News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादी केन्द्र छाडेका नेता राम कार्कीले माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन्।
 - कार्कीले माओवादीले नयाँ बाटो समात्न नसकेको स्वीकार्दै अब शान्तिपूर्ण तर जुझारु संघर्ष आवश्यक रहेको बताए।
 - माओवादी असन्तुष्ट पक्षले वाम ध्रुवीकरणको घोषणाका लागि छुट्टै मोर्चा बनाउने तयारी गरिरहेको छ।
 
१८ कात्तिक, काठमाडौं । माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन् ।
माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकिएको भए मुलुक रुपान्तरित हुनसक्थ्यो भनेका छन् ।
तर, माओवादी पार्टी संसदीय राजनीतिमा रुमल्लिएर सकिएको उनको निष्कर्ष छ ।
ललितपुरमा आज आयोजित वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा माओवादी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, ‘फेरि सशस्त्र संघर्ष नै निरन्तर लैजानु सम्भव थिएन तर, संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्ण रूपमा सकिनु गलत भयो ।’
सशस्त्र संघर्ष रोकिएपछि माओवादीले नयाँ बाटो समात्न नसकेको उनको स्वीकारोक्ति छ ।
अब शान्तिपूर्ण तर जुझारु संघर्ष आवश्यक रहेको नेता कार्कीले बताए ।
दलका नेताहरू वयोवृद्ध भइसक्दा पनि नेतृत्व छाड्न नचाहेको भन्दै उनले कटाक्ष गरे । ‘हाम्रा नेताहरू ७५ वर्ष पुगिसक्दा पनि म छैन भने मेरो पार्टी रहँदैन भनेर हिँडिराखेका छन्, यो स्थितिको अन्त्य हुनुपर्छ,’ उनले भने ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन कूशासनको परिणाम भएको नेता कार्कीले नेताहरूमा अझै पनि ग्लानीभाव नदेखिएको र क्षमासमेत नमागेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने, ‘लगातार बिसौं वर्षदेखि जुन कूशासन चलेको छ, अझ भनौं ५०औं वर्षदेखि, त्यो कूशासन विस्फोट भएको हो, त्यो कूशासनका हर्ताकर्ताहरू अहिलेसम्म पनि जनताको अगाडि आएर हामीलाई क्षमा गर्नुस्, हाम्रो कारणले गल्ती भयो, हाम्रो कारणले असन्तोष बढ्यो, किसानको चित्त बुझेन, नेपाली नवयुवकहरू एकदमै अनिश्चित भविष्यका निम्ति संसारका विभिन्न कुनामा दु:खजिलो गरेर जान विवस छन्, यसका निम्तिमा हामी क्षमा चाहन्छौं, हामी माफी चाहन्छौं भन्ने स्थितिमा कोही पनि छैन ।’
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलले एकता गर्ने भएपछि त्यसमा असन्तुष्टि जनाउँदै नेता कार्कीसहित जनार्दन शर्मा, अन्जना विशंखे लगायतका नेताले छुट्टै मोर्चा कस्ने तयारी गरेका छन् ।
वाम ध्रुविकरणको घोषणाका लागि प्रचण्डसँग असन्तुष्ट उनीहरूले आज ललितपुरमा पत्रकार सम्मेलन गरेका हुन् ।
माओवादीको यो असन्तुष्ट पक्षले एकीकृत समाजवादीको झलनाथ खनाल, घनश्याम भूसाल र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपालबीच मोर्चाबन्दीको तयारी गरिरहेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4