+
+
Shares

रुकुममै एक्लिए जनार्दन, सहयोद्धा बने प्रतिस्पर्धी

माओवादी कर्णालीका शक्तिशाली नेता मानिने जनार्दन शर्माको शक्ति कर्णालीमै कमजोर बनेको छ । विगत दुई दशकदेखि रुकुमको राजनीतिमा एकछत्र राज गरेका शर्माले आफ्नो गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट कालो झण्डाको सामना गर्नुपर्‍यो ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ मंसिर २९ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनार्दन शर्माले प्रचण्डबाट अलग भएपछि रुकुम पश्चिममा आफ्नै कार्यकर्ताबाट कालो झन्डा देखाइएको छ।
  • गोपाल शर्मा लगायतका उनका विश्वासपात्रहरूले जनार्दनको साथ छोडेका छन् र प्रचण्डको पक्षमा उभिएका छन्।
  • जनार्दनले माओवादी पार्टी छोडेपछि कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव कमजोर भएको छ।

२९ मंसिर, सुर्खेत । केही महिनाअघि मात्रै जनार्दन शर्मालाई फूलको गुच्छाले स्वागत गर्न तँछाडमछाड गर्ने युवाहरूले नै आइतबार कालो झन्डा देखाए । प्रचण्डबाट अलग भएपछि पहिलो पटक गृहजिल्ला रुकुम पश्चिम गएका शर्माले विरोधको सामना गर्नुपर्‍यो ।

विगत दुई दशकदेखि रुकुमको राजनीतिमा एकछत्र राज गरेका शर्माले आफ्नो गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट कालो झण्डा देख्नुपरेको थियो । कम्युनिस्ट पार्टी छोडेका कारण उनलाई यसरी कालो झण्डा देखाइएको नेताहरू बताउँछन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माओवाद छाडेका प्रभाकरले हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका छन् । जसको संरक्षकको भूमिकामा आफूलाई राखेका छन् । ‘हिजो माओवादी क्रान्तिको नाममा हामीलाई लडाउने, भिडाउने, घाइते बनाउने अनि अहिले उनैले कम्युनिस्ट पार्टी छाड्ने ?,’ कालो झण्डा देखाउन गएका एक पूर्वजनमुक्ति सेनाले भने, ‘शहीदको बलिदानीलाई मजाक बनाउनेलाई फूल दिन सकिएन ।’

शर्माले पार्टी भित्र अन्तरसंघर्ष गरे पनि माओवाद नै छाडेपछि पूर्वजनमुक्ति सेनाको एउटा समूहले नै कालो झण्डा देखाएको ती पूर्वलडाकुले बताए । ‘रुकुम माओवादी क्रान्तिको उद्गम थलो हो । उर्वर भूमि हो,’ उनले भने, ‘हामी कुनै पनि व्यक्ति त्याग्न सक्छौँ । तर क्रान्ति त्याग्न सक्दैनौँ ।’

जनार्दनलाई कालो झण्डा देखाएकै दिन दिउँसो नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले मुसिकोटमा जनवर्गीय सङ्गठनहरूको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम गरेको थियो । कार्यक्रमका वक्ता रहेका गोपाल शर्माले जनार्दनलाई कालो झण्डा देखाउने युवाहरूलाई धन्यवाद दिए ।

‘हामी क्रान्तिका पक्षधर हौँ भन्दै आज युवा साथीहरूले एउटा सङ्केत गरे । म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु,’ भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विश्वासघातीलाई कालो झण्डा मात्रै हैन, के‐के गर्छन् । इतिहासमा देखिँदै जान्छ ।’

जनार्दनले क्रान्तिकारी छविलाई विसर्जन गरेको, रुकुमको क्रान्तिकारी विरासतलाई निर्मूल पारेको र फुटको बाटो रोजेको भन्दै उनले चर्को विरोध गरे ।

यसरी विरोधमा उत्रिएका गोपाल हिजोका दिनमा जनार्दनका सबैभन्दा बढी विश्वास पात्र थिए । जनार्दन गृहमन्त्री हुँदा गोपाल उनका स्वकीय सचिव थिए । तत्कालीन माओवादीका केन्द्रीय सदस्य रहेका गोपाल जनार्दनकै सहयोगमा २०७४ मा प्रदेशसभा सदस्य र कर्णाली प्रदेशको अर्थमन्त्री समेत बनेका थिए ।

धेरैको अनुमान थियो, गोपाल जनार्दनकै बाटोमा हिँड्छन् । तर उनै गोपाल अहिले प्रचण्डको पक्षमा देखिएका छन् । र, रुकुम पश्चिममा जनार्दनको प्रखर प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।

‘उहाँसँग मेरो राजनीतिक वैचारिक सम्बन्ध हो । त्यो नै टुटेपछि सम्बन्ध पनि रहने कुरा भएन,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँ प्रगतिशील भन्दै पतनशील लोकतान्त्रिकतिर लाग्नु भयो । त्यो पतनको बाटोमा हिँड्न सकिएन ।’

१२ वर्षको उमेरदेखि कम्युनिस्ट राजनीतिमा लागेका गोपाल र जनार्दनको चिनजान २०४६ सालमा भएको हो । तर २०५६ देखि भने औपचारिक सहकार्य भएको गोपाल बताउँछन् । ‘एक महिना अगाडि मात्रै उहाँले हामीसँगको सम्बन्ध तोड्नु भयो । अन्तरसङ्घर्ष गर्छु, तर पार्टी फुटाउन्न भन्नुहुन्थ्यो । उहाँले त हामीलाई नै ढाँट्नु भयो नि ।’

गोपालले जनार्दनसँग छुट्नुअघि समय मागेर करिब ३ घण्टा छलफल गरेका थिए । ‘उहाँले एक्लै भए पनि नयाँ पार्टी बनाउँछु भन्नुभयो । मैले पार्टीको अन्तरसंघर्षमा हामी जीवनभर साथ दिन्छौँ । तर पार्टी छोडेपछि सँगै जान नसकिने जानकारी गराएको थिएँ,’ उनले भने ।

विश्वास पात्रहरूले नै छाडे साथ

जनार्दनकै भाइ–बुहारी नाता पर्ने तत्कालीन माओवादीका केन्द्रीय सदस्य वसन्त शर्मा र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पनि उनको साथ छोडेका छन् । र, अहिले उनीहरू प्रचण्ड संयोजक रहेको नेकपामै छन् । यसअघि जनार्दनसँगै रहेर विमला २०७० सालमा संविधानसभा सदस्य भइन् । २०७४ पछि प्रदेशसभा सदस्य र कर्णाली प्रदेश सरकारको मन्त्री समेत बनेकी थिइन् ।

जनार्दनका अर्का विश्वासपात्र हुन्, तत्कालीन माओवादी रुकुम पश्चिमका संयोजक गोविन्द रोका (सचिन) । उनले पनि जनार्दनको साथ छोडेका छन् । ‘उहाँले प्रचण्ड र कम्युनिस्ट पार्टी नै त्याग्नु भयो । त्यसपछि हामी उहाँलाई नै त्याग्न बाध्य भयौँ,’ रोकाले अनलाइनखबरसँग भने, ‘उहाँले २०औँ वर्ष सत्तामा पुर्‍याउने कार्यकर्ताको कुरा सुन्नु भएन । त्यसपछि हामी पनि अलग्गियौं ।’

उनका अनुसार, गत असोजको दोस्रो साता जनार्दन सहितका नेताहरूले जिल्लाका ६ वटै स्थानीय तहमा पार्टीका जनप्रतिनिधि, बुद्धिजीवी र स्थानीय तहका कार्यकर्ता सम्मिलित छलफल गरेका थिए । त्यतिबेला ६ वटै स्थानीय तहका नेता तथा कार्यकर्ताहरूले जनार्दनलाई पार्टीभित्र अन्तरसंघर्ष गर्न तर पार्टी नछोड्न आग्रह गरेका थिए ।

‘छलफलमा उहाँहरू सबैले पार्टी छोडे साथ दिन सकिँदैन भनेर प्रष्ट भन्नुभएको थियो,’ रोकाले अनलाइनखबरसँग भने, ‘तर उहाँले नेता/कार्यकर्ताको कुरा सुन्नु भएन । कसको कुरा सुन्नु भयो खै ।’

जनार्दनले पार्टीमा रूपान्तरणको एजेन्डा उठाए पनि रुकुममा भने आफूले कहिल्यै पद नछोड्ने गरेको रोकाले बताए । उनका अनुसार २०४८ बाट रुकुममा चुनाव लड्न थालेका जनार्दन ४ पटक संसदीय चुनाव लडे र निरन्तर २० सत्ता र शक्तिमा रहे । ‘हामीले उहाँको विकल्प नै त खोजेका थिएनौँ । फेरि एक पटक साथ दिन तयार थियौँ । तर पार्टी नछोड्न आग्रह गरेको थियौँ । तर उहाँले मान्नु भएन,’ उनले भने ।

जनार्दनको साथ छोडेका रोका माओवादी सरकारमा हुँदा उनकै जोडबलमा नेपाल टेलिभिजनको महाप्रबन्धक बने । जनार्दन अर्थमन्त्री हुँदा रोकाले मन्त्रीको जनसम्पर्क सल्लाहकारमा समेत नियुक्ति पाएका थिए । रोकाकी पत्नी मिलन खड्का पनि माओवादीबाट कर्णाली प्रदेशसभा सदस्य छिन् । हिजो जनार्दन पदमा हुँदा लाभ लिएका रोकाले समेत अहिले उनको साथ छाडेका छन् ।

रुकुमका पुराना कम्युनिस्ट नेता बुद्धप्रसाद शर्माले पनि जनार्दनको साथ छोडेका छन् । उनी जनार्दनका आफ्नै कान्छाबुवा हुन् । पछिल्लो समय जनार्दनमा बढ्दो महत्त्वाकांक्षा, दम्भ र वैचारिक स्खलन देखेपछि उनको साथ छोडेको बुद्धप्रसादले बताए । ‘उनी विचारबाट विमुख भए । हामी कहिल्यै पनि भाग्नेहरूको पछाडि लाग्दैनौँ । हिजो पनि लागेनौँ, आज पनि लाग्दैनौँ,’ गाउँमा आयोजित एक पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने ।

शर्माको गृहजिल्ला रुकुम पश्चिमका सबैजसो नेता पार्टी एकताको पक्षमा देखिएका छन् । माओवादीका पूर्वकेन्द्रीय सदस्य लक्ष्मी पुन र महेन्द्र केसीले पनि जनार्दनको साथ छाडे । अहिले जनार्दनको पक्षमा कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र आठबीसकोट नगरपालिकाका पूर्वमेयर गोरखबहादुर केसी सहितका केही नेताहरू छन् । यी दुवै पार्टीका केन्द्रीय सदस्य हुन् ।

त्यस्तै, तत्कालीन माओवादीको प्रदेश कमिटी सदस्य गणेश खड्का, शैलेशकुमार शर्मा र प्रेमा शाही मात्रै जनार्दनको पक्षमा खुलेका छन् । जिल्ला कमिटीबाट हालसम्म ४ जना नेता मात्रै जनार्दनको पक्षमा खुलेको नेताहरू बताउँछन् ।

प्रदेशसभामा पनि कमजोर

एक महिना अघिसम्म मात्रै हक्की नेता शर्माको इसारामा चल्थ्यो माओवादी कर्णाली । प्रदेश सरकार निर्माण गर्दा जनार्दनकै निर्देशनमा पटकपटक माओवादी अध्यक्ष प्रचण्डको निर्णयलाई समेत चुनौती दिन्थ्यो कर्णालीले । उनको वर्चस्वका कारण समकक्षी माओवादीका पूर्वउपमहासचिव शक्तिबहादुर बस्नेतले समेत मजबुत गुट बनाउन सकेका थिएनन् ।

प्रदेशसभाको अघिल्लो र यो कार्यकालमा झन्डै ६ वर्ष माओवादी कर्णाली सरकारमा रह्यो । जनार्दनकै समर्थनमा महेन्द्रबहादुर शाही कर्णालीको पहिलो मुख्यमन्त्री बनेका थिए । शाही पनि केही समय शर्माको गुट बलियो बनाउन लामो समय सक्रिय रहे । पछि उनले जनार्दनको साथ छाडे । तर पनि माओवादी कर्णालीमा जनार्दनको निर्देशन र चाहनाविपरीत मुख्यमन्त्री र मन्त्री बन्न सक्ने अवस्था थिएन ।

गत निर्वाचनमा प्रदेशसभामा १३ सिट जितेको माओवादीका ११ जना सांसद जनार्दन समूहमा थिए । अहिले १० जनाले प्रचण्डको साथ रोजे भने पूर्वमुख्यमन्त्री राजकुमार शर्मा मात्रै जनार्दनको पार्टी प्रलोपामा गएका छन् ।

कुनै समय सँगै काम गरेका माओवादी कर्णालीका नेताहरू पनि जनार्दनको पक्षमा छैनन् । माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही र अर्का केन्द्रीय सदस्य मायाप्रसाद शर्मा लगायत अधिकांश नेताहरू प्रचण्डकै पक्षमा छन् ।

सधैं सत्ता र शक्तिमा जनार्दन

तत्कालीन नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि कुनै संसदीय चुनाव छैन, जसमा नेता जनार्दन शर्माले चुनाव हारेका होउन् । २०६४ यता निरन्तर रुकुम पश्चिमबाट चुनाव जितिरहेका छन् ।

२०४८ सालमा पहिलो पटक संयुक्त जनमोर्चाको तर्फबाट संसदीय निर्वाचनमा उम्मेदवार भएका शर्मा त्यतिबेला नेपाली कांग्रेसका गोपालजीजंग शाहसँग पराजित भएका थिए । २०५१ को चुनाव बहिष्कार गरेका उनी २०५२ सालमा माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेपछि भूमिगत भए ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै यो क्षेत्रमा शर्माले एकछत्र वर्चस्व जमाउँदै आएका थिए । उनले भूमिगतकालीन राजनीतिको अधिकांश समय रुकुम पश्चिममै बिताए । १० वर्षे जनयुद्धका बेला माओवादीहरूले राजनीतिक गतिविधि गर्ने सुरक्षित थलो थियो, रुकुम ।

२०५२ मा माओवादीले सशस्त्र सङ्घर्ष गरेपछि त्यसको आधार क्षेत्र रुकुम बन्यो । त्यति बेलैदेखि नै यो जिल्लामा कम्युनिस्ट बलियो बन्दै गएको हो । ४०/५० को दशकमा रुकुममा कांग्रेसको वर्चस्व थियो । यसअघि उनलाई पार्टीभित्र र बाहिरबाट चुनौती दिन सक्ने नेता अहिलेसम्म नदेखिएको बताइन्थ्यो । तर जनार्दनले कम्युनिस्ट पार्टी नै छाडेपछि उनका हिजोका सहयात्री नै आज दरिलो प्रतिस्पर्धी बनेर उभिएका छन् ।

यसअघि रुकुममा उनलाई टक्कर दिने नेता लोकेन्द्र विष्ट र हेमन्तप्रकाश ओली थिए । तर अहिले दुवै जना सक्रिय राजनीतिमा छैनन् । विष्ट राजनीति छोडेर कृषि कर्ममा लागेका छन् । ओली भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा छन् ।

यस्तो छ, राजनीतिक जीवन

२०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका जनार्दन २०३८ साल नेकपा (मसाल)को रुकुम जिल्ला सदस्य बने । २०४८ सालमा त्यसको कार्यवाहक सेक्रेटरी भएका उनी २०५० सालमा दाङ सेक्रेटरी रहेर काम गरे ।

प्रचण्डको नेतृत्वमा १ फागुन २०५१ मा माओवादीले सशस्त्र विद्रोह सुरु गर्‍यो । प्रचण्डसँगै विद्रोहमा होमिने नेतामध्येका एक थिए जनार्दन । सशस्त्र द्वन्द्वका बेला थुप्रै भिडन्तमा जनार्दनले नेतृत्व गरेका थिए । २०५६ सालमा माओवादीका केन्द्रीय सदस्य भएका शर्मा त्यसको एक वर्षमै पोलिटब्युरो सदस्य बने ।

युद्धकालमै उनी सेती–महाकाली क्षेत्रीय ब्युरो इन्चार्ज हुँदै जनमुक्ति सेनाको कमिसार बने । २०६० सालमा उनी माओवादीको डिभिजन कमान्डर र २०६१ सालमा डेपुटी कमान्डर बनेका थिए । २०७० सालमा स्थायी समिति सदस्य भएका जनार्दन २०७८ सालमा माओवादीको सङ्गठन विभाग प्रमुख भए । २०७९ मा उनी माओवादीको उपमहासचिव थिए ।

२०६४ सालदेखि निरन्तर चार पटक रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका शर्मा गृह, अर्थ, ऊर्जा र शान्ति तथा पुनर्निर्माण मन्त्री बनिसकेका छन् । उनी एक पटक विना विभागीय मन्त्रीसमेत भएका थिए ।

गत १६ कात्तिकमा शर्माले प्रचण्डलाई भेटेरै उनीसँगको सम्बन्ध सकिएको घोषणा गरेका थिए । जनार्दनले केवल माओवादी विचारधारा मात्रै छोडेका छैनन्, प्रचण्डसँगको ४२ वर्ष लामो सम्बन्ध र साथबाट समेत बिदा लिएका छन् ।

माओवादी कर्णालीका शक्तिशाली नेता मानिने जनार्दनको शक्ति कर्णालीमै कमजोर बनेको छ । प्रचण्डको साथ छाडेपछि उनी कर्णालीमै एक्लिएको पूर्वमाओवादी नेताहरूको दाबी छ । प्रचण्डसँगको जनार्दनको अन्तर्विरोधलाई कर्णालीका कुनै पनि नेताले खुलेर साथ दिएका छैनन् ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?