुढा बाबुआमाको हेरचाह गर्ने छोरा त ज्यादै कम हुन्छन् ।’

व्यावसायिक सफलताको शिखर चुमेका अनिलले खुसी र दुःखलाई दुई किसिमले वर्गीकरण गरेर तदनुरुप मनाउने गरेका रहेछन् । उनी व्यक्तिगत उपलब्धि वा खुसी परिवार र साथीभाइसँग मनाउने, व्यावसायिक सफलताको खुशी अफिसमा ‘सेलिब्रेट’ गर्ने गर्छन् ।

‘म अफिसका साथीहरुलाई घर लिएर जाने वा घरका कसैलाई अफिस लिएर आउने गर्दिनँ’, अनिल भन्छन्, ‘हिजोआज कहिलेकाही एक हदसम्म यसो गरेको भए हुने रहेछ भन्ने पनि लाग्छ, तर अब ढिला भइसक्यो ।’

तीनैपटक नमर्ने ईच्छा

अनिल केशरी शाहले एकजना मानिस तीन पटक मर्ने विश्लेषण सुनाए ।

उनलाई एकजना गुरुजीले भनेअनुसार, शरीर निष्प्राण हुनु मानिसको पहिलो मृत्यु हो । मृत्युपछि कसैले पनि उसको नाम लिँदैन भने त्यो दोस्रो मृत्यु हो । र, त्यसपछि इतिहासमा कसैले उसलाई सम्झँदैन भने त्यसो उसको तेस्रो मृत्यु हो ।

‘मलाई गुरुजीले दोस्रो र तेस्रो मृत्यु नहोस् भन्नुभएको छ’, अनिल भन्छन्’, ‘दोस्रो र तेस्रो मृत्यु आउँदै नआओस् भन्ने सोच राख्छु ।’
गुरुजीको चर्चासँगै हामीले उनलाई आदर्श लाग्ने व्यक्ति को हो भनेर सोध्यौं । शाहले कुनै एक व्यक्तिबाट नभई धेरै व्यक्तिहरुबाट प्रेरणा लिएको बताउँदै एकै व्यक्तिमा धेरै कुरा नखोज्न सुझाव दिए ।

‘मलाई संस्कार सिकाउने हजुरमुमा, हजुरबा, आमाबुवा मेरा लागि आदर्श व्यक्ति रहिबक्यो’ शाहले भने, ‘व्यवसायिक क्षेत्रका अन्य धेरै महानुभावहरुबाट पनि मैले धेरै सिकेको छु ।’

तीमध्ये एक विनोद चौधरी भएको उनले बताए । ‘वहाँ अर्बपति हुनुभयो, अब वहाँका छोराहरु खर्बपति बन्नुभयो भने वहाँहरुलाई पनि आदर्श मान्छु’, अनिल भन्छन्, ‘आदर्श मान्छेको तस्वीरमा धुप बाल्ने होइन, ऊबाट प्रेरणा लिएर आफ्नो क्षेत्रमा प्रगति गर्नुपर्छ ।’

रमाएको/रोएको दिन

जीवनमा सबभन्दा धेरै रमाएको दिनबारे सोध्दा बैंकर अनिल शाहले छोरी जन्मेको दिनलाई सम्झिए । उनले भने, ‘मेरो जीवनमा त्यो जस्तो खुशीको दिन फेरि आउँछजस्तो लाग्दैन । भाइको देहान्त भएको जस्तो दुःखले रोएको दिन पनि अब आउँदैन ।’

त्यसो त छोरीले अमेरिकाको युनिभर्सिटीमा एडमिसन पाउँदा खुसीले रोएको पनि उनले बताए । ‘आँशु दुःखमा मात्रै होइन, खुसीमा पनि आउँछ, उनले भने, ‘राति २ बजे आएको युनिभर्सिटीको इमेलमा ‘बधाइ’ लेखिएको देख्दा आँशु थाम्न सकिनँ ।’

पहिला आफ्नो हजुरमुमा बसेका कक्षा, हलहरुमा अहिले नातिनी बसिरहेको शाहले बताए । त्यसलाई उनले आफ्नो मुमाले बिताएको जस्तै जिन्दगी बिताउने छोरीले पनि पाएको रुपमा अर्थ्याए ।

आजसम्म आफूलाई परेको पीडाबारे अनिल केशरी शाहले सुनाए–

मुमा हामीसँगै डिनर गरेर बेडरुममा गइबक्सेको थियो । बुवा पनि हामीलाई गुडनाइट भनेर बेडरुमतिर लागिबक्यो । पलङमा बसेपछि ‘ओ।।।’ मात्र भन्न सकिबक्स्यो । कति पनि समय खेर नफाली नर्भिक अस्पताल त पुरायौं, तर उहाँलाई बचाउन सकिएन ।

मेरा प्रेरणा र आँटको स्रोत, देवतातुल्य बुबाहजुरको असामयिक स्वर्गारोहण हाम्रो परिवारका लागि अतिशय पीडादायी रह्यो । त्यो पीडा पचाउने प्रयत्नकै बीच हामीमाथि त्यस्तै अर्को आकस्मिक प्रहार भयो ।

मेरा ४२ वर्षका एकमात्र भाइको पनि लगभग बुबाकै जस्तो गरी अप्रत्यासित निधन भयो । बेलुका खाना खाएर तन्दुरुस्तै सुतेका उज्वल बिहान उठ्न सकेनन् । त्यो घटनाले हाम्रो परिवारलाई ठूलो चोट पुर्‍यायो । मलाई अहिले पनि भाइ सम्झँदा ऊ छ, कतै बाहिर गएको छ जस्तो लाग्छ ।

तस्वीर : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment